शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

कम्युनिस्ट स्थापनाको ७५औँ वार्षिकोत्सवको मुखैमा वाम दल विभाजित

यस्तो छ एमाले, माओवादी, नेकपासहितको विभाजन शृङ्खला
शनिबार, १० चैत २०८०, ११ : २५
शनिबार, १० चैत २०८०

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी दल (नेसपा) कम्युनिस्ट इतिहासलाई पछ्याउँदै लगभग विभाजित भएको छ । स्थापनाको दुई वर्ष नपुग्दै वामपन्थी विचार बोक्ने यो दल विभाजित भएसँगै नेपालको कम्युनिस्ट पार्टीको इतिहास फेरि एक पटक दोहोरिएको ठानिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको ७५ वर्ष प्रवेशको दिन नजिकिएको बेला एउटा वाम दल विभाजित भएको हो । आगामी वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टी स्थापनाको ७५ वर्षमा प्रवेश गर्दैछ । २००६ वैशाख १० गते पुष्पलाल श्रेष्ठको नेतृत्व (महासचिव) मा निरञ्जन गोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ संस्थापक रहेको पार्टी स्थापना भएको थियो । भारतको कोलकाताको श्यामबजार स्थित एक घरमा नेकपा स्थापना भए पनि भदौ ३० सम्म गुपचुप राखियो ।

विश्वभर परेको रुसी क्रान्तिको प्रभाव, चीनमा माओत्सेतुङको नेतृत्वमा जनवादी क्रान्ति अन्तिम चरणमा पुगेको, भारत ब्रिटिस उपनिवेशबाट मुक्त भएको र नेपाल १ सय ४ वर्ष लामो जहानियाँ राणा शासनको निरङ्कुशताबाट मुक्त हुन खोजिरहेको समयमा पुष्पलालले नेकपाको स्थापना गरेका हुन् ।

  • जन्मँदै मतभेद

नेकपा स्थापनाको दिनलाई लिएर नेताहरूबिच मतभेद देखिन्छ । एक थरीले पार्टीको पहिलो पर्चा प्रकाशित भएको मिति वैशाख १० गतेलाई स्थापनाको दिन मान्छन् भने  अर्का थरीले नेकपा सार्वजनिक भएको दिन भदौ ३० गतेलाई मान्छन् । नेकपाको पहिलो घोषणापत्र पुष्पलालले भदौ ३० गते नै सार्वजनिक गरेका थिए । पार्टीको केन्द्रीय समिति सोही दिन सार्वजनिक भएको थियो । तर, केन्द्रीय समितिमा महासचिव पुष्पलालबाहेक संस्थापक सदस्यहरू वैद्य, कर्माचार्य, जोशी र मोतीदेवीको नाम थिएन ।

सार्वजनिक भएको केन्द्रीय समितिमा मनमोहन अधिकारी, तुलसीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय, डीपी अधिकारी र भाइसाहेब भनिने अयोध्या सिंहको नाम थियो । केन्द्रीय समितिमा रहेका सिंह भारतीय कम्युनिस्ट पार्टीका प्रतिनिधि भएको वामपन्थी नेता विष्णुहरि शर्माले रातोपाटीलाई बताए । नेकपा स्थापनामा भारतको प्रभाव रहेको दाबी गर्दै संस्थापक नेताहरू चाहिँ पाँच जना भएको उनको स्वीकारोक्ति छ । मोतीदेवी भौतिक रूपमा उपस्थित हुन नसक्दा उनको नाममा विवाद आएको हुनसक्ने शर्माको बुझाई छ । भलै नेकपा स्थापना भने वैशाख १० गते नै भएको उनको बुझाई छ ।

‘मोतीदेवी घटनास्थलमा थिएनन् । संस्थापकमा पछि थपिएको हो । त्यसैले विवाद भएको हो । नेकपा स्थापना २२ अप्रिलमै भएकोमा विवाद गर्नु आवश्यक छैन’, उनले भने, ‘तर पुष्पलालले सार्वजनिक गरेको केन्द्रीय समितिमा भाकपाका प्रतिनिधि सिंह रहनुले नेकपामा भारतको प्रभाव रहेको बुझ्न सकिन्छ ।’

स्थापना दिनको मात्र होइन, रुसी क्रान्ति र चिनियाँ क्रान्तिमध्ये कुनलाई धुरी बनाउने भन्नेमा वाम नेताहरूबिच विवाद देखिन्छ । राजनीतिक कार्यदिशा राजासहितको प्रजातन्त्र मान्ने कि संविधानसभामार्फत गणतन्त्र स्थापना गर्ने भन्ने विषयमा पनि सैद्धान्तिक मतभेद रहेको पाइन्छ । कम्युनिस्ट नेताहरूबिच आफूलाई अग्रगामी, क्रान्तिकारी, देशभक्त ठान्ने अन्यलाई संशोधनवादी, दक्षिणपन्थी, पश्चगामी बिल्ला भिराउने सोच अहिलेसम्म कायमै छ । त्यसैले कम्युनिस्ट पार्टीको स्थापनादेखि अहिलेसम्म नेताहरूमा सैद्धान्तिक र वैचारिकभन्दा पनि नेतृत्व, शक्ति, सत्ता सङ्घर्षका कारण पार्टी विभाजन हुने गरेको तर्क शर्माको छ ।

  • टुटफुट र विभाजनको शृङ्खला

नेकपा स्थापनापछि २००८ साल असोज ५ गते पहिलो सम्मेलन भयो । महासचिव पुष्पलाल भए । राजनीति दस्ताबेज मनमोहनको पास भयो । नीति एउटाको नेतृत्व अर्को हुँदा पार्टीभित्र मतभेद बढ्दै गयो । केही महिनामै महोत्तरीमा बसेको केन्द्रीय समिति बैठकले पुष्पलाललाई हटाएर मनमोहनलाई महासचिव बनायो । भारतको स्वार्थमा पुष्पलाललाई बाइपास गरिएको शर्माको आरोप छ । तथापि मनमोहन नेतृत्वमा आए लगत्तै मातृका कोइराला नेतृत्वको तत्कालीन सरकारले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो ।

प्रतिबन्धकाबिच नेकपाको पहिलो महाधिवेशन २०१० माघ (१३–१७) गतेसम्म भूमिगत रूपमा पाटन, ललितपुरमा भएको थियो । महासचिव मनमोहन अधिकारी भए । तुलसीलाल र डीपीलाई निलम्बन गरियो । महाधिवेशनले २००७ सालको आन्दोलनका उपलब्धिहरूलाई संस्थागत गरेर जाने निर्णय गर्‍यो ।

Kesarjung-rayamajhi

दोस्रो महाधिवेशन २०१४ जेठ (१४–२५) गतेसम्म काठमाडौँको दरबारमार्गस्थित फोहरादरबारमा सम्पन्न भएको थियो । महाधिवेशनमा कार्यवाहक महासचिव डा. केशरजंग रायमाझीद्वारा प्रस्तुत गरिएको दस्ताबेज अस्वीकृत भयो । पुष्पलालले पेश गरेको संविधानसभा र गणतन्त्रसम्बन्धी दस्ताबेज पारित भएको थियो । महाधिवेशनले नीति पुष्पलालको र नेतृत्व केशरजंगलाई छान्यो ।

२०१७ पुस १ गतेको राजा महेन्द्रको सैनिक ‘कु’ गरी बीपी कोइराला नेतृत्वको सरकारलाई बर्खास्त गरे । राज्यसत्ता आफ्नो हातमा लिए । राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाइयो । राजाको कदमलाई महासचिव केशरजंगले ‘प्रगतिशील कदम’ भनेर स्वागत स्वागत गरे । पुष्पलालले उक्त कदमलाई ‘सैनिक कु’को संज्ञा दिँदै महेन्द्रको कदमविरुद्ध सङ्घर्षमा गयो । केशरजंगलाई पुष्पलालले घोर दक्षिणपन्थी र राजापरस्तको आरोप लगाए । त्यसको भण्डाफोर गर्दै कम्युनिस्ट आन्दोलनलाई क्रान्तिकारी र जनमुखी आन्दोलनका रूपमा विकास गर्न सङ्घर्षमा उत्रियो । महेन्द्रको ‘कु’पछि शीर्ष नेताहरू जेल परे । अप्ठ्यारो परिस्थितिका कारण कसरी अगाडि बढ्ने भन्नेमा नेकपा अलमलियो ।

२०१७ फागुनमा भारतको दरभंगामा भएको प्लेनम(विस्तारित)ले ९ महिनाभित्र पार्टीको तेस्रो महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर प्लेनमको निर्णय विपरीत केशरजंग दक्षिणपन्थी लाइनमा अघि बढ्न थालेपछि २०१८ भदौमा तुलसीलाल अमात्य सचिव रहेको अन्तरजोन सामञ्जस्य समितिको गठन भएको थियो । उनले पुरानो केन्द्रीय नेतृत्वको अवसरवादी अङ्गले महाधिवेशन बारम्बार टार्दै आएको आरोप लगाए । तत्काल महाधिवेशन बोलाउन केशरजंगमाथि दबाब बढाए । महाधिवेशन बोलाउन आलटाल गर्न थालेपछि बहुमत सदस्यहरूले तेस्रो महाधिवेशन बोलाएको थियो । माओवादी केन्द्रको केन्द्रीय पुस्तकालयमा रहेको नेपाली कम्युनिस्ट आन्दोलन र जनक्रान्तिका ऐतिहासिक दस्ताबेजहरू भाग–१ मा उल्लेख छ ।

  • विभाजनकारी तेस्रो महाधिवेशन, छिन्नभिन्न कम्युनिस्ट आन्दोलन

तेस्रो महाधिवेशन अन्तरजोन सामञ्जस्य समितिको निर्णयअनुरुप २०१९ वैशाख (४–१५) गतेसम्म भारतको वाराणसीमा सम्पन्न भएको थियो । उक्त महाधिवेशनले तुलसीलाल अमात्यद्वारा प्रस्तुत ‘राष्ट्रिय प्रजातन्त्र’को कार्यक्रम पारित गर्नुका साथै उनलाई नै महासचिवमा चयन गरेको थियो । यही महाधिवेशनबाट केशरजंग अलग भए । यसरी पहिलोपटक नेकपा फुट्यो । यसअघिका दुईवटा महाधिवेशनमा महासचिवबाट पुष्पलाललाई हटाइएपनि उनले पार्टी विभाजन नगरी अन्तरसंघर्ष गरेका थिए । तेस्रो महाधिवेशनबाट नेकपा विभाजन मात्र भएन चिराचिरा भयो ।

tulsilal-amatya

तेस्रो महाधिवेशनपछि नेपाली कम्युनिस्ट आन्दोलनमा रुसी क्रान्ति र चिनियाँ क्रान्तिको प्रत्यक्ष प्रभाव परेको थियो । चिनिया लाइनको नेतृत्व पुष्पलालले गरे । रुसी लाइनको नेतृत्व तुलसीलालले गरे । राजनीतिक कार्यदिशालाई लिएर तुलसीलाल र पुष्पलालबिच मतभेद बढ्यो । तुलसीलालले राष्ट्रिय प्रजातन्त्रको लाइन समाते । पुष्पलालले नयाँ जनवादको लाइन समाते । त्यही क्रममा नेपालमा तुलसीलालले ‘कुन बाटो ?’ र पुष्पलालले ‘मूल बाटो’ नामक पुस्तिका प्रकाशन गरे । यी दुई प्रमुख नेताकाबिच विवाद चर्किँदै गयो । अन्ततः २०२५ सालमा पुष्पलालले भारतको गोरखपुरमा तेस्रो राष्ट्रिय सम्मेलन गरी अलग समूह घोषणा गरे ।

कम्युनिस्ट पार्टी विभाजित अवस्थामा रहेको बेलामा त्यसलाई संयोजन गर्नका लागि २०२८ मङ्सिर २० गते मनमोहन अधिकारी, शम्भुराम श्रेष्ठ, मोहनविक्रम सिंहलगायतका नेताहरूको सक्रियतामा केन्द्रीय न्युक्लियस गठन गरेर एकताका लागि कोसिस गरे ।  एकताका लागि उक्त न्युक्लियसले पुष्पलालसँग पनि वार्ता र छलफल गरे पनि सहमति बन्न सकेन ।

अर्कातिर २०२८ सालमै पूर्व कोशी प्रान्तीय कमिटीअन्तर्गतको झापा जिल्ला समितिले सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेको थियो । यसको नेतृत्व सीपी मैनाली, मोहनचन्द्र अधिकारी, राधाकृष्ण मैनाली, रामनाथ दाहाल, केपी ओली, भोगेन राजवंशी लगायत नेताहरूले गरेका थिए । जुन झापा विद्रोहको नामले चर्चित रहेको छ । भारतको पश्चिम बंगाल राज्यमा पर्ने नक्सलवाडीमा चारु मजुम्दार, जंगल सन्थाल र कानु सन्यालबाट सुरु भएको ‘सर्वहारावर्गको विद्रोह’को प्रभाव झापामा परेको थियो ।

झापा विद्रोहकै धारअन्तर्गत २०३२ साल जेठमा अखिल नेपाल क्रान्तिकारी को–अर्डिनेशन केन्द्र (माले) को गठन गरेर कम्युनिस्ट आन्दोलनको एकीकृत गर्ने काम भयो । २०३५ पुस ११ गते माओ दिवसको अवसर पारेर मोरङको इटहरामा राष्ट्रिय सम्मेलन गरी नेकपा (माले) को स्थापना गरिएको एमालेको वेबसाइटमा राखिएका ऐतिहासिक दस्ताबेजमा उल्लेख छ ।

यसका नेताहरू सीपी मैनाली, मदन भण्डारी, माधवकुमार नेपाल, ईश्वर पोखरेल, मुकुन्द न्यौपाने, प्रदीप नेपाल, जीवराज आश्रित लगायत थिए । केपी ओली भने जेलमा थिए । अहिलेको एमाले यही धारबाट जन्मेको हो । 

यतिबेला पुष्पलालको अलग्गै समूह थियो । २०३५ साल साउन ७ गते उनको निधन भयो । उनको निधनपछि धर्मपत्नी साहना प्रधानले पुष्पलाल समूहलाई पुनर्गठन गर्ने काम गरिन् । सोही क्रममा मनमोहनले नेकपा पुनर्गठन गरे । यी दुवै समूह २०४३ सालमा एकता भई नेकपा(मार्क्सवादी) भयो ।

  • एमालेको जन्म र विभाजनको शृङ्खला

चौथो महाधिवेशनलाई मान्यता नदिएर नेकपा (माले) ले २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म सिरहाको विष्णुपुरकट्टी, सर्रे अम्बासमा नेकपा (माले) को चौथो राष्ट्रिय महाधिवेशन आयोजना गर्‍यो । २०४७ पुस २२ मा मदन भण्डारी नेतृत्वको नेकपा(माले) र मनमोहन नेतृत्वको नेकपा(मार्क्सवादी) मिलेर नेकपा(एमाले) गठन गरे ।

महाकाली सन्धि राष्ट्रघाती भएको भन्दै २०५४ सालमा साहना प्रधान, वामदेव गौतम लगायत झण्डै पचास प्रतिशत नेता तथा कार्यकर्ताहरू एमालेबाट बाहिरिए । साहनाको नेतृत्वमा माले गठन गरे । २०५६ को निर्वाचनमा २०५ निर्वाचन क्षेत्रमा एक सिट पनि जित्न सकेन । २०५८ पुनः एमालेमा नै फर्किए । सीपी मैनाली एमाले नफर्किई माले पुनर्गठन गरे । माले पनि पटक पटक विभाजनको शिकार बन्यो । 

२०७७ साल पुस ५ गते तत्कालीन केपी ओली नेतृत्वको सरकारले दुई दुई पटक संसद् विघटन गरेपछि एमालेभित्र ओली र माधव नेपाल–झलनाथ खनाल समूहबिच अन्तर्विरोध चर्कियो । अन्ततः २०७८ भदौ २ गते एमाले फेरि विभाजन भयो । माधव नेपालको नेतृत्वमा गठन भएको एकीकृत समाजवादी अहिले सरकारमा छ । 

  • माओवादीको जन्म र विभाजनको शृङ्खला

यता मोहनविक्रम सिंह र निर्मल लामा २०२७ सालमा जेलबाट छुटेपछि २०३१ साल भदौदेखि असोज ७ सम्म चौथो महाधिवेशन भयो । महासचिव मोहनविक्रम चुनिए । जुन समूहमा मोहन वैद्य, चित्रबहादुर केसी, भक्तबहादुर श्रेष्ठ नेताहरू थिए । ०३३ सालमा यौन आरोपमा मोहनविक्रम पार्टीबाट निष्कासित भए । जलजला काण्डमा उनी कारबाहीमा परेको पुराना वामपन्थी नेता शर्मा बताउँछन् ।

मोहनविक्रम कारबाहीमा परेपछि लामा महासचिव भए । पछि लामालाई पनि पार्टीबाट निष्कासन गरियो । महासचिव भक्तबहादुर भए । २०३८ सालमा लामा र नारायणकाजी श्रेष्ठ लगायतले नेकपा(चौम)गठन गरे ।

मोहनविक्रमले २०४० साल कात्तिकमा गोरखपुर सम्मेलनबाट नेकपा(मशाल) बनाए । वैद्य, भक्तबहादुर, पुष्पकमल दाहाल प्रचण्ड सँगै थिए । २०४१ सालमा भारतको अयोध्यामा भएको पाँचौँ महाधिवेशनमा बहुमतले मोहनविक्रमलाई कारबाही गर्‍यो । महामन्त्री वैद्य भए । प्रचण्ड, भक्तबहादुर वैद्यतिर लागे । २०४३ सालमा चर्चित सेक्टर काण्डबाट वैद्यले राजीनामा दिए । प्रचण्ड नेतृत्वमा आए ।

वामपन्थी नेता शर्माका अनुसार ०४८ सालमा नेकपा मसाल (प्रचण्ड), नेकपा चौम (निर्मल लामा), मोहन विक्रम सिंहबाट छुट्टिएर आएको बाबुराम भट्टराईको समूह तथा सर्वहारा श्रमिक संगठनबाट छुट्टिएर आएको रुपलाल विश्वकर्मा पक्ष मिलेर एकता केन्द्र गठन भयो । महामन्त्री प्रचण्ड नै भए ।

दीर्घकालीन सशस्त्र जनयुद्ध गर्ने कि शान्तिपूर्ण सङ्घर्ष गर्ने भन्ने विषयमा एकता केन्द्रभित्र विवाद उत्कर्षमा पुग्यो । २०५१ सालमा चितवनमा भएको प्रथम राष्ट्रिय सम्मेलनबाट दीर्घकालीन सशस्त्र विद्रोहको लाइन पास भयो । एकता केन्द्रबाट नारायणकाजी श्रेष्ठ समूह अलग भए ।

२०५२ साल फागुन १ गतेदेखि माओवादी सशस्त्र विद्रोहमा गयो । १० वर्ष सशस्त्र विद्रोहपछि २०६२ मङ्सिरमा भएको १२ बुँदे सहमतिपछि माओवादी शान्तिपूर्ण राजनीतिमा आयो । २०६५ साल पुसमा नारायणकाजी नेतृत्वको एकता केन्द्र माओवादीसँग एकता गरी नेकपा एकीकृत समाजवादी गठन भयो । शान्तिपूर्ण राजनीति कार्यदिशा अँगाल्ने कि विद्रोहको कार्यदिशा अँगाल्ने भन्ने विषयमा प्रचण्ड, वैद्य र बाबुरामबिच भएको विवादले माओवादी विभाजित भयो । २०६९ असारमा वैद्यसहित रामबहादुर थापा, देव गुरुङ, नेक्रविक्रम चन्द विप्लव लगायत नेताहरू बाहिरिए । २०७२ सालमा नयाँ संविधान जारी भएपछि असोज ९ गते बाबुराम भट्टराईले पनि माओवादी परित्याग गरे ।

२०७४ असोजमा एमाओवादी र गणेश साह नेतृत्वको नेकपा(संयुक्त)बिच पार्टी एकता भई नेकपा(माओवादी केन्द्र) गठन भयो । यो पार्टीको अध्यक्ष अहिले प्रचण्ड नै रहेका छन् ।

यता पार्टी विभाजन भएको दुई वर्ष नपुग्दै वैद्यको पार्टीबाट विप्लव समूह अलग भए । विभाजनपछि एकीकृत जनक्रान्तिमा होमिएको विप्लव समूह २०७६ फागुनमा शान्तिपूर्ण राजनीतिमा आयो । उक्त समूहबाट धर्मेन्द्र बास्तोला नेतृत्वको अर्को समूह अलग भयो । बास्तोला समूह वैद्य समूहमा गाभिएर क्रान्तिकारी कम्युनिस्ट पार्टी गठन गरेको छ । माओवादीसँग एकता प्रक्रियामा रहेका विप्लव चार दलीय समाजवादी मोर्चाका संयोजक छन् ।

यस्तै बाबुराम नेतृत्वको नयाँ शक्ति नेपाल संघीय समाजवादी पार्टी, जसपा हुँदै नेपाल समाजवादी गठन गरेका छन् । माओवादीसँग एकता गर्ने कि नगर्ने विषयमा विवाद चर्किँदा चैत ४ गते विभाजन भएको छ । यस्तै माओवादीबाट अलग भएका बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा लगायत नेताहरू एमालेमा विलय भएका छन् । विश्व भक्त दुलाल, गोपाल किराती, नारायणप्रसाद शर्मा लगायत नेताहरूको स–साना  समूह पनि अस्तित्वमा छन् ।

अर्कोतिर २०४२ सालमा नेकपा(मसाल) गठन गरेका मोहनविक्रमको पार्टी पनि निरन्तर विभाजित हुँदै आएको छ । २०४७ सालमा हरिबोल गजुरेलको नेतृत्वमा डा. बाबुराम भट्टराई लगायत नेताहरू मसालबाट अलग भए । यस्तै  २०५७ सालमा मसालबाट दीनानाथ शर्मा नेतृत्वको समूह अलग भए । २०७८ सालमा मसालमा फेरी विभाजन भएको छ । मसालको संसदीय मोर्चा राष्ट्रिय जनमोर्चाले संसद्मा अहिले एक सिट जितेको छ ।

उता नेपालमा एउटै कम्युनिस्ट पार्टी भएर विकास नहुने देखेर २०३१ माघ १० गते दरभङ्गामा बसेको केन्द्रीय समितिको निर्णयअनुसार नेपाल मजदुर किसान पार्टी विधिवतरूपमा स्थापना भएको थियो । अध्यक्ष नारायणमान बिजुक्छे रहेका छन् । यो पार्टीले संसद्मा एक सिट जितेको छ ।

त्यस्तै २०३३ सालसम्म आइपुग्दा कम्युनिस्ट एकता सम्पर्क समिति, नेपाल सर्वहारा क्रान्तिकारी संगठन र मुक्ति मोर्चा समूह जस्ता स–साना कम्युनिस्ट समूह अस्तित्वमा थिए । यता केशजंग समूह पनि २०४३ सालसम्म अस्तित्वमा रहेको थियो । सो समूहबाट विष्णुबहादुर मानन्धर, कृष्णराज वर्मा अलग भए । जुन नेकपा(मानन्धर) र नेकपा(बर्मा) चिनिन्थ्यो । पछि केशरजंग आफै  कारबाहीमा परे ।

यद्यपि अहिले संसद्मा नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टी मात्रै अस्तित्वमा रहेको छ ।

संसद् बाहिर नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, गोपाल किराती नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी) लगायत अधा दर्जनभन्दा बढी माओवादी घटकहरू अस्तित्वमा रहेका छन् ।

  • ६९ वर्षमा शक्तिशाली नेकपा गठन, टिकेन दुई वर्ष

नेकपाको तेस्रो महाधिवेशनपछि टुटफुट र विभाजनले निकै कमजोर भएको कम्युनिस्ट आन्दोलन २०७४ को निर्वाचनपछि निकै शक्तिशाली भयो । दुई ठुला वाम दल एमाले र माओवादीबिच चुनावी तालमेलसहित पार्टी एकता गरी नेपाल कम्युनिस्ट पार्टी गठन गरेका थिए ।

०७४ को निर्वाचनमा नेकपाले मधेस प्रदेशबाहेक सबै प्रदेशमा अत्यधिक बहुमत प्राप्त गरे । संघमा झण्डै दुई तिहाइ बहुमत प्राप्त गरेका थिए । निर्वाचनपछि ओली शक्तिशाली कम्युनिस्ट प्रधानमन्त्री भए । पूर्वसहमति  अनुसार २०७५ साल जेठ ३ गते एमाले र माओवादी विलय भई नेकपा गठन गरेका थिए ।

६९ वर्षको इतिहासमा शक्तिशाली कम्युनिस्ट पार्टी गठन भएको थियो । तर ओली र प्रचण्डबिच सत्ता र शक्ति संघर्षका कारण दुई वर्ष नपुग्दै  विघटन भयो । २०७७ साल फागुन २३ गते नेकपा विवादसम्बन्धी विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई मान्यता दिएपछि ओली–प्रचण्ड नेतृत्वको नेकपा विघटन भए । एमाले र माओवादी फेरि अस्तित्वमा आयो । २०७९ को निर्वाचनमा एमाले र माओवादी नै ठुला वामपन्थी दल भए पनि जनमत सिट सङ्ख्या घटेको छ । अहिले प्रचण्डकै नेतृत्वमा वामपन्थी बाहुल्य सरकार छ ।

यद्यपि अहिले समाजवादी मोर्चाको नाममा वामपन्थी दलहरू एक हुने चर्चा सुरु भएको छ । टुटफुटको इतिहास बोकेको कम्युनिस्ट एकताको प्रयासले कति सार्थकता पाउँला त्यो घटनाक्रमले देखाउनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप