सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

विकासलाई उत्पादनमुखी बनाउने सरकारको लक्ष्य छ : मुख्यमन्त्री जम्कट्टेल

सोमबार, ०५ चैत २०८०, १२ : ३७
सोमबार, ०५ चैत २०८०

हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सरकारले विकासको लक्ष्य लिएर अघि बढेको बताएका छन् । प्रदेश सरकारले विकास निर्माणका कामलाई उत्पादनसँग जोड्ने रणनीतिअनुसार काम गरिरहेको उनले बताए ।

मकवानपुरको मनहरीमा रजैया दरदरा मोटरेबल पुलको शिलान्यास गर्दै मुख्यमन्त्री जम्कट्टेलले विकास निर्माणका कामलाई उत्पादनमुखी ढङ्गबाट अघि बढाएर आर्थिक समृद्धिमा अग्रसर हुने सरकारको लक्ष्य रहको बताए । कृषि, पर्यटन तथा उद्यमशीलतामा भूमिका खेल्ने गरी विकास निर्माणका काम अघि बढाउने सरकारको तयारी रहेको उनले बताए । सरकार परिवर्तनसँगै नीति बदलिने समस्यालाई हल गर्दै ५ वर्षे नीतिमा काम गर्ने गरी बागमती प्रदेश सरकार अघि बढिरहेको उनको भनाइ छ ।

‘प्रदेश सरकारले विकासको मोडल परिवर्तन गरेर अघि बढिरहेको छ । देशले नै अनुसरण गर्ने गरी विकासको मोडल तयार पारेर बागमती प्रदेश सरकारले ५ वर्षे नीतिसहित काम गरिरहेको छ’ उनले भने, ‘प्रदेश सरकारले विषयगत क्षेत्रको विकासका लागि नीतिगत व्यवस्था गरिएको छ । स्थानीय तहको सुझाव र विगतका अनुभवबाट प्रदेश सरकारले आफ्ना कामलाई परिष्कृत गर्दै अघि बढेको छ । प्रदेश सरकारको आर्थिक समृद्धिको योजनामा भौतिक पूर्वाधार निर्माण चुनौतीका रूपमा देखिएको छ ।’

उनका अनुसार प्रदेश सरकारले पूर्वाधार विकास अन्तर्गत ठुला सडक पुलहरूमा लगानी गर्ने रणनीति बनाएको छ । साना योजनाहरू स्थानीय तहलाई नै कार्यान्वयन गर्न दिनेगरी प्रदेश सरकारले काम गरिरहेको उनले बताए । प्रदेश सरकारले विकासका कामलाई निरन्तर अवरोध रहित ढङ्गबाट अघि बढाउन पहल गरिरहेको उनको भनाइ छ ।

‘बागमती प्रदेश सरकारले विकासका काममा अड्काएर राख्दैन । निर्माण कम्पनीका कामलाई सहज बनाउने वातावरण तयार पार्न सरकारले भूमिका खेल्छ’ उनले भने ।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकारद्वारा विनियोजन बजेट अन्तर्गत मनहरी गाउँपालिका वडा नम्बर ९ र ५ जोड्ने मोटरेवल पुलको शिलान्यास गरेका हुन् । लामो समयदेखि बन्न नसकेको सो पुल निर्माणमा प्रदेश सरकारले पहल गर्दै आएको थियो । नागरिकको गुनासो र दबाबका बिच प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ बजेटमा उक्त पुल निर्माणका लागि बजेट विनियोजन गरेको थियो ।

पूर्वाधार विकास कार्यालय चितवनमार्फत कार्यान्वयन गरिएको उक्त पुल निर्माण योजनाका लागि प्रदेश सरकारले २४ करोड ७ लाख ९१ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेको छ । निर्माण कम्पनी बिटी/आरएस जेभीले ३ वर्षभित्र पुल निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप