आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रोकियो अफगानिस्तान–पाकिस्तान सीमामा झडप

मङ्गलबार, ०६ चैत २०८०, २० : ३८
मङ्गलबार, ०६ चैत २०८०

काबुल । पाकिस्तानी हवाई हमलाले अफगानिस्तान–पाकिस्तान सीमामा निम्त्याएको झडप रोकिएको तालिवान सरकारका प्रवक्ताले मङ्गलबार बताएका छन् । 

“लडाइँ रोकिएको छ र स्थिति शान्त छ”, तालिवान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले एएफपीलाई भने । पाकिस्तान सरकारले सोमबार बिहान अफगानिस्तान खोस्त र पाक्तिका प्रान्तको सीमा क्षेत्रमा आक्रमण गरेको थियो । 

इस्लामाबादले आफ्नो भूमिमा भएको आक्रमणको जिम्मेवार लडाकुलाई हमला गरेको बताए पनि तालिवान सरकारले आक्रमणमा परी ज्यान गुमाउनेमा महिला र बालिबालिका गरी आठ सर्वसाधारण रहेको बताएको छ । 

अफगानिस्तानको रक्षा मन्त्रालयका अनुसार यहाँको सीमावर्ती सेनाले भारी हतियारसहित सिमानामा रहेको पाकिस्तानी सैन्य चौकीहरूलाई निशाना बनाएर पाकिस्तानी हमलाको जवाफ दिएको थियो । 

पाकिस्तानी सीमावर्ती जिल्ला कुर्रमका एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार अफगान सैनिकहरूले उक्त क्षेत्रमा मोर्टार प्रहार गरेका थियो । “झडपमा तीन सैनिक चौकी र सर्वसाधारणका पाँच घरमा आंशिक क्षति पुगेको छ, चार सुरक्षाकर्मीसहित नौ जना घाइते भएका छन्, सीमामा हाल मौनता छाएको छ”, नाम नखुलाउन आग्रह गर्दै एक अधिकारीले भने । 

सन् २०२१ मा अफगानस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछि दुई देशबिच सीमा तनाव बढ्दै गएको हो । इस्लामाबादले काबुलको तालिबान सरकारले लडाकुहरूलाई शरण दिएको र उनीहरूलाई पाकिस्तानी सरकारमा हमला गर्न अनुमति दिएको आरोप लगाएको छ । काबुलले भने आरोप अस्वीकार गर्दै आइरहेको छ । 

विवादित सीमामा चेकपोष्ट निर्माणलाई लिएर बारम्बार झडपहरू भइरहेका छन् भने अध्यागमन मतभेदका कारण व्यापारिक नाकाहरू बन्द रहेका छन् । -(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप