सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
विपत्ति

भोजपुरको हतुवागढीमा शोक माथि शोक, तीन दिनमा १० जनाको मृत्यु

सडक दुर्घटनामा परी सात जनाको मृत्यु भएको तीन दिनपछि आगलागीमा परी तीन बालबालिकाको मृत्यु
शनिबार, ०३ चैत २०८०, २१ : १५
शनिबार, ०३ चैत २०८०

विराटनगर । गत चैत १ गते उदयपुरको बेलका नगरपालिका–७ मेनामैनीमा बोलेर दुर्घटनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जना भोजपुर हतुवागढीकै थिए । दुर्घटना पछि ठुलो शोक परेको भन्दै पालिकाले एक दिन शोक नै मनाउँदै सार्वजनिक बिदा दियो । तर, त्यसको तीन दिनपछि हतुवागढीमै पुनः तीन जना बालबालिकाको आगलागीमा परी मृत्यु भएको छ । 

हतुवागढी ७ पिप्लेमा आज भएको आगलागीमा परी ५ वर्षका प्रनिष कार्की, ७ वर्षकी बालिका दीपशिखा कार्की र ३ वर्षका बालक दियुनिष कार्की रहेको प्रहरीले जनाएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

५ वर्षीय बालक प्रनिष कार्की, केदार कार्कीका छोरा हुन् भने केदारका भाइ रमेश कार्कीका छोरी दीपशिखा र दियुनिष रहेको प्रहरीले जनाएको छ । बालबालिका खेलिरहेको ठाउँमा अचानक आगलागी हुँदा उनीहरूको मृत्यु भएको जानकारीमा आएको भोजपुरका प्रहरी प्रमुख डीएसपी सुदिपराज पाठकले जानकारी दिए । 

हतुवागढीमा एकपछि अर्को दुर्घटनाको खबरले मर्माहत बनाएको प्रहरी प्रमुख पाठक बताउँछन् । ‘तीन दिन अगाडि दुर्घटनामा परी त्यत्रो मानिसको मृत्यु भयो, अहिले फेरि आगलागीमा परी तीन जना बालबालिकाको मृत्यु भयो । तनावको अवस्था छ । मानिसहरू शोकमा छन्,’ उनले भने । 

बोलेर दुर्घटना हुँदा मृत्यु भएका ८ जनामध्ये ७ जना हतुवागढीकै थिए । जसमा हतुवागढी गाउँपालिका–२ का ४२ वर्षीय मानबहादुर बस्नेत, ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, उनको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी–९ का ६८ वर्षीय पदमबहादुर थापा, हतुवागढी–५ की ३० वर्षीया रामकुमारी राई र हतुवागढी–५ का ४२ वर्षीय किसान राई थिए ।

अर्का एक जना भने सुनसरी इटहरीका ४५ वर्षीय कमल अधिकारी रहेका थिए । दुर्घटनामा परी हतुवागढी–२ कै ३२ वर्षीया शान्ति राई, हतुवागढी–१ का १७ वर्षीय सुनील परियार, १७ वर्षीया सविना परियारलगायत ९ जना घाइते भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप