शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
सरकारको धारणा

‘रवि लामिछानेको काम हेर्नुपर्छ, राजनीतिक पूर्वाग्रह होइन’

शुक्रबार, ०२ चैत २०८०, २३ : ४१
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । सरकारका प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि राजनीतिक पूर्वाग्रह साँधेको जिकिर गरेकी छन् । मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै शर्माले लामिछानेको काम हेरेर मूल्यांकन गर्न प्रतिपक्षलाई सुझाव दिइन् । 

‘एउटा राजनीतिक पूर्वाग्रहको आधारमा होइन । काम हेर्नुपर्छ’, उनले भनिन्, ‘कोहीको कमजोरी भयो भने त स्वाभाविक ढंगले सरकार छाडेर जाने वा राजीनामा दिएर जाने स्थिति बन्छ ।’

तर, अहिले जुन ढंगले राजीनामा माग भइरहेको छ, यो राजनीतिक प्रतिशोध बाहेक अरू केही नभएको उनको भनाइ छ । यद्यपि मन्त्रिपरिषद् बैठकमै भने यस विषयमा कुनै छलफल नभएको उनले दाबी गरिन् । 

उनले सरकार संसद्लाई प्रभावकारी बनाउन प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रतिपक्षी दलहरूले पनि आलोचना र समर्थन कामको आधारमा गर्नुपर्नेमा जोड दिइन् । 

उनले पूर्वाग्रह साँधेर संसद्लाई काम गर्न नसक्ने अवस्था पुर्‍याइन नहुने पनि धारणा राखिन् । आजै बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेसले सहकारी ठगीमा जोडिएको भन्दै गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै संसद् चल्न दिएको थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप