सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माणमुखी सामग्री निकासी गर्न सक्ने गरी विधेयक ल्याउनु हुँदैन : रघुजी पन्त

बिहीबार, ०१ चैत २०८०, १४ : ४८
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । नेकपा एमालेका नेता रघुजी पन्तले नेपालका खानीहरूमा रहेको निर्माणमुखी सामग्री निकासी गर्न सक्ने गरी विधेयक ल्याउन नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा भएको निर्माणमुखी सामग्री व्यवस्थापन तथा नियमन विधेयक, २०८० माथिको छलफल बोल्दै नेता पन्तले यस्तो बताएका हुन् ।

उनले विधेयकमा सरकारले नेपालको खोला नदीमा भएका गिट्टी, बालुवा, ढुङ्गा जस्ता निर्माण सामग्री निकाय गर्न पाउने व्यवस्था राखेको भन्दै निर्माणजन्य सामग्री विदेशमा निर्यात गर्न पाउने विषय तत्काल हटाउन माग गरे । 

उनले मुलुकभित्र रहेका निर्माणजन्य सामग्रीहरू विदेशमा निर्यात गर्ने भन्दा पनि मुलुकभित्रै खपत गर्नुपर्ने बताए । उनले विधेयकको दफा ४२ मा सरकारले चाहेमा निकासीमा रोक लगाउन सक्ने भन्ने शब्दले निर्माण सामग्रीको स्रोतबाट गिट्टी, बालुवा, ढुङ्गा जस्ता निर्माण सामग्री निकासी गर्न सक्ने बुझिएकाले हटाउन माग गरे ।

उनले सर्वोच्च अदालतले निर्माण सामग्री विदेश निकाय गर्न रोक लगाएकाले त्यो विषयमा सरकारले कानुन बनाउन नहुने बताए । उनले नेपाल आफैँ विकासोन्मुख देश भएकाले धेरै पूर्वाधारहरू बनाउनुपर्ने अवस्था रहेको भन्दै सडक पूर्वाधार, जलविद्युत, पुल बनाउन आफैँलाई निर्माण सामाग्री आवश्यक हुने बताए । उनले नाफाको लागि निकासी गर्न छुट दिने हो भने भविष्यमा आवश्यक परेको खण्डमा यस्ता निर्माण सामग्री नेपालले पाउन नसक्ने बताए ।

उनले निर्माणमुखी सामग्री प्रयोग गर्दा दीर्घकालीन स्रोतको रूपमा हेर्नुपर्नेमा जोड दिए । उनले वातावरण र जलवायु परिवर्तनलाई थप असर पुर्याउने कुरामा सचेत भएर निर्माणजन्य सामग्रीको प्रयोगमा ध्यान दिन जरुरी रहेको बताए । उनले छिमेकी देशको दबाबले हरेक पटक निर्माणजन्य सामग्री निकासीको विषय आउने गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप