शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

विश्लेषकहरू भन्छन्– सिद्धान्त र एजेण्डाविहीन राजनीतिक ध्रुवीकरणले दुर्घटना निम्तिन सक्छ

सोमबार, १२ चैत २०८०, १८ : १२
सोमबार, १२ चैत २०८०

काठमाडौँ । राजनीतिक विश्लेषकहरूले नेपालमा सिद्धान्त र विचारविहीन राजनीतिक ध्रुवीकरण हुने गरेको भन्दै यस्तो भइरहेमा राजनीतिक दुर्घटना निम्तिनसक्ने खतरा औँल्याएका छन् । 

राजनीतिक दलहरूले विचार, सिद्धान्त र एजेण्डामा एकरूपता नहेरी सत्ता स्वार्थमा राजनीतिक ध्रुवीकरण गर्ने गरेकाले यसको निरन्तरता भइरहे निकट भविष्यमा राजनीतिक दुर्घटना निम्तिनसक्ने बताएका हुन् । सोमवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उनीहरुले राजनीतिक दलहरू निश्चित आधार मुद्दा र मापदण्डका आधारमा नभई केवल सत्ता स्वार्थका खातिर ध्रुवीकृत अथवा विकेन्द्रित हुने गरेका बताएका छन् । 

राजनीतिक विश्लेषक डम्बर खतिवडाले देशका राजनीतिक दलहरूमा सत्तामा जानु नै उपलब्धि हासिल हुनु र सत्तामा जान नसक्नु नै असफल हुनु हो भन्ने भाष्य स्थापित भएको बताए । उनले यसकारण देशको राजनीति अवसरवाद र अनैतिकतामा पुगेको बताए । उनले वर्तमान राजनीतिक अवस्थालाई ध्रुवीकरणको अवस्था भन्न समेत नसकिने बताए । उनले साझा मुद्दाको आधारमा एकताबद्ध हुने कुरालाई ध्रुवीकरण भन्न सकिने बताए । नेपालमा भने सत्तालिप्सा र गणितको खेलमा मात्रै एक हुने गरिएकाले त्यसलाई ध्रुवीकरण  मान्न नसकिने उनको भनाई छ । राजनीतिक विश्लेषक खतिवडाले यस प्रकारको राजनीतिक परिपाटीले देशलाई यथास्थितिको गोलचक्करमा फसाउने अथवा राजनीतिक शक्तिहरूको विश्वसनीयता समाप्त हुने बताए ।

उनले भने,‘राजनीतिक दलहरूको सत्तालिप्सा र नेताहरूको गुटमोह, परिवारमोह वा निजी स्वार्थहरूले गर्दाखेरी आज राज्य र राष्ट्रको वैधता र विश्वसनीयतामाथि ठुलो सङ्कट आएको छ जस्तो मलाई लाग्छ । एउटा त काहीँ पनि नपुग्ने, गोलचक्करमा फस्ने । अर्को चाहिँ पुराना राजनीतिक शक्तिहरूको विश्वसनीयता समाप्त हुने र एउटा युगको अन्त्य भएर अर्को युगको थालनी हुने । नयाँ राजनीतिक शक्तिहरूको उदय भएर पुरानाहरूलाई प्रतिस्थापन गर्ने । अहिलेसम्म हामी दुष्चक्र र गोलचक्करमा फसेजस्तो देखिन्छौँ । तर मान्छेहरूले विकल्पहरू खोज्न थालेको गत वर्षको चुनावमा पनि देखियो । तर पर्याप्त विश्वसनीय विकल्प प्राप्त नहुँदाखेरी कतिपय मतदाताहरुले पुरानै राजनीतिक दल र नेताहरूलाई साथ दिइरहेका छन् । तर यसरी लामो जाँदैन जस्तो लाग्छ मलाई । कम्तीमा पाँचदेखि दश वर्षभित्र नेपालको राजनीति, अर्थतन्त्र, प्रशासन र समग्र सामाजिक व्यवस्थाले एउटा नयाँ मोड लिन सकेन भने यो राष्ट्रको लागि दुर्भाग्य हुन्छ ।’

राजनीतिक विश्लेषक पुरुषोत्तम दाहालले अहिलेको राजनीतिक गठबन्धनहरू आफूले अवसर पाउने कुरामा मात्रै केन्द्रित भएको बताए । उनले सिद्धान्तविहीन र नीतिविहीन ध्रुवीकरण केवल अवसरको भगचलनका लागि मात्रै हुने बताए । देशमा ठुलो सङ्कट पर्दा र एक हुनुको विकल्प नहुँदा राजनीतिक दलहरूका बिचमा मिलेर देश चलाउनुपर्ने अवस्था आउने उनको भनाई छ । उनले अहिले त्यस प्रकारको अवस्था नभएको बताए । सत्तालाई नै अन्तिम सत्य मानेर केवल शक्ति बाँडफाँट र सरकार फेरबदल हुने गरेको भन्दै उहाँले यसले नागरिकको निराशालाई बढाउने बताए । उनले नागरिकको निराशा बढ्दै गएमा त्यसले भयानक विस्फोट गराउने बताए । नागरिकको निराशा विस्फोट भएमा सो विस्फोट राजनीतिक प्रणालीमाथि नै हुन सक्ने उनले बताए ।

उनले भने,‘सत्ता बाहेक कुनैपनि सत्य छैन भन्ने सिद्धान्तका आधारमा अहिले सबै शक्ति सन्तुलनका कुरा, सरकारका फेरबदलका कुरा, गठबन्धनका कुरा, शक्ति बाँडफाँटका कुरा भइरहेको छ । आम नागरिकमा निराशा व्यक्त हुन सक्छ भोलि । त्यसो भएमा भयानक विस्फोट हुन सक्छ । त्यो विस्फोट भनेको अहिलेको राजनीतिक प्रणालीदेखि, राजनीतिक नेतृत्व सबैका विपक्षमा हुनसक्छ । निराशा भयो भने स्वाभाविक रूपमा त्यसले निकास खोज्छ, त्यो निकास खोज्ने बेलामा प्रणाली पनि भन्दैन । नेता पनि भन्दैन ।’

विश्लेषक दाहालले राजनीतिक दलका नेताहरूले नैतिकता देखाउनुपर्ने बताए । उनले कसैमाथि नैतिक प्रश्न उठेमा त्यो प्रश्नको समाधान हुनुपर्ने पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप