मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आईपीएलको कुनै पनि खेल युएईमा नखेलाइने बीसीसीआई सचिवको दाबी

आइतबार, ०४ चैत २०८०, १३ : ५२
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) को सबै खेल भारतमै खेलाइने दाबी गरेको छ । यसअघि आईपीएलको १७ औँ संस्करणका केही खेल संयुक्त अरब इमिरेट्स (युएई) मा खेलाइने विषयमा बीसीसीआईले छलफल अगाडि बढाएको थियो ।

भारतमा यसै वर्ष हुने लोकसभा चुनावका कारण आईपीएलको दोस्रो चरणको खेल युएईमा खेलाउने तयारी अगाडि बढाइएको दाबी भारतीय सञ्चारमाध्यमले पनि गरेका थिए । युएईमा खेल गराउने विषयमा बीसीसीआईमा दुई फरक मत देखिएको समाचारमा जनाएको छ । बीसीसीआईका सचिव जय शाह आईपीएलको सबै खेल भारतमै खेलाउनुपर्ने पक्षमा छन् ।

यस विषयमा उनले आफ्नो धारणा यसअघि नै सार्वजनिक गरिसकेका छन् । लोकसभा निर्वाचनकै कारण बीसीसीआईका केही वरिष्ठ अधिकारी भने आधा खेल युएईमा पर्ने पक्षमा देखिएका छन् । लोकसभा निर्वाचनकै कारण हाल आईपीएलको आधा खेल तालिकामात्र सार्वजनिक गरिएको छ । हाल आईपीएलको सुरुवाती २१ खेलको तालिका मात्र सार्वजनिक गरिएको हो ।

सुरुवाती २१ खेल मार्च २२ देखि अप्रिल ७ तारिखसम्म खेलाइने छ । हाल घोषणा गरिएको तालिका अनुसार, पहिलो खेल साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबिच खेलिने छ । यसैगरी पहिलो चरणको अन्तिम खेल भने अप्रिल ७ तारिखमा लखनउ सुपर जाइन्ट्स र गुजरात टाइटन्सबिच खेलिने छ । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार, बीसीसीआईका केही वरिष्ठ अधिकारी आईपीएलको विषयमा छलफल गर्न युएई भ्रमणमा निस्किएका छन् ।

सचिव जय शाहले भने लोकसभा चुनावले आईपीएलमा कुनै असर नगर्ने दाबी गरेका छन् । भारतीय निर्वाचन आयोगले शनिबार लोकसभा चुनाव सात चरणमा गर्ने घोषणा गरेको छ । आयोगका अनुसार, निर्वाचन अप्रिल १९ देखि जुन १ तारिखसम्म हुनेछ । त्यसपछि जुन ४ तारिखदेखि मत गणना सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप