सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
प्रदेश सरकार

बागमतीमा हाम्रो नेपाली पार्टीलाई सत्तामा ‘अफर’

बुधबार, ३० फागुन २०८०, ०८ : ३४
बुधबार, ३० फागुन २०८०

मकवानपुर । बागमती प्रदेशमा सत्ता समीकरणतर्फ निर्णायक भूमिकामा रहेको हाम्रो नेपाली पार्टीलाई सत्ता पक्षबाट सरकारमा सामेल हुन प्रस्ताव गरिएको छ । खासगरी नयाँ सत्ता गठबन्धनमा बहुमतका लागि एक सांसद अपुग रहेको अवस्थामा दुई सांसद रहेको हाम्रो नेपाली पार्टी निर्णायक बन्न पुगेको हो ।

एमाले–माओवादी केन्द्रसहितको सत्ता गठबन्धनले हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीको ‘अफर’ गरेको छ ।

यसअघि नेपाली कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनलाई साथ दिएको हाम्रो नेपाली पार्टी नयाँ राजनीतिक समीकरण बनिसकेको अवस्थामा कुन कित्तामा उभिन्छ भन्ने खुलेको छैन । तर अहिलेको सत्ता पक्षलाई बहुमत जुटाउनका लागि गठबन्धनमा आवद्ध दलबाहेक कम्तीमा थप एक सांसद आवश्यक पर्दछ । त्यसैले पनि हाम्रो नेपाली पार्टीलाई गठबन्धनमा समेट्दै मन्त्रालयको जिम्मेवारीसमेत दिनेसम्मको तयारीमा सत्ता पक्षका नेता सक्रिय भइरहेका छन् ।

अघिल्लो गठबन्धनको सरकारलाई समर्थन गरेको हाम्रो नेपाली पार्टीले न सरकारमा प्रतिनिधित्व गर्ने अवसर पाएको थियो, न त संसदमै कुनै खास भूमिका पाएको थियो ।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले गठबन्धनबाट आफ्नो सत्ता टिकाउन हम्मेहम्मे पर्ने देखिएपछि हाम्रो नेपाली पार्टीका सांसद फकाउन मन्त्री नै खटाएको छ । माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सरकार टिकाउन हाम्रो नेपाली पार्टीका संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीको अफर एक साता अघि नै आएको स्रोत बताउँछ ।

मुख्यमन्त्री स्वयंले बज्राचार्यलाई फोन गरेर समर्थन फिर्ता नगर्न र विश्वासको मत दिन आग्रह गर्दै जुनसुकै सर्तमा लिखित सहमति गर्न तयार रहेको बताएका थिए । बुधबार मुख्यमन्त्री जम्कट्टेलले काठमाडौँ गएर बज्राचार्यलाई भेटेका थिए । सो समयमा पनि मुख्यमन्त्री जम्कट्टेलले बज्राचार्यलाई समर्थन फिर्ता नलिन आग्रह गर्दै आफू ‘पावर सेयरिङ’का लागि लिखित सहमति गर्न तयार रहेको बताएका थिए । भेटमा बज्राचार्यले मुख्यमन्त्री जम्कट्टेललाई पार्टी र गठबन्धनबाट ठोस निष्कर्ष आएपछि आफूले सहयोग गर्ने बताएका थिए ।

मुख्यमन्त्री जम्कट्टेलले सत्ता गठबन्धनबाट प्रदेश सरकारको भागबण्डा नटुङ्ग्याउदै हाम्रो नेपाली पार्टीका बज्राचार्यलाई मन्त्री बनाउन मन्त्रीकै कमाण्डमा टोली खटाएका छन् । मुख्यमन्त्री जम्कट्टेलको योजना अनुसार बज्राचार्यलाई मंगलबार नै शपथ गराउने तयारीका साथ प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ काठमाडौँ पुगेका थिए । सोमबार दिउँसो २ पटकको भेटमा शरदले युवाहरु सरकारमा रहेर काम गर्नुपर्ने भन्दै मन्त्रीका लागि मंगलबार शपथ गराउने प्रस्ताव गरेका थिए ।

तर, बज्राचार्यले तत्काल कुनै निर्णय गर्न नलिएको भन्दै पार्टीको आन्तरिक छलफलपछि मात्र अघि बढ्ने बताएका थिए ।

यता एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले हाम्रो नेपाली पार्टीका २ जना सांसदको उचित व्यवस्थापन गर्न गठबन्धन दल तयार रहेको बताएका छन् । उनले बज्राचार्यलाई मन्त्री बनाउने र अर्की सांसद सरिता खड्गीलाई मन्त्री वा अन्य कुनै स्थानमा व्यवस्थापन गरेर अघि बढ्ने प्रस्ताव गरेको स्रोत बताउँछ ।

त्यसो त बज्राचार्यलाई सत्ता गठबन्धनका शीर्ष नेताहरुले पनि भेट गर्दै सरकारको समर्थन फिर्ता नगर्न आग्रह गरिरहेका छन् । बज्राचार्य सहित उनको पार्टीका अध्यक्ष, प्रवक्तालाई पनि नेताहरुले भेट गरिरहेको बुझिएको छ । सोमबार मात्र एकीकृत समाजवादी पार्टीका नेता झलनाथ खनालले बज्राचार्यलाई भेटेका थिए । भेटमा नेता खनालले सरकारमा रहेर काम गर्न आग्रह गरेका थिए । त्यस अघि एमाले सांसद अमन मास्केले बज्राचार्यलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप