आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

त्रिविमा शिक्षाध्यक्ष र रजिष्ट्रारको नियुक्ति प्रक्रिया सुरु, उपकुलपति बरालले मागे बायोडाटा

शनिबार, १० चैत २०८०, १७ : ४०
शनिबार, १० चैत २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा रिक्त पदहरूमा नियुक्ति प्रक्रिया अघि बढेको छ । हाल रिक्त रहेको शिक्षाध्यक्ष र रजिष्ट्रारको नियुक्ति प्रक्रिया अघि बढेको हो । त्यसका लागि उपकुलपति प्राडा केशरजंग बरालले इच्छुक प्राध्यापकहरूसँग बायोडाटा माग गरेका छन् ।

त्रिवि ऐन २०४९ को परिच्छेद १९ (१) बमोजिम शिक्षाध्यक्ष पदका लागि बायोडाटा माग गरेका हुन् । त्यस्तै सोही ऐनका परिच्छेद २० (१) बमोजिम रजिष्ट्रारका लागि बायोडाटा माग गरेका हुन् ।

उपकुलपति कार्यालयको इमेल ठेगानामा आफ्नो बायोडाटासहित मेल पठाउन उपकुलपति कार्यालयले जनाएको छ । त्रिवि ऐन अनुसार शिक्षाध्यक्ष र रजिष्ट्रारको नियुक्ति उपकुलपतिको सिफारिसमा कुलपतिले गर्नेछ । दुवै पदाधिकारीको कार्यकाल उपकुलपति झै चार वर्षको हुनेछ । 

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ११ पुस २०७६ मा प्राडा पेशल दाहाललाई रजिष्ट्रार र चैत ६ गते प्राडा शिवलाल भुसाललाई शिक्षाध्यक्ष (रेक्टर) मा नियुक्त गरेका थिए ।

ओलीले नै १७ कात्तिक २०७६ मा उपकुलपतिमा प्राडा धर्मकान्त बाँस्कोटालाई नियुक्त गरेका थिए । बाँस्कोटाको कार्यकाल सकिएपछि शिक्षाध्यक्ष भुसाललाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो । पहिलो पटक २० कात्तिकमा तीन महिनाको कार्यकाल पाएका थिए । नयाँ उपकुलपति छनोट हुन नसकेपछि दोस्रो पटक फेरि तीन महिनाकै लागि भुसाललाई नै जिम्मेवारी दिइएको थियो । १० फागुनमा बराल उपकुलपतिमा नियुक्त भएका थिए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप