सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

बागमतीका सभामुख भन्छन्– मुख्यमन्त्रीको विश्वासको मत फेल गर्न प्रस्ताव आएको छ

शनिबार, १७ चैत २०८०, १३ : ३६
शनिबार, १७ चैत २०८०

हेटौँडा । बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत फेल गर्न प्रस्ताव आएको टिप्पणी गरेका छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ गते संसदबाट विवश्वासको मत लिने प्रस्तावलाई असफल बनाउन आफूलाई दबाब आएको बताएका हुन् ।

चितवनको सौराहमा आयोजित पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख पाठकले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत लिने प्रस्ताव फेल गर्न सक्रिय तत्त्वहरूबाट प्रस्ताव आएको बताएका हुन् । आफूलाई १९ गते दिउँसो १ बजे तय भएको बैठक नबोलाउन र अनुपस्थित भइदिन प्रस्ताव आएको उनको भनाइ छ ।

‘मुख्यमन्त्रीको विश्वासको मतसम्बन्धी प्रस्ताव फेला गर्न प्रस्ताव आएका छन् । मुख्यमन्त्रीले १९ गते विश्वासको मत लिने बैठक नबोलाउन र बैठकमा उपस्थित नहुन विभिन्न तवरबाट दबाब आइरहेको छ । प्रदेशसभा नै नबोलाई विश्वासको मत लिने टार्न प्रस्ताव गरिएको छ । कोशी घटना पुनरावृत्ति गर्न दबाब आएको छ’ उनले भने ।

सभामुख पाठकले कस्तो प्रकृतिको प्रस्ताव र दबाब कसले गर्यो भन्ने विषय भने खुलाएनन् । सभामुख पाठकले संसदलाई निष्पक्ष राख्न आफू प्रतिबद्ध रहेकाले सो प्रस्तावको पक्षमा नरहेको बताए ।

‘कोशी घटना पुनरावृत्तिका लागि दबाब आएको थियो । तर, मैल मानिन । म पर्सिको विश्वासको मत लिने दिन गइन भने के हुन्छ ? म जुन पदमा छु त्यो पदको धर्म मैले निर्वाह गर्नुपर्छ । कसलाई फाइदा हुन्छ कसलाई नोक्सान हुन्छ त्यो बेग्लै पाटो हो । म एम्पाएर हो, म खेलाडी होइन, खेलाडीले गल्ती गर्याे भने सिठ्ठी फुक्ने हो’ सभामुख पाठकले भने ।

आफूले निष्पक्ष भएर सभामुखको धर्म निर्वाह गर्ने तयारीमा रहेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले सत्ता समीकरण सन्तुलन गर्न मन्त्रिपरिषद् विस्तारलाई अघि बढाइरहेका छन् भने १९ गते संसद्‌बाट विश्वासको मत लिने तयारी अघि बढाएका छन् । संविधानअनुसार आगामी चैत २२ गतेसम्म मुख्यमन्त्री जम्कट्टेलले संसद्‌बाट विश्वासको मत लिइसक्नुपर्ने वाध्यात्मक परिस्थिति रहेको छ ।

सत्ता समीकरण बदलिएपछि गत फागुन २३ मा सरकारबाट कांग्रेस बाहिरिएको थियो । ६ जना मन्त्री फिर्ता बोलाएर कांग्रेसले सरकारको समर्थन फिर्ता लिएको हो । कांग्रेसको समर्थन फिर्ता भएसँगै मुख्यमन्त्री जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

गत २०७९ पुस २५ मा मुख्यमन्त्री बनेका जम्कट्टेलले सत्ता समीकरण बदलिएपछि एमाले र एकीकृत समाजवादीले समर्थन रहने देखिन्छ । समीकरण अनुसार सरकार टिकाउन थप एक सांसद आवश्यक पर्ने भएकाले मुख्यमन्त्री जम्कट्टेलले चैत १५ मा २ सांसद रहेको हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री नियुक्त गरेका थिए भने एमालेबाट जगन्नाथ थपलिया आज सरकारमा मन्त्री पदको शपथ ग्रहण गर्ने तयारीमा रहेका छन् ।

११० सदस्यीय प्रदेशसभामा सरकार बनाउन वा टिकाउन ५६ सांसदको समर्थन आवश्यक रहन्छ । वर्तमान गठबन्धनमा मुख्यमन्त्री जम्कट्टेलको पक्षमा माओवादी केन्द्रका २१, एमालेका २७ (उपसभामुख सहित), एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थन रहने देखिन्छ भने कांग्रेसका ३७, राप्रपाका १३ (सभामुख सहित) र नेमकिपाका ३ प्रतिपक्षमा रहने निश्चित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप