शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आईपीएलमा चुलियो कुकुरको चर्चा, पशु अधिकारकर्मीहरूद्वारा कारबाहीको माग

बुधबार, १४ चैत २०८०, १५ : ०१
बुधबार, १४ चैत २०८०

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार राति गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच खेल भएको थियो । यी दुई टोलीबिच खेल भइरहँदा अचानक एउटा कुकुर मैदानभित्र प्रवेश गरेको थियो ।

मैदानभित्र कुकुर प्रवेश गरेपछि केही समय खेल पनि प्रभावित भएको थियो । त्यसपछि सुरक्षाकर्मीले त्यो कुकुरलाई मैदानबाट बाहिर निकालेका थिए । तर, मैदानमा कुकुर प्रवेश गरेको त्यो घटनाले निकै चर्चा बटुलिरहेको छ । त्यो भिडियो सामाजिक सञ्जालमा पनि निकै भाइरल भइरहेको छ ।

खासमा, कुकुरलाई मैदानबाट बाहिरी निकाल्न सुरक्षाकर्मीहरू कुकुरको पछाडि दौडन्छन् । त्यसक्रममा केही सुरक्षाकर्मीले कुकुरलाई लात्तले हिर्काएको पनि भिडियोमा देखिन्छ । सुरक्षाकर्मीले कुकुरलाई लत्तले हिर्काएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि अहिले पशु अधिकारकर्मीहरूले त्यसको व्यापक विरोध गरिरहेका छन् ।  

त्यो घटनालाई लिएर पशु अधिकारकर्मीहरूले कुकुरमाथि दूब्र्यवहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही हुनुपर्ने माग पनि गरेका छन् । उनीहरूले कुकुरलाई हिर्काउने सुरक्षाकर्मीलाई पक्राउ गरिनु पर्ने वा उनीहरूमाथि जरिवाना लगाइनु पर्ने माग गरेका छन् ।

केही सुरक्षाकर्मीले कुकुरलाई मुक्काले समेत हिर्काएको आरोप पनि पशु अधिकारकर्मीले लगाएका छन् । ‘बाटो बिर्सिएर स्टेडियमभित्र छिरेको निर्दोष कुकुरलाई लात्ती र मुक्काले हिर्काउनु निन्दनीय कार्य हो । दोषीमाथि कारबाही हुनै पर्छ । हामी घटनाको कडा शब्दमा निन्दा गर्छौँ,’ पेटा इन्डियाले भनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप