आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

‘महाजात्रा’को गीत युट्युबमा सार्वजनिक

मङ्गलबार, १३ चैत २०८०

काठमाडौँ । गत शुक्रबारदेखि प्रदर्शनमा आएको र राम्रो व्यवसाय गरिरहेको फिल्म हो ‘महाजात्रा’ । फिल्म रिलिज भएको केही दिनपछि निर्माण संस्था षट्कोण आर्ट्सले फिल्मको गीत ‘मुरी मुरी साथी’ युट्युबमा सार्वजनिक गरेको छ । 

सार्वजनिक गीतमा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्ममा उनीहरूबिच शृंखलावद्ध रूपमा आउने उतारचढावसँगै झाँगिएको मित्रतालाई प्रस्तुत गरिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । 

गीतमा तीन पात्रले जीविकोपार्जनका लागि गर्ने सङ्घर्ष, विभिन्न अवरोधमा टिकेको मित्रता र उनीहरूको गरिबीले डगमगाउन नसकेको नैतिकतालाई प्रस्तुत छ । हर्क साउदको शब्द, कालीप्रसाद बाँस्कोटाको स्वर तथा सङ्गीत गीतमा छ । 

मनोरञ्जनसँगै राष्ट्रिय विषयलाई समेटिएको फिल्मलाई नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह लगायतका विशिष्ट व्यक्तिले हेरिसकेका छन् । फिल्मले पहिलो तीन दिनमा चार करोड २६ लाखको ग्रस कलेक्सन गरिसकेको दाबी छ ।

फिल्मको विषयवस्तु तीन पात्रकै वरिपरि घुमेको छ । आपत्कालीन रूपमा पैसा व्यवस्थापन गर्न आइपर्ने अवसर र त्यसको क्रममा तीन पात्रले गर्ने सङ्घर्ष देखाइएको फिल्ममा वर्षा राउत, दिव्य देव, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय छ ।

फिल्मलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले संयुक्त रूपमा निर्माण गरेका हुन् 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया