आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

रिडी–तम्घास सडकखण्ड आजदेखि तीन साता बन्द

बुधबार, ०७ चैत २०८०, १० : ४८
बुधबार, ०७ चैत २०८०

गुल्मी । मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–तम्घास सडक आजदेखि तीन सातासम्म बन्द हुने भएको छ । राजमार्ग योजना कार्यालयले आज सार्वजनिक सूचना निकालेर रिडी– तम्घास खण्डमा सडक विस्तारको काम भइरहेकाले तीन सातालाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
 
सडक निर्माणका क्रममा पहरो फोर्ने, चौडा पार्ने, ग्रेड मिलाउनेलगायत काम गर्नुपर्ने भन्दै कार्यालयले ७ चैतदेखि चैत मसान्तसम्म सडक बन्द हुने मदन भण्डारी राजमार्ग योजना कार्यालयका इन्जिनियर एवं सूचना अधिकारी शर्मिला शर्माले जानकारी दिइन् । उनले तीन साताका लागि आज बिहान १० देखि ४ बजेसम्म र राति १० देखि बिहान ४ बजेसम्म सडक बन्द रहने बताइन् ।
 
गुल्मीका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माको अध्यक्षतामा भएको बैठकले हाल तीन सातालाई सडक बन्द गर्ने निर्णय गरेको हो । मुख्य सडक बन्द भएपछि वैकल्पिक सडकका लागि पानीट्याङ्की–थोर्गा–स्यालपोखरी–सालबिसौनीबाट रातामाटा, पिपलनेटा दिगाम हुँदै रिडी र लुम्छा–धरमपानी–दिगाम हुँदै रिडी तथा घुम्तीबाट–चारापाला–खज्र्याङ हुँदै रिडी सडक प्रयोग गर्न कार्यालयले सार्वजनिक सूचना जारी गरेर जनाएको छ । रिडी–तम्घास सडकखण्डको २५ किलोमिटर क्षेत्रमा सडक निर्माण द्रुतगतिमा भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप