बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सुरु, ओपनिङ फिल्म आनी छोइङको ‘मिसन इम्पोसिबल’

बिहीबार, ०१ चैत २०८०, १७ : ४६
बिहीबार, ०१ चैत २०८०

काठमाडौँ । सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) सुरु भएको छ । बिहीबार काठमाडौँको सुन्धारास्थित सिभिल मलको क्युएफएक्स हलमा आयोजित एक भव्य कार्यक्रमका बिच उद्घाटनसहित महोत्सव सुरु भएको हो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा प्रमुख अतिथि र चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसी विशेष अतिथि रहेको कार्यक्रममा वरिष्ठ चलचित्रकर्मी नीर शाह, तुलसी घिमिरे, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, पहिलो रंगिन चलचित्रकी नायिका चैतदेवी सिंह लगायतका थुप्रै कलाकर्मीको उपस्थिति रहेको कार्यक्रममा आयोजक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रम उद्घाटनको क्ल्याप पड्काए ।

अगामी ५ गतेसम्म चल्ने महोत्सवमा यो वर्ष ४० देशका ८८ वटा फिल्म देखाइँदै छ । विश्वका विभिन्न कुनामा बनेका ६० देशबाट ५०० भन्दा बढी चलचित्र महोत्सवका लागि प्राप्त भएपनि आयोजकले ८८ मात्र छानेको हो । छनौटमा परेका थुप्रै फिल्महरु कान्स, लोकान, बर्लिनाल आदि प्रतिष्ठित फेस्टिभलमा पनि प्रदर्शन भइसकेका छन् ।

फेस्टिभललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुई भागमा विभाजन गरिएको छ भने दुवै भागमा फिचर चलचित्र, लघु फिल्म र वृत्तचित्र विधामा अवार्ड प्रदान गरिनेछ । प्रतिस्पर्धामा रहेका फिल्मको प्रदर्शनसँगै महोत्सव सिनेमा संवाद, सिनेमाका नयाँ बजार अवसर, फिल्म समीक्षा ः ताली कि गाली, निर्देशक हराएको सूचना लगायत विभिन्न विषयमा अन्तर्क्रियाका समेत राखिएको छ ।

महोत्सवमा प्रदर्शन हुने चलचित्र क्यसएफएक्स सिनेमाका शाखाहरू सिभिल मल, लबिम मल, भक्तपुर र छायाँ सेन्टरका हलमा प्रदर्शन हुनेछन् । यसका लागि क्यसएफएक्स सिनेमाघरसँग सहकार्य भएको छ । 

महोत्सवमा अन्तर्राष्ट्रिय प्रतिस्पर्धा अन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ । त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिचर फिल्महरूबाट एउटालाई ‘चलचित्र समाजहरूको अन्तर्राष्ट्रिय महासंघ, आइएफएफएस डन अवार्ड प्रदान गरिनेछ ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड र सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय राशिको बागमती अवार्ड प्रदान गरिनेछ । यसैगरी नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ ।

सर्ट फिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्म तर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार, अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने महोत्सव आयोजक संस्थाका चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले जानकारी दिए ।

निफको ओपनिङ फिल्मको रुपमा आनी छोइङ डोल्माको जीवनी प्रेरित डकुमेन्ट्री ‘आनी छोइङ डोल्मा–मिसन इम्पोसिबल’ प्रदर्शन गरिएको छ । डकुमेन्ट्रीमा आनीको सांगीतिक यात्रा, भिक्षु जीवन र उनले गरेको समाजसेवा समावेश छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप