सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नुवाकोटमा दुई हजार रोपनी वन क्षेत्रमा डढेलो

आइतबार, ११ चैत २०८०, १४ : २१
आइतबार, ११ चैत २०८०

त्रिशूली । नुवाकोटमा करिब दुई हजार रोपनी वनमा डढेलोले क्षति पुर्‍याएको छ । डढेलोका कारण उक्त क्षेत्रमा वन पैदावर र वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका हुन् । गत फागुन पहिलो सातादेखि सुरु भएको यस वर्षको डढेलोका कारण जिल्लाको १२ वटै पालिकामा रहेका वन क्षेत्र प्रभावित भएको डिभिजन वन कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिए ।

उनका अनुसार जिल्लाका विभिन्न स्थानका २८ सामुदायिक र राष्ट्रिय वनमा लागेको डढेलोबाट करिब दुई हजार रोपनी वन क्षेत्रमा क्षति पुगेको प्रारम्भिक अध्ययनमा पाइएको छ । “डढेलोका घटना धेरै बढ्न थालेकाले न्यूनीकरण र रोकथामका लागि सचेतना जगाउन केन्द्रित भएका छौँ”, डिभिजनल वन अधिकृत पोखरेलले भने, “अघिल्ला वर्षको तुलनामा यस वर्ष डढेलो लाग्ने वनको सङ्ख्या र क्षेत्रफल बढेको छ, पर्याप्त हिउँदे वर्षा नहुनु र मानवीय लापरबाहीबाट डढेलो फैलिएको छ ।”

डिभिजन वन कार्यालयले सुक्खायामको समयमा हुनसक्ने डढेलो नियन्त्रण गर्न १० जना हरित स्वंयसेवक नियुक्त गरेर सचेतना र नियन्त्रणका लागि परिचालन गरेको छ । डढेलो नियन्त्रणका लागि सम्बन्धित वनका उपभोक्तालाई जागरुक र लापरबाही गर्नेलाई दण्ड, जरिवानाको कानुनी व्यवस्थासम्बन्धी सचेतनाका कार्यक्रम बढाएको कार्यालयका सूचना अधिकारी राजकुमार यादवले बताए ।

उनका अनुसार अधिकांश डढेलो मानवीय लापरबाही र त्रुटिबाट भएको पाइएको छ । केही स्थानमा नियतबस लगाएको पाइएकाले संलग्नको खोजी भइरहेको छ । नियतबस डढेलो लगाएको पुष्टि भएमा तीन वर्ष कैद र रु ६० हजार जरिवाना हुने कानुनी व्यवस्था छ । नुवाकोटका करिब चार सय सामुदायिक, राष्ट्रिय र निजी वन रहेका छन् । ती वनबाट ४० हजारभन्दा बढी घरधुरी प्रत्यक्ष लाभान्वित हुँदै आइरहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप