सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रालाई हातपात गरेको आरोपमा होस्टल सञ्चालक पक्राउ

बुधबार, ३० फागुन २०८०, १६ : ४८
बुधबार, ३० फागुन २०८०

विराटनगर । होस्टलको पैसा नतिरेको भन्दै तीन जना छात्रालाई हातपात र दुर्व्यवहार गर्ने विराटनगरकी एक होस्टल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–८ मधुमारास्थित मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मी रहेकी छन् । उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो । 

रेग्मीले मंगलबार साँझ विराटनगर नर्सिङ क्याम्पसमा अध्ययनरत तीन जना छात्रामाथि होस्टलको कोठाभित्र हातपात र दुर्व्यवहार गरेकी थिइन् । रेग्मीले छात्रामाथि गरेको दुर्व्यवहारका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।  पीडित छात्राले प्रहरीमा दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीका प्रमुख एसपी नवराज कार्कीका अनुसार पक्राउ परेकी रेग्मीलाई अभद्र व्यवहारको मुद्दामा म्याद थप गरेको छ । 

रेग्मीले होस्टेलमा बसिरहेका विद्यार्थीबाट अग्रिम भाडा रकम दिन नमानेको भन्दै विद्यार्थीका सामान कोठाबाट बाहिर फ्याँक्दै हातपातसमेत गरेकी थिइन् । दुर्व्यवहारमा पर्ने छात्राहरूमा विराटनगर नर्सिङ क्याम्पस पहिलो वर्षमा भर्ना भएका जुम्ला, पाल्पा र कञ्चनपुर घर भएका विद्यार्थीहरू हुन् । होस्टेलमा फागुन ३ गतेदेखि उनीहरू बसिरहेका थिए । उनीहरुले ३ चैतसम्मका लागि अग्रिम ८ हजार रुपैयाँ बुझाएको बताएका छन् । 

उनीहरू बुधवारदेखि नै मुनलाइट गल्र्स होस्टल छाडेर कलेजकै होस्टेलमा सर्ने तयारीमा थिए । ३ चैतसम्मको पैसा तिरिसकेको र त्यसअघि नै कलेजको होस्टलमा जाने बताउँदा बताउँदै पनि होस्टेल सञ्चालक मधुले ती विद्यार्थीसँग एडभान्स भन्दै थप तीन—तीन हजार रुपैयाँ मागेपछि उनीहरुले रकम नदिने बताएका थिए । त्यसपछि होस्टेल सञ्चालकले हातपात गरेकी थिइन् ।

मधुले हातपात गरेपछि आत्तिएका विद्यार्थीहरूले कलेजमा सम्पर्क गरेका थिए । त्यसपछि मंगलबार राति नै कलेज प्रशासनले ती विद्यार्थीलाई आफ्नै होस्टलमा लगेको छ । विराटनगर नर्सिङ कलेज प्रमुख मेनुका भण्डारीले छात्राहरूमाथि अमानवीय व्यवहार भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप