आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

श्रममन्त्री अर्याल र अन्तर्राष्ट्रिय श्रम संगठनका निर्देशकबिच भेटवार्ता

सोमबार, ०५ चैत २०८०, १७ : २८
सोमबार, ०५ चैत २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालयका निर्देशक नुमान ओज्कानले शिष्टाचार भेटवार्ता भएको छ । भेटका अवसरमा निर्देशक ओज्कानले मन्त्री अर्याललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । मन्त्री अर्याल र निर्देशक ओज्कानले नेपाल र अन्तर्राष्ट्रिय श्रम संगठनका बिचमा भएका सहकार्यको स्मरण गर्दै हासिल भएका प्रगति उपर सन्तोष व्यक्त गरे ।  

उक्त अवसरमा हालै केन्द्रीय श्रम सल्लाहकार परिषद्बाट स्वीकृत भएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महासन्धि तथा प्रोटोकलहरूलाई अनुमोदन गर्ने सम्बन्धी कार्य योजना, गन्तव्य मुलुकहरूसँगका द्विपक्षीय श्रम आप्रवासन सम्झौता, अन्तर्राष्ट्रिय श्रम संगठनमा गर्नुपर्ने नियमित र आवधिक प्रतिवेदन लगायतका विषयमा भएको प्रगतिबारे समेत छलफल भएको थियो ।

श्रम क्षेत्रको औपचारिकीकरणका लागि कार्यान्वयन भइरहेको औपचारिक करणसम्बन्धी कार्य योजना, रोजगार सेवा केन्द्रहरूको सुदृढीकरण, वाध्यकारी श्रम तथा बालश्रममुक्त स्थानीय तह घोषणासम्बन्धी विविध विषयमा छलफल गर्नुका साथै यी क्षेत्रमा दुई पक्षबिच सहकार्य गर्ने प्रतिबद्धता व्यक्त भयो ।  

आसन्न अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औँ सत्रमा नेपालको सहभागितालाई सार्थक तुल्याउने विषयमा समेत छलफल भएको थियो । सामाजिक न्यायका लागि विश्वव्यापी साझेदारीमा नेपालको सहभागिताको विषयमा निर्देशकले चासो व्यक्त गरेका थिए । सरोकारवालाहरूको छलफल तथा अन्तरक्रियाबाट सकारात्मक राय र सहमति प्राप्त भइसकेको सन्दर्भमा नेपाल सहभागी हुने सम्बन्धी आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी मन्त्री अर्यालले गराएका थिए ।

भेटका क्रममा गन्तव्य मुलुकमा नेपाली आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चित गर्दै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो र आयमूलक बनाउने सम्बन्धमा सहकार्य गर्ने प्रतिबद्धता दुवै पक्षबाट व्यक्त भएको श्रम मन्त्रालयले जनाएको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठनका मापदण्डहरूको आन्तरिकीकरण मार्फत नेपालभित्रै मर्यादित श्रमको वातावरण सिर्जना गर्दै उत्पादनशील रोजगारी सिर्जना गर्न सहकार्य गर्ने विषयमा समान धारणा व्यक्त गर्दै शिष्टाचार भेटवार्ता सम्पन्न भएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप