आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

वाल्डो क्यासिनोको विवरण र सीसीटीभी फुटेज सीआईबीले आयोगलाई नदिएको खुलासा

मङ्गलबार, ०६ चैत २०८०, १३ : ५०
मङ्गलबार, ०६ चैत २०८०

काठमाडौँ । सुन तस्करले अनधिकृत रूपमा क्यासिनोलाई माध्यम बनाएर हङकङमा पैसा पठाएको सुराक पाएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ठमेलको वाल्डो क्यासिनोमाथि अनुसन्धान गरेको थियो । अनुसन्धान गरेपनि वाल्डोका सञ्चालकविरुद्ध मुद्दा दायर नभएपछि सुन तस्करी जाँचबुझ आयोगले सीआईबीको अनुसन्धानमाथि प्रश्न उठाएको छ ।

ब्युरोले वाल्डो क्यासिनोको अनुसन्धान विवरण सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगलाई नदिएको खुलासा भएको छ । जाँचबुझ आयोगले वाल्डो क्यासिनोबाट बरामद सीसीटीभी फुटेज र कम्प्युटरेको विवरण जाँचबुझका लागि माग्दा नपाएको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रहरी उपरीक्षक कृष्ण पंगेनीले वाल्डोबारे अनुसन्धान गरेर सीआइबीको कार्यालयमा प्रतिवेदन बुझाएका थिए । तर, सो रिपोर्ट सीआईबीले आयोगलाई नदिएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । सुन तस्करी जाँचबुझ आयोगले सुन तस्करीमा ‘वाल्डो कनेक्सन’बारे थप अनुसन्धान गर्न सिफारिस गरेको छ ।

चिनियाँ ‘एलेक्स’ भनेर चिनिने याओ पुचेङ वाल्डोमा खेल्न गइरहन्थे । पुचेङलाई भदौ १ मा सिआईबीले पक्राउ गरेको थियो । सुन तस्करीमा संलग्न मुख्य योजनाकार मध्येका ‘एलेक्स’ ले वाल्डो क्यासिनोमार्फत अनधिकृत रूपमा रकम हङकङ पठाउने गरेको केन्द्रीय अनुसन्धान ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

छाया सेन्टरमा सञ्चालित वाल्डो मार्फत ‘हुन्डी कारोबार’को शैलीमा एलेक्सले सुनको रकम भुक्तानी गर्ने गरेको भेटिएको छ । ‘क्यासिनोमा खेल्नका लागी चिप्स किन्नुपर्ने हुन्छ, तर, एलेक्सले लाखौँ रुपैयाँ चिप्स नकिनेर नै क्यासिनोमा डिपोजिट गर्ने गरेको देखिन्छ’, सीआईबीका एक अधिकृत भन्छन्, ‘वाल्डो मार्फत अनधिकृत रूपमा रकम ट्रान्सफर भएको देखिन्छ ।’

ब्युरोले वाल्डोको एकाउन्ट हेर्ने अधिकारीसँग बयान लिएको थियो । तर, उनलाई ब्युरोले प्रतिवादी बनाएन । क्यासिनो सञ्चालकलाई प्रतिवादी बनाउन आयोगले सिफारिस गरेको छ । चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ ।

उसो त सुन तस्करी प्रकरणमा अनुसन्धानमा लापरबाही गरेको भन्दै आयोगले सीआईबीकी तत्कालीन प्रमुख किरण बज्राचार्य, डीएसपी रुगम कुँवरसहित ४ जनालाई विभागीय कारबाहीको सिफारिस पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप