मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ

सोमबार, ०४ साउन २०८३, ०९ : ३५
सोमबार, ०४ साउन २०८३

सारांश

  • इंग्ल्याण्डले लर्ड्समा भएको तेस्रो एकदिवसीय खेलमा भारतलाई २७ रनले हराउँदै तीन खेलको शृङ्खला २-१ ले जित्यो।
  • रोहित शर्माले १३८ रनको शतकीय पारी खेले पनि भारतले ५० ओभरमा ३६० रन मात्र बनाउन सक्यो, जबकि इंग्ल्याण्डले ३८७ रनको लक्ष्य दिएको थियो।
  • इंग्ल्याण्डका ज्याकब बेथेलले ९१ रन र एक विकेट लिएर 'प्लेयर अफ द म्याच' बने भने बेन डकेटले १४१ रनको योगदान दिए।

लण्डन । लर्ड्समा भएको तेस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले भारतलाई २७ रनले हराउँदै तीन म्याचको शृङ्खला २-१ ले आफ्नो नाममा गरेको छ।

लर्ड्समा पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले ५० ओभरमा तीन विकेट गुमाएर ३८७ रन बनाएको थियो। जवाफमा भारतीय टोलीले ५० ओभरमा ३६० रन मात्र बनाउन सक्यो। रोहित शर्माले १३८ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।

इंग्ल्याण्डको जितका हिरो ज्याकब बेथेल बने। उनले ९१ रन बनाउनुका साथै एक विकेट पनि लिए। उनलाई ‘प्लेयर अफ द म्याच’ चुनियो। भारतले पहिलो म्याच छ विकेटले जितेको थियो भने दोस्रो खेल इंग्ल्याण्डले चार विकेटले आफ्नो नाममा गरेको थियो।

यसअघि इंग्ल्याण्डले टी-२० शृङ्खलामा पनि भारतलाई ४-० ले हराएको थियो। इंग्ल्याण्ड भ्रमणअघि आयरल्यान्डले पनि भारतलाई टी-२० शृङ्खलामा २-० ले पराजित गरेको थियो।

तीन सय ८८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा भारतका लागि रोहित शर्मा र कप्तान शुभमन गिलले पहिलो विकेटका लागि १४७ रन जोडेका थिए। गिल ७८ बलमा ७७ रन बनाएर आउट भए। त्यसपछि रोहितले विराट कोहलीसँग दोस्रो विकेटका लागि ११३ रनको साझेदारी गरे। रोहितले १११ बलमा १३८ रन बनाए। उनले आफ्नो पारीमा १७ चौका र पाँच छक्का प्रहार गरे।

विराट कोहलीले पनि अर्धशतक बनाए। उनले ६० बलमा चार चौका र तीन छक्काको मद्दतमा ७४ रन बनाएर आउट भए। इंग्ल्याण्डका लागि सैम करनले सबैभन्दा बढी चार विकेट लिए।

त्यसअघि इंग्ल्याण्डका लागि बेन डकेटले १३५ बलमा १४१ रन बनाएका थिए। ज्याकब बेथेलले ९१ रनको पारी खेले। दुवैले पहिलो विकेटका लागि १९२ रनको साझेदारी गरेका थिए। पछि जो रुट ७४ र जोस बटलर ४१ रन बनाएर अविजित रहे।

दुवैले अन्तिम १९ बलमा ६३ रन जोड्दै इंग्ल्याण्डको स्कोर ३८७ रनसम्म पुर्‍याएका थिए। यो भारतविरुद्ध इंग्ल्याण्डको सबैभन्दा ठूलो एकदिवसीय स्कोर पनि हो। भारतका तर्फबाट प्रसिद्ध कृष्णाले दुई विकेट लिए भने प्रिन्स यादवले एक सफलता पाए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप