शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

सामुदायिक जङ्गलको रुख काटेर झण्डै १२ लाख झ्वाम

डिभिजन वन अधिकृतसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, ०४ चैत २०८०, १५ : ४४
आइतबार, ०४ चैत २०८०

काठमाडौँ । सामुदायिक वनलाई व्यक्तिको दर्तावाला जग्गाको रुख भनेर कटान गरी ११ लाख ९६ हजार ६ सय ९५ रुपैयाँ हिनामिना गरेको अभियोगमा महोत्तरीको जलेश्वरस्थित जिल्ला वन कार्यालयका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

नापी कार्यालय, मालपोत कार्यालय र वडा कार्यालयको मिलेमतोमा सामुदायिक वनको जग्गालाई बर्दिबास नगरपालिका–१ का जग्गाधनीहरू लिलामणी आचार्य र कृष्ण प्रसाद गौतमको संयुक्त नाममा दर्ता कायम रहेको भनी सिफारिस बनाएर ४०६ वटा रुख कटान गरिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अनुसन्धान गर्दा डिभिजन वन अधिकृत साहसहित ११ जनाको संलग्ना भेटिएपछि उनीहरुविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको जानकारी आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए । वन कार्यालयको सिफारिसका आधारमा रुख कटान गरेर बिक्री गरिएको थियो ।

आयोगका अनुसार साहसहित वन कार्यालय जलेश्वरका तत्कालीन सहायक वन अधिकृत बेचन ठाकुर, सब डिभिजन वन कार्यालय बर्दिवासका तत्कालीन सहायक अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वनरक्षकहरु राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल, दिलिप महतो, नापी कार्यालय बर्दिवासका तत्कालीन अमिन राम राउत, मालपोत कार्यालय बर्दिवासका तत्कालीन नायब सुब्बा ओम प्रकाश खड्का, बर्दिबास नगरपालिका–१ का तत्कालीन वडासदस्य शान्ता देवी श्रेष्ठ, अर्का वडासदस्य चुडामणी पोखरेल, रम्तेल डाँडा सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउत, रम्तेल, तत्कालीन उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेम बहादुर थापा, सचिव धन कुमारी मगर भनिने धन कुमारी, तत्कालीन सदस्यहरू उर्मिला थापा मगर, पूर्ण बहादुर सुस्लिङ्ग, जग्गाधनीहरू लिलामणी आचार्य, कृष्णप्रसाद गौतम, सामुदायिक वनका उपभोक्ताहरू एम बहादुर थापामगर, नन्दमाया खनाल र रुख कटान गर्ने ठेकेदार सन्दीप नेपाली विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको हो । 

आयोगले सबै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार ११ लाख ९६ हजार ६ सय ९५ रुपैयाँ बराबरको बिगो बमोजिमको जरिवाना र कैद सजायको मागदावी लिएको छ । उनीहरूले सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठुला रुख बिरुवा कटान गरेर बेचेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप