शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिकेटर केभिन पिटर्सन भन्छन्– खराब सहरको परिचय बनाउँदैछ लन्डन

बिहीबार, १५ चैत २०८०, १७ : ४१
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान केभिन पिटर्सनले लन्डनले क्रमशः आफ्नो पुरानो परिचय गुमाउँदै गएको टिप्पणी गरेका छन् । उनले हालै भएको एक घटनाको प्रसंग उठाउँदै पछिल्लो समय लन्डन खराब सहरका रुपमा चित्रित हुँदै गएको बताए ।

आफ्नो समयका प्रभावशाली क्रिकेटर पिटर्सनले लन्डनस्थित रेलमा दिउँसै एक ब्यक्तिमाथि छुरा प्रहार गरिएको भिडियो सामाजिक सञ्जाल एक्स (यसअघि ट्वीटर) मा पोष्ट गर्दै यस्तो टिप्पणी गरेका हुन् । भिक्टोरियातर्फ गइरहेको रेलमा बुधबार दिउँसो एक ब्यक्तिमाथि छुरा प्रहार गरिएको थियो । स्थानीय प्रहरीले घटनाको छानबिन गरिरहेको छ । प्रहरीले घटनाको प्रत्यक्षदर्शीलाई सम्पर्कमा आउन अनुरोध पनि गरेको छ । 

छुरा प्रहारबाट घाइते भएका ती ब्यक्तिको अवस्था गम्भीर रहेको समाचारमा जनाइएको छ । त्यही घटनाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै क्रिकेटर पिटर्सनले भनेका छन्, ‘कुनै समय लन्डन गजबको सहर थियो । तर, पछिल्लो समय यो के भइरहेको छ ? यो घटना लन्डनका लागि अपमान पनि हो ।’

पिटर्सनले पछिल्लो समय लन्डनमा दिउँसै भइरहेका लुटपाटका घटनाले पनि चिन्ता बढाएको टिप्पणी गरेका छन् । चर्चित क्रिकेटर पिटर्सन हाल आईपीएलमा सहभागी हुने क्रममा भारतमा छन् । उनी जारी आईपीएलको कमेन्ट्री गर्छन् ।  पिटर्सनले सन् २०१८ को मार्चमा सक्रिय खेलजीवनबाट सन्न्यास लिएका थिए । उनको कप्तानमा इङ्ल्यान्डले चारवटा एसेस शृंखला जितेको थियो । उनले देशका लागि एक सय चार टेस्ट खेल्दै कुल आठ हजार एक सय ८१ रन बनाएका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप