शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

प्रसारण लाइन बिस्तारका क्रममा काटिएका लाखौँको काठ कुहिने अवस्थामा

आइतबार, १८ चैत २०८०, ०८ : १८
आइतबार, १८ चैत २०८०

मुक्ति तिवारी/नवलपरासी । पश्चिम नवलपरासीको बर्दघाट स्थित पूर्व–पश्चिम राजमार्ग किनारामा रहेको बर्दघाट सरावल सब डिभिजन (वन) कार्यालय परिसरमा थुपारिएका  झन्डै ७० लाख बराबरको काठ दाउरा कुहिन थालेको छ । समयमै लिलामी नहुँदा बर्दघाट सर्दि १ सय ३२ केभ प्रसारण लाइन विस्तारको क्रममा काटिएका काठ कुहिन थालेको हो । 

७ हजार ७ सय ५२ क्युफिट काठ र २६ चट्टा दाउरा दुई वर्ष देखि बर्दघाट सरावल सव डिभिजन कार्यालय परिसरमा घाटगद्धि गरिए पनि अझै लिलामी भएको छैन । सव डिभिजन कार्यालयका निमित्त वन अधिकृत चिन बहादुर यादवले काठ कटानको क्रममा पनि एकिन विवरण नभएको र पछि घाटगद्धि गर्ने क्रममा पनि प्राविधिकहरूले ढिलाइ गर्दा समस्या भएको बताए । 

घाटगद्धिमा ठेकेदारले दिएको विवरण अनुसार रुजु गर्नुपर्ने भएकाले पनि लिलामीको काममा ढिलाइ भएको यादवको भनाई छ ।

‘ठेकेदारले केहि काठ ल्याएर घाटगद्धि गर्यो, अन्तिममा ३ सय रुख काट्न बाँकी छ भनिए पनि ती रुख नकाटिएका कारण पनि एकिन नाप जाँचमा ढिलाइ भएको हो, यादवले भने । काठ दाउरा लिलामीको अधिकार भने डिभिजन वन कार्यालय परासीलाई मात्रै छ । डिभिजन वन कार्यालय परासीले लिलामीको स्वीकृतिका लागि वन निर्देशनालय बुटवलमा पत्राचार गरिसकेको जनाएको छ । 

ठेकेदारले समयमै सही विवरणसहित हस्तान्तरण नगर्दा लिलामी प्रक्रियामा ढिलाइ भएको डिभिजन वन कार्यालय परासीका वन अधिकृत मेघनाथ काफ्लेले बताए ।

साल, खयर लगायत जातका काठ समयमै लिलामी नहुँदा कुहिन थालेपछि बिक्री मूल्य पनि घट्दै गएको छ । जिल्लामा अन्यत्र पनि लाखौँका काठ कुहिने अवस्थामा रहँदा सम्बन्धित निकायले खासै पहल गरेको भने देखिँदैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप