आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

विराट गोल्डकपको तयारी तीव्र

तीन विदेशीसहित ‘ए’ डिभिजनका १० टिम सहभागी हुने
मङ्गलबार, ०६ चैत २०८०, १९ : १०
मङ्गलबार, ०६ चैत २०८०

विराटनगर । विराटनगरको इतिहाससँग जोडिएको आठौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैतको दोस्रो सातादेखि सुरु हुने भएको छ । चैत १५ देखि २४ गते गतेसम्म विराटनगरको सहिद रंगशालामा फ्लडलाइटको माध्यमदेखि रात्रिकालीन गोल्डकप हुने भएको हो । 

विराट गोल्ड कप फुटबल ट्रष्टले मंगलबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी तीव्र भएको जानकारी गराएको छ । यस पटकको गोल्डकप ट्रस्ट आफंैले गर्ने भएको छ । विराटनगरको इज्जत र प्रतिष्ठासँग जोडिएको यति ठुलो प्रतियोगिता आयोजना गर्न सधैँ निजी क्षेत्रका उद्योगी व्यवसायीलाई संयोजक तोकेर प्रतियोगिता गरिनुपर्ने बाध्यता थियो । बारम्बार निजी क्षेत्रकै पहल र सक्रियतामा प्रतियोगिता हुँदै आएको थियो । यस वर्ष गोल्डकप ट्रष्ट आफैले प्रतियोगिता गर्दैछ । 

प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डीभीजनका १० टिमको सहभागी हुने विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर बहादुर शाहीले जानकारी दिए । गोल्डकपमा भारत कोलकत्ताको साउथर्न समिति फुटबल क्लब, भारत सिक्किमको सिक्किम ड्रागन फुटबल क्लब, भुटान थिम्फुको आर. टि.सी क्बल सहभागी हुँदैछ । नेपालका तीन विभागीय टिम नेपाल पुलिस, त्रिभुवन आर्मी, एपीएफ आउनेछन् । यसैगरी यस वर्षको लिग बिजेता टिम चर्च व्याइज फुटबल क्लब, ‘ए’ डिभिजन टिमहरु मच्छिन्द्र, एनआरटी क्बलको सहभागी हुने छ ।

यस वर्षको गोल्डकपमा पाँचौ संस्करणका बिजेता टिम थ्रीस्टार क्लब सहभागी नहुने भएको छ । थ्रीस्टारमा धेरै मोरङका खेलाडीहरु रहेका छन् । घरेलु टिम सांग्रीला मोरङले थ्रिस्टारका केही खेलाडी, मोरङका र विदेशी खेलाडी मैदान उत्रिने तयारी गरेको छ । सांग्रीला मोरङको टिमलाई विराटनगरका उद्योगी नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले लगानी गरेका छन् । 

गोल्डकप ट्रष्टले गत वर्षको भन्दा यस वर्षको पुरस्कार राशि झण्डै आधा घटाएको छ । विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । गत वर्षको विजेतालाई नगद २० लाख १५ हजार र उपविजेतालाई १० लाख  १५ हजार रुपैयाँ थियो । यो वर्ष विजेतालाई ९ लाख १५ हजार र उपविजेतालाई पाँच लाख ३५ हजार रुपैयाँ पुरस्कार राशि घटाएको हो । गत वर्षको गोल्डकपमा आयोजकलाई ८७ लाख १ हजार ४८  रुपैयाँ घाटा भएको थियो । ‘त्यही कारणले गर्दा पनि यस वर्ष पुरस्कार राशि घटाउन बाध्य हुनु परेको हो,’ ट्रष्टका अध्यक्ष शाहीले भने । 

उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यसैगरी दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र सर्वोकृष्ट खेलाडीलाई  मोटरसाइकल दिने आयोजकले बताएको छ । 

साँझको ६ बजे  बजेदेखि सुरु हुने गोल्डकपको २, ३ र ५ सय रुपैयाँ टिकक रहेको छ । ‘फ्लडलाइटको माध्यमदेखि रात्रिकालीन गोल्डकप हुने भएकोले खेल रोमान्चित बन्नेछ,’ अध्यक्ष शाहीले भने, ‘प्रतियोगिता सम्पन्न गर्दा १ करोड १८ लाख ४३ हजार २ सय रुपैयाँ हुनेछ ।’ गत वर्षको सातौँ संस्करणको विराट गोल्डकपको उपाधि घरेलु टोली विराटनगर सिटी (बीसीएफ) ले जित्दा पाहुना टोली भारत केरलाको लुका सकर क्लब उपविजेत बनेको थियो । २०१८ सालदेखि तत्कालीन राजा महेन्द्र शाहको नामबाट महेन्द्र गोल्डकपको रूपमा यसको सुरुवात भएको इतिहास छ । ३९ वर्षसम्म नियमित रूपमा भइरहेको प्रतियोगिता २०५७ सालदेखि भने निक्कै लामो समय बन्द भयो । ११ वर्षसम्म गोल्डकप हुनै सकेन । त्यसपछि नाम परिवर्तन गर्दै महेन्द्रबाट विराट गोल्डकप बनाएर २०६८ सालदेखि प्रतियोगिता सञ्चालन गर्न थालिएको हो । २०७० सालमा हुन नसकेको यो प्रतियोगिता आयोजक परिवर्तन गरेर २०७१ बाट गर्न थालिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप