बारामा गोली हानेर मारिएको बाघको पुच्छर, दाँत, जुँगासमेत चोरी
बारा । बाराको तामागढी साझेदारी वन क्षेत्रभित्र गोली हानेर मारिएको बाघको पुच्छर, दाँत र जुँगासमेत चोरी भएको छ । गोली हानेर मारिएको अवस्थामा बाघलाई कोल्हवी सव डिभिजन वन कार्यालयको टोलीले मङ्गलबार फेला पारेको हो ।
करिब २ देखि ३ वर्षको पोथी बाघ वन क्षेत्रभित्र मृत अवस्थामा भेटिएको थियो । बाघलाई नाकको माथिल्लो भागमा गोली हानिएको छ भने दाँत झिकिएको, पुच्छर काटिएको र जुँगासमेत निकालिएको अवस्थामा फेला परेको कोल्हवी सव डिभिजन वन कार्यालयका प्रमुख अब्दुल मियाँ अन्सारीले जनाए ।
अन्सारीका अनुसार बाख्रा हराएको भन्दै गाउँलेहरू जङ्गलमा खोज्न जाँदा बाघ मरेको देखेर खबर गरेका थिए । उनले भने, ‘गोली लागेको बाघको पुच्छर, दाँत, जुँगा चोरी भएको छ । कसले किन मारेको भनेर अहिले नै भन्न गाह्रो छ ।’
बाघको शव हेर्दा २ दिनअघि मारिएको अन्सारीको अनुमान छ । बाघको शव परीक्षणका लागि जिल्ला पशु कार्यालय बाराका पशु चिकित्सकहरूको टोली आएको थियो ।
तामागढी साझेदारीमा वनमा मारिएको यो बाघसँगै पछिल्लो एक डेढ महिनाको अन्तरमा बारामा आधा दर्जन बाघ मरिसकेका छन् ।
४ दिनअघि बाराको कछडिया सामुदायिक वनमा करिब ८ वर्षको जवान भाले बाघ विष हालेर मारिएको अवस्थामा फेला परेको थियो । फागुन दोस्रो साता पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ मा ४ दिनको अन्तरमा २ वटा जवान भाले र पोथी बाघ मृत भेटिएका थिए । पर्साको ठोरीबाट नियन्त्रणमा लिएर पर्सा राष्ट्रिय निकुञ्जको खोरमा राखिएको ३ वटा बाघमध्ये २ वटा बाघको मृत्यु भएको छ ।
सन् २०२२ को डिसेम्बरमा भएको राष्ट्रिय बाघ गणनामा पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा दुर्लभ पाटे बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो ।
निकुञ्जको मध्यवर्ती क्षेत्र, राष्ट्रिय वन, साझेदारी र सामुदायिक वनको ठुलो भूभाग अतिक्रमण भएर बस्ती र कृषि भूमिमा परिणत भएको छ । जसका कारण निकुञ्ज बाहिर निस्किएका बाघले पशु चौपाया र मानिसको ज्यान लिने र विभिन्न कारणले बाघको समेत ज्यान जाने गरेको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष भगतले निकुञ्ज बाहिर निस्किएका बाघलाई जोगाउनै मुस्किल भएको बताए । ‘निकुञ्ज बाहिर गएका बाघ धेरै जोखिममा छन्, यसमा सबै सरोकारवाला निकायको ध्यान जान जरुरी छ,’ भगतले भने, ‘आज मृत अवस्थामा भेटिएको बाघ के उद्देश्यले मारिएको हो, वन्यजन्तु तस्करले मारेको हो या अरु कसैले हो भन्ने कुरा अनुसन्धानपछि मात्रै थाहा हुन्छ ।’
पर्सा राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको लागि पिउने पानीको अभाव हुँदा बाघ जङ्गल बाहिर निस्कने गरेको निकुञ्जले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनसँगको व्यापार असन्तुलन सम्बोधनका लागि ‘संवादले नतिजा दिनुपर्छ’ : इयू
-
‘सरकार विघटनको बाटो खुल्यो’
-
संस्कृति मन्त्रालयले पाँच संस्थाका पदाधिकारी नियुक्त, कहाँ को ?
-
सात वटा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिले लिए शपथ
-
मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची
-
केयूको ३१औँ दीक्षान्तमा १५०० विद्यार्थी दीक्षित, दुई विद्यार्थीलाई स्वर्णपदक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण