शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
फोहोर व्यवस्थापन

बुटवल उपमहानगरपालिका डम्पिङ साइट निर्माणमा चुक्दै

स्थानीयसँग सम्झौता गर्दै, बस्ती छेउछाउमा फोहर फाल्दै
बिहीबार, ०१ चैत २०८०, ११ : ४७
बिहीबार, ०१ चैत २०८०

बुटवल । बुटवल उपमहानगरपालिकाले फोहर व्यवस्थापनका लागि दीर्घकालीन रूपमा डम्पिङ साइट निर्माण गर्न नसक्दा स्थानीयसँग समय–समयमा विवाद हुने गरेको छ । डम्पिङ साइट निर्माण गर्न चुकेपछि कहिले कुन ठाउँमा त कहिले कुन ठाउँमा फोहर फाल्ने गरिएकोमा अहिले बुटवल उपमहानगरपालिका–११ को सिरान गाउँ मजुवाको बस्ती नजिकै फोहोर डम्पिङ गर्दै आएको छ ।

गत वर्ष त्यहाँका स्थानीयले पनि विरोध गर्दा विभिन्न सहमति गरेर थामथुम पारिएको थियो । अहिले फेरि स्थानीयहरूले नगरपालिकाले फोहर फाल्दा आफ्नो बस्तीमा दुर्गन्ध फैलिएको, स्वास्थ्यमा असर परेको लगायतमा विषय उठाउँदै आन्दोलन सुरु गरेका छन् । संघर्ष समिति नै बनाएर आन्दोलन गरेका स्थानीयले उपमहानगरपालिकाले पठाएको फोहरका गाडीसमेत रोकेका हुन् । 

3

उनीहरूले गाडी रोकेपछि अबको एक वर्षभित्रमा मजुवामा फोहर नफाली अन्यत्र ठाउँमा डम्प गर्ने सहमति भएको बुटवल उपमहानगरपालिकाको सरसफाइ तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले रातोपाटीलाई बताए । फोहर डम्प गरेर स्थानीयको विरोधपछि सम्झौता भएको यो पहिलो अवसर भने होइन । यस्ता संघर्ष समिति पटक–पटक बन्ने र नगरपालिकाले उनीहरूका मागलाई सम्बोधन गर्न सहमति गरेका घटना धेरै छन् । 

9

तर अझै पनि उपमहानगरपालिकाले दीर्घकालीन रूपमा समस्या समाधान नगरी कहिले कुन ठाउँमा त कहिले कुन ठाउँमा फोहोर फाल्ने गर्दा स्थानीयहरू आजित भएको बुटवल देवीनगरका प्रेम श्रेष्ठले रातोपाटीसँग गुनासो गरे । बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक जीवनारायण अधिकारीले दीर्घकालीन समाधान नखोज्दा यस्ता समस्या प्रत्येक वर्ष जस्तो आउने गरेको बताए । उनले भने, ‘केही समय एक ठाउँमा फाल्ने अनि त्यहाँ ठुलो विरोध थेग्न नसकेपछि अर्को ठाउँ फाल्ने परम्परा नै गलत छ । दीर्घकालीन रूपमा डम्प गर्ने ठाउँमा उपमहानगरपालिकाले जोड गर्नुपर्छ ।’

हुन पनि बुटवल उपमहानगरपालिले सुरुमा तिनाउ छेउमा पर्ने हार्तिसुडमा फोहोर फाल्ने गरेको थियो । त्यसपछि लुम्बिनी वाणिज्य क्याम्पसपछाडि र त्यसपछि विभिन्न ठाउँ सार्दै पछिल्ला वर्ष मजुवा फोहोर फाल्न थालेको हो ।  

स्थानीयबासी विनोद ढुङ्गानाले मानव स्वास्थ्यको ख्याल समेत नगरी फोहोर फाल्दा बस्ती पूरै दुर्गन्धित हुन पुगेको बताए । नदी किनारमा डम्पिङ गरिएको फोहोर बेला–बेलामा जलाउँदा आँखा नै पिरो हुने र धुवाँको मुस्लोले बस्ती नै ढाकिने गरेको स्थानीयको भनाइ छ । सिरान गाउँ मजुवामा फोहोर फाल्दा त्यसबाट प्रत्यक्ष मजुवा, प्रवेश नगर, धुव्रनगर, दुर्गा नगर, भगवती टोल, शिवालय टोल प्रभावित भएका छन् । 

7

सोही स्थानमा रहेको सूर्योदय आधारभूत विद्यालय समेतमा दुर्गन्ध फैलिने गरेको स्थानीयबासी एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि कँडेले बताए । उक्त विद्यालयमा १८० जना विद्यार्थी रहेका छन् । बुटवलका विभिन्न टोलबाट सङ्कलन भएको फोहर अन्तिम फाल्ने ठाउँ यही मजुवा हो । 

  • स्थानीयको विवाद गर्दा एडिबीले हात झिक्यो 

बुटवलमा अहिले दैनिक ७५ टन फोहोर उत्पादन हुँदै आएको छ । पछिल्लो समय जनसङ्ख्या वृद्धिसँगै समस्या थपिने क्रममा रहेको छ । तर बुटवल उपमहानगरपालिका भने अझै सम्म डम्प गर्ने दीर्घकालीन ठाउँ निर्धारण गर्न सकेको छैन ।

6

बुटवल उपमहानगरपालिकाले संस्थागत रूपमा फोहोर व्यवस्थापन गर्न धेरै वर्ष पहिलेदेखि नै प्रक्रिया अगाडि बढाएको बुटवल उपमहानगरपालिका पूर्वमेयर एवं हाल प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बताए । तर फोहरको लागि जग्गा नै उपलब्ध नहुने, भइहाले पनि स्थानीयको विरोधले डम्पिङ साइट निर्माण गर्ने बेला अन्तिम अवस्थामा फिर्ता हुने गरेको उनको भनाई छ । 

बुटवलमा फोहर प्रशोधन लागि एसियाली विकास बैंकले लगानी सम्झौता गरेको थियो । तर स्थानीय विवाद, जग्गा व्यवस्थापनमा गर्न समस्याजस्ता कमजोरीका कारणले एडीबीले नगरपालिकासँग गरेको सम्झौताबाट हात झिकेको छ । बुटवल उपमहानगरपालिकाले सन् २०१० मा एडिबीसँग फोहोर प्रशोधन केन्द्रका २८ करोडको सम्झौता गरेको थियो । त्यसपछि फोहोर मैला प्रशोधन केन्द्रका लागि उपमहानगरपालिकाले जेडआईईसी पप्पु जेभीसँग २५ करोड ६२ लाख ५३ हजार ५ सय ८४ रुपैयाँमा ठेक्का सम्झौता समेत गरेको थियो।

बुटवल–१५ को जितेश्वरी सामुदायिक वनमा योजना निर्माण गर्ने भनिए पनि स्थानीयको अवरोधपछि बुटवल देवीनगर राख्ने निर्णय भयो । तर स्थानीयले कडा विरोध गरेपछि काम रोकियो । 

त्यसपछि रुपन्देहीको देवदह नगरपालिकाको सिमाना जोडिएको शिवनगर सामुदायिक वनमा योजना निर्माण गर्ने निर्णय भयो । बुटवल उपमहानगरपालिका र देवदह नगरपालिकाका दुवै ठाउँबाट फोहोर राख्ने भनिए पनि दुई नगरपालिकाबिच समन्वयन नहुँदा परियोजना रोकिएको बुटवल नगरपालिका सरसफाइ तथा फोहोर मैला व्यवस्थापन शाखाका प्रमुख ठगिश्वर पोखरेलले रातोपाटीलाई बताए ।

त्यहाँ जग्गा सट्टा भर्नाको लागि पाल्पामा यम्घामा जग्गा समेत खरिद गरिएको थियो । शिव नगर सामुदायिक बनका रुख काट्दा नियमानुसार अर्को ठाउँमा रुख रोप्नु पर्ने भएकाले पाल्पा जग्गा खरिद गरिएको पोखरेले बताए ।

बुटवल नगरपालिकाका प्रवक्ता शिव रानाले फोहर व्यवस्थापनको लागि अहिले सूक्ष्म रूपमा जग्गाको खोजी गरिएको बताए । उनले बुटवल पश्चिमतिर जग्गाको खोजी भइरहेको खुलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप