शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आऊ आज सँगै फागुको रङ्ग खेलौँ

आइतबार, ११ चैत २०८०, १० : ४०
आइतबार, ११ चैत २०८०

आऊ आज हामी रङ्ग खेलौँ

फागुको यो भेटेमा रङ्गसँग खेलौँ

एकछिन आफ्नै मनसँग खेलौँ,

धेरै भयो त, हामीले एक अर्कोलाई रङ्ग नहालेको

तिमी हिँडेपछि पनि धेरै समयसम्म त 

हामीलाई फागु पनि कहाँ आयो र

उषाकाल मै तिमी हिँड्दा, पूर्व रातो हुँदै थियो

पहाडमा पुरै अँध्यारो जस्तै लाग्थ्यो

तिमी एकोहोरिएर हिँडेका थियौँ

हिमालमा सुनौलो रङ्ग नचढ्दै,

ढाकरमा भोक बोकेर, नाना चाचा समेत ल्याउँछु भन्यौ

घरको लागि नचुहिने छानो ल्याउँछु भन्यौ र हिँड्यौ ।।

तिमी सँगै हिँडेका कति मुग्लान तिर लागेछन्

तिमी अलि धेरै जँघार काटेर यता पुगे छौ,

तिमी हिँडे पछिका हाम्रा दिनहरू पनि सजिला कहाँ थिए र

तिमी कति  विदेशी भूमिमा बन्दुक बोकेर 

भोकका लागि अरूका वैरी सँग लड्यौ

हामी पनि कति आफ्नै भूमिमा भोक बोकेर, 

आफ्नै जीवन सँग लड्यौँ,

समयको त्यो दूरी र थकानलाई मेट्न 

आऊ आज सँगै फागुको रङ्ग खेलौँ

समय र भूगोलको दुरीले पनि टाढा पार्न नसकेको

हाम्रो यो सम्बन्धलाई ताजै राख्न, आऊ आज रङ्ग थापेर फागु खेलौँ ।।

हुन त समयले धेरै रङ्ग खेलेको छ, हामी सँग 

हाम्रै रगतको रङ्गले रङ्गाएको छ कति  

एलामिनका मरुभूमि देखि बर्मा-मलायाका जङ्गलसम्म 

अनि समुद्रको त्यो नुनिलो स्वादमा 

हाम्रै आँसुहरू मिसिएका छन् कति ;

समयको त्यो विशाल सागर पार गरेको यो भेटमा

समयलाई सम्झना रहने गरी 

तिमीले छोडी आएका ती पहाडका रङ्गहरूको धितपुग्ने गरी  

आऊ आज मन भरी रङ्ग खेलौँ,  रङ्गहरूको फागु खेलौँ ।।

तिमी हिँडेपछि पनि, 

हामीले आफ्नै कलहमा जीवन खर्चिएका वेलामा 

बिरक्तिएर घर छोडी हिँडेकाहरू छन् कति 

आऊ आज यो भेटमा, तिमी भन्दा पहिला परदेशिएका 

बुद्धलाई बास दिएको यो धरामा 

हामीसँग हारेका ती युद्धहरू  

अनि जितेको शान्ति 

अनुभूत हुनेगरी, मन चङ्गा पार्न  

स्निग्ध सेता हिमालको आँगनमा 

फूलेका ती गुराँस जस्ता रङ्ग खेलौँ 

मिलनका यी रङ्गहरूको सम्झना रहने गरी फागु खेलौँ ।।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

धन बहादुर वली
धन बहादुर वली
लेखकबाट थप