शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमती प्रदेश लोक सेवा आयोग अध्यक्षविहीन, सरकारले दियो कांग्रेसलाई दोष

बुधबार, १४ चैत २०८०, १२ : ०५
बुधबार, १४ चैत २०८०

मकवानपुर । प्रदेश लोक सेवा आयोग, बागमती प्रदेश नेतृत्वविहीन बनेको छ । आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठले चैत ३ गते उमेर हदका कारण अवकाश लिएसँगै अध्यक्ष पद रिक्त भएको हो । प्रदेश लोक सेवा आयोग ऐनमा आयोगको अध्यक्ष र सदस्य नियुक्ति भएको मितिले ६ वर्ष पदावधि हुने व्यवस्था छ भने ऐनको दफा ६ को (ख) मा अध्यक्ष वा सदस्यको उमेर ६५ वर्ष पूरा भएमा पदबाट अवकाश हुने व्यवस्था छ ।

अध्यक्ष नियुक्तिमा ढिलाइ

बागमती प्रदेश सरकारले आयोगको नेतृत्व चयनमा चासो देखाएको छैन । सरकारको भविष्य नै सुनिश्चित हुन नसकेका कारण आयोगको अध्यक्ष नियुक्ति अन्योलमा परेको हो । आन्तरिक तयारी नपुगेको भन्दै अध्यक्षको नियुक्ति रोकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

मुख्यमन्त्रीको अध्यक्षतामा प्रदेश सभाका सभामुख र प्रदेश सभाको विपक्षी दलको नेता सदस्य रहेको सिफारिस समितिले अध्यक्ष र सदस्यमा नियुक्तिका लागि सिफारिस गर्ने ऐनमा व्यवस्था छ । ऐनको दफा ३ मा व्यवस्था गरिए बमोजिम सिफारिस समितिले आयोगको अध्यक्ष र सदस्य नियुक्तिका लागि निर्णय गरी सरकारलाई जानकारी गराउने छ भने सरकारले प्रदेश प्रमुखसमक्ष नियुक्तिका लागि सिफारिस गर्ने व्यवस्था छ । आयोगको अध्यक्षले प्रदेश प्रमुखसमक्ष र सदस्यले अध्यक्षसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था ऐनमा छ ।

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न सरकारलाई आग्रह गरेको छ । कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेकाले दीर्घकालीन महत्त्वका निर्णय र प्रदेशको संवैधानिक आयोगमा नियुक्ति लगायतका कार्य नगर्न सरकारलाई सचेत गराइसकेको बताए ।

आयोगको अध्यक्ष नियुक्ति कांग्रेसले रोकेको हो : मुख्यमन्त्री जम्कट्टेल
मुख्यमन्त्री शालिकराम जम्कट्टेलका अनुसार लोक सेवा आयोगको अध्यक्ष नियुक्ति प्रक्रिया कांग्रेसका कारण रोकिएको हो । सत्ता समीकरण परिवर्तन हुनु अगावै नेतृत्वका बारे छलफलका लागि आग्रह गर्दा समेत कांग्रेस सहभागी नभएको उनले बताए ।

‘लोक सेवा आयोगको अध्यक्ष नियुक्ति कांग्रेसले रोकिराखेको छ । आयोगको अध्यक्ष नियुक्तिका लागि मैले सत्ता समीकरण परिवर्तन हुन अगाडि नै पहल गरेको थिएँ । तर, कांग्रेस आउन चाहेन,’ उनले रातोपाटीसँग भने, ‘त्यस समयमा कांग्रेस संसदीय दलका नेता बहादुर सिं लामा विदेश भ्रमणमा हुनुहुन्थ्यो । संसदीय दलका उपनेता रामकृष्ण चित्रकारलाई छलफलका लागि आग्रह गरेको थिएँ । आयोग जस्तो संस्थालाई अध्यक्षविहीन राख्न हुन्न भनेर मैले आग्रह गर्दा उहाँले संसदीय दलका नेतालाई पर्खन आग्रह गर्नुभयो । पछि सत्ता समीकरण नै फेरियो ।’

के छ अध्यक्षका लागि योग्यता ?

प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ५ अनुसारको योग्यता भएका व्यक्ति अध्यक्ष बन्न पाउने व्यवस्था छ । आयोगको अध्यक्ष बन्नका लागि ऐनको दफा ५ (क) र (ख)ं अनुसार मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्ने र नियुक्ति हुँदाको समयमा कुनै राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने व्यवस्था छ ।
ऐनको दफा ५ (ग) अनुसार अध्यक्ष बन्न ४५ वर्ष र सदस्यको हकमा ३५ वर्ष पूरा भएको हुनुपर्ने छ भने (घ) अनुसार उच्च नैतिक चरित्र भएको योग्यता हुनुपर्ने व्यवस्था छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप