सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ : सहदोर दाजु-भाइ भूपेन्द्र र चन्द्रबहादुर सेमिफाइनलमा

बुधबार, १४ चैत २०८०, १८ : ५४
बुधबार, १४ चैत २०८०

काठमाडौँ । नेपाल पुलिस क्लबका भूपेन्द्र थापा, गण्डकी प्रदेशका निश्चल गुरुङ र त्रिभुवन आर्मी क्लबका खगेन्द्र रोका मगर छैटौँ वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पुरुष ६३.५ केजी तौल समूहको भिडन्तमा दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधारी भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई, निश्चलले एपीएफ क्लबका सोनाम सार्कीलाई र खगेन्द्र रोका मगरले मधेस प्रदेशका मृनाल जोशीलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पुरुष ५१ केजीमा भुपेन्द्रका सहोदर भाइ चन्द्रबहादुर थापाले कोशी प्रदेशका फुङलाङ काम्बाङलाई, बागमती प्रदेशका लालप्रसाद उप्रेतीले लुम्बिनी प्रदेशका भरत पुनलाई, आर्मी क्लबका विमल घर्ती मगरले कर्णाली प्रदेशका लक्ष्मण राईलाई र मधेस प्रदेशका रविन थापाले एपीएफ क्लबका प्रदीप महर्जनलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

यसैगरी पुरुष ५७ केजीमा पुलिस क्लब निकेश देशारले एपीएफ क्लबका पुरन राईबाट वाकओभर पाउँदै सेमिफाइनलको यात्रा तय गरे । सोही स्पर्धामा कर्णाली प्रदेशका सुलभ मालीले कोशीका डम्बरबहादुर श्रेष्ठलाई, सुदूरपश्चिमका विशाल जाग्रीले बागमतीका निराजन मोक्तानलाई र आर्मी क्लबका प्रेम चौधरीले लुम्बिनी प्रदेशका मन्सुब बस्नेतलाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

यसैगरी पुरुष ७१ केजीमा एपीएफका विक्रम चौधरीले मधेशका सुजित पराजुलीलाई र बागमतीका अश्विन धिरन श्रेष्ठले लुम्बिनीका मनोज श्रेष्ठलाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाए । पुरुष ८० केजीमा सुदूरपश्चिमका बालाजी रावलले पुलिस क्लबका प्रदीप पार्कीलाई र आर्मीका दिपेश लामाले एपीएफका सुमन कार्कीको चुनौती समाप्त पार्दै सेमिफाइनलमा प्रवेश गरे ।

गणेशमान सिंह फउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह स्पोर्ट्स कमिटी र नेपाल बक्सिङ महासंघद्वारा संयुक्त आयोजित प्रतियोगिताको महिला ५० केजीमा बागमतीकी रमिशा श्रेष्ठले सुदूरपश्चिमकी सोनिया सेठ्ठीलाई र आर्मीकी आरती ब्लोनले कोशीकी शिला राईलाई निराश पार्दै सेमिफाइनलमा पुगे ।

महिला ५७ केजीमा आर्मीकी वर्षा श्रेष्ठले एपीएफकी सर्मिला तामाङलाई र पुलिस क्लबकी निशा तामाङले मधेसकी अन्शु केसीलाई पन्छ्याउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । महिला ६० केजीमा आर्मीकी ललिता महर्जनले मधेसकी निश्मा गुरुङलाई र कोशीकी जोनु लिम्बूले सुदूरपश्चिमकी कविता सिंहलाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप