सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर पुस्तिका हराएको विषयमा उपकुलपति कार्यालयले थाल्यो छानबिन

बुधबार, १४ चैत २०८०, १९ : १३
बुधबार, १४ चैत २०८०

काठमाडौँ । उत्तर पुस्तिका हराएको विषयमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपति कार्यालयले छानबिन थालेको छ । परीक्षा नियन्त्रण कार्यालय (पनिका) को चरम लापरवाहीका कारण स्नातक तह (बीए) प्रथम वर्षको जनसङ्ख्या विषय र स्नातक तह प्रथम वर्षको ‘फाउण्डेशन अफ एजुकेशन ४१२’ उत्तर पुस्तिका हराएको छ ।

उक्त प्रकरणमा उपकुलपति कार्यालयले छानबिन गरेर दोषीमाथि कारबाही गर्ने जनाएको हो । छानबिन समिति बनाएर दोषीमाथि सात दिनभित्र कारबाही गर्ने प्रतिबद्धता उपकुलपति प्राडा केशरजंग बरालले जनाएका हुन् ।

उत्तर पुस्तिका हराएको विषयमा पनिकाले समेत छानबिन समिति गठन गरेको छ । उपकुलपति कार्यालयले समेत छानबिन समिति गठन गर्न लागेको हो । समितिले अनुसन्धान गरेर सात दिनभित्रमा प्रतिवेदन पेस गर्ने र सोही आधारमा दोषीमाथि कारबाही गर्ने उपकुलपति बरालले बताए ।

उत्तर पुस्तिका हराएपछि पनिकाले चैत २१ गतेदेखि पुनः परीक्षा गर्ने तयारी थालेको छ । ‘फाउण्डेशन अफ एजुकेशन ४१२’ को विषयमा भने पनिकाले हालसम्म गोप्य नै राखेको छ ।

पनिकाले जनसङ्ख्या विषयको परीक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई निर्देशन दिएको छ । सोही आधारमा क्याम्पसहरूले विद्यार्थीहरूलाई परीक्षाका लागि बोलाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप