शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

इलाम उपनिर्वाचन : कांग्रेस कोशी प्रदेशले पठायो उम्मेदवारका आकाङ्क्षीहरूको नाम

सोमबार, १२ चैत २०८०, १२ : ३०
सोमबार, १२ चैत २०८०

काठमाडौँ । आउँदो वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ प्रतिनिधि सभाको उपनिर्वाचनका लागि नेपाली कांग्रेस कोशी प्रदेश समितिले आकाङ्क्षीहरूको नाम केन्द्रीय समितिमा पठाएको छ । 

कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाका अनुसार चैत ११ गतेको मिति राखेर आकाङ्क्षी उम्मेदवारहरूको नाम केन्द्रमा पठाइएको हो । ‘कांग्रेस इलाम कार्य समितिले पठाएको सात जनाको नाम जस्ताको त्यस्तै प्रदेश समितिले निर्णय गरेर केन्द्रमा पठाएका छौँ । बाँकी विषयमा केन्द्रीय समितिले नै निर्णय गर्छ,’ सभापति थापाले भने ।

कांग्रेस इलाम जिल्ला कार्य समिति इलामले पनि चैत्र ७ गते नै आकाङ्क्षी उम्मेदवारहरूको नाम प्रदेश समितिलाई पठाइसकेको कांग्रेस इलामका सचिव पूर्ण गौतमले जानकारी दिए । ‘क्षेत्र नम्बर २ को क्षेत्रीय समितिको बैठकले गरेको निर्णयको प्रतिलिपिसहित प्रदेशमा पठाएका हौँ । इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनलाई लक्षित गरी जिल्ला सभापति, पदाधिकारी, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्यहरू, क्षेत्रीय पदाधिकारीहरू एवम् आकाङ्क्षीहरूको उपस्थितिमा जे निर्णय भएको थियो त्यही निर्णयलाई आधार मानेर प्रतिलिपिसहित चैत ७ गते निर्णय गरेर प्रदेश समितिलाई पठाइसकेका छौँ,’ सचिव गौतमले भने ।

गत मंगलबार इलामको चुलाचुलीमा बसेको पार्टी क्षेत्रीय कार्यसमितिको बैठकले उम्मेदवारको नाम सिफारिस गरेको हो । क्षेत्रीय सभापति डिकेन्द्र इदिङ्गोका अनुसार विधानले दिएको अधिकार र व्यवस्था अनुसार आकाङ्क्षीहरूको नाम पठाइएको हो ।

सभापति इदिङ्गोले भने,‘क्षेत्रीय समितिको बैठकबाट पहिलो नम्बरमा महासमिति सदस्य एवम् महाधिवेशन प्रतिनिधि भेषराज आचार्यको नाम समावेश गरेर पठाएका छौँ । दोस्रो नम्बरमा पूर्वसांसद केशव थापाको नाम सिफारिस गरेका छौँ ।’ त्यस्तै क्रमशः जिल्ला सभापति डम्बर खड्का, संविधानसभा सदस्य नगेन्द्र कुमाल र नेता रमेश लिङ्देनको नाम सिफारिस गरिएको पनि उनले जानकारी दिए । बैठकले आकांक्षीद्वय चन्द्रमाया लिम्बू र चन्द्रकला राईको नाम पनि सिफारिस गरेर पठाइएको उनले बताए । 

एमाले उपाध्यक्ष तथा उक्त क्षेत्रका सांसद सुवासचन्द्र नेम्वाङको गत भदौमा निधन भएको थियो । त्यसैले निर्वाचन हुन लागेको हो । कांग्रेसबाट मुख्य गरी आचार्य, थापा, सभापति खड्का र कुमाल मुख्य आकाङ्क्षीका रूपमा दौडधुपमा छन् । इलाम क्षेत्र नम्बर २ कांग्रेसको बलियो क्षेत्र मानिन्छ ।

राष्ट्रिय राजनीतिमा स्थापित नेम्बाङको निधनपछि मुख्य प्रतिस्पर्धी एमालेभित्र उम्मेदवारमा रस्साकस्सी चलिरहेको बेला कांग्रेसले यसपटक सकारात्मक परिणाम निकाल्ने अपेक्षा गरिएको छ । आधिकारिक उम्मेदवार बन्नका लागि कांग्रेसका अधिकांश नेताहरू काठमाडौँ केन्द्रित छन् । विशेष गरी आचार्य र खड्का पक्ष अलग अलग समूह बनाएर केन्द्रीय नेताहरूको घरदैलो गरिरहेका छन् । एक नम्बरमै नाम सिफारिस भएपछि आचार्य समूह उत्साहित छ । केन्द्रीय समितिले चैत्र १५ सम्ममा आधिकारिक उम्मेदवारको नाम टुङ्गो लगाउने गरी तयारी गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप