बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
अपराध

अप्रेसन ‘क्लाउड’ : सीमा क्षेत्रमा अनलाइनमार्फत ठगी धन्दा चलाउने चिनियाँ गिरोह यसरी भेटियो

आइतबार, १८ चैत २०८०, १९ : ४९
आइतबार, १८ चैत २०८०

वीरगन्ज । अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोह पक्राउ गर्न सफल प्रहरीले आइतबार अभियुक्तहरूलाई सार्वजनिक गरेको छ ।

वीरगन्ज महानगरको विभिन्न ठाउँमा सर्च अप्रेसन चलाएर शनिबार साँझ प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्यहरुलाई पक्राउ गरेको थियो ।

चीनको हुनान सहरका ३३ वर्षीय लिउ गुइ कै, हुबेईका २६ वर्षीय वाङ बोहन र सोही ठाउँका ३६ वर्षका छियाङ छियावलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।

वीरगन्ज महानगरको वडा नम्बर १५ स्थित नन्दु पटेलको घरमा छापा मारेर नजिकैको सडकबाट २ जना र वृन्दावन होटलबाट एक जनालाई पक्राउ गरिएको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले जनाए ।

प्रहरीको अप्रेसन ‘क्लाउड’

प्रहरीको विशेष टोलीले केही साता अगाडि वीरगन्ज बजारमा चिनियाँ नागरिकको गतिविधिबारे सूचना सङ्कलन गरेको थियो । वीरगन्जमा चिनियाँ नागरिकको आवतजावत बढेपछि प्रहरीले निगरानी बढाएको थियो ।

शङ्कास्पद गतिविधि भइरहेको सूचनापछि एसपी ढुंगेलले ‘अप्रेसन क्लाउड’ अभियान नै सञ्चालन गरे ।

प्रहरीको यही अप्रेसनले चिनियाँ नागरिकलाई निगरानी गर्ने र ठगीमा संलग्न सबैलाई ‘नोटिस’ मा राखेर उठाउने नीति बनायो ।

त्यही क्रममा पर्सा प्रहरीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो ।

बोर्डरबाट अनलाइन ठगी

पक्राउ परेका चिनियाँ नागरिकहरूका बारेमा पर्सा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पक्राउ परेका चिनियाँहरूले प्रहरीलाई बोर्डरबाट भारतमा ठगी धन्दा चलाउन सहजता भएकाले आफूहरूले वीरगन्जलाई आधार क्षेत्र बनाएर काम गरेको प्रारम्भिक बयान दिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानमा सहभागी एक अधिकारीका अनुसार पक्राउ परेका चिनियाँले भारतीय सीम प्रयोग गरेर अनलाइन ठगी धन्दा चलाइरहेको खुलेको छ । विशेषगरी भारतलाई आफ्नो ठगी धन्दाको लक्ष्य बनाएर उनीहरूले काम गर्दै आएको र त्यसका लागि केही भारतीयलाई आफ्नो कर्मचारी बनाएको खुलासा भएको छ ।

प्रहरी प्रमुख ढुंगेल भन्छन्, ‘भारतीय कर्मचारीहरू हिन्दी भाषामा स्पष्ट रुपमा कुरा गर्छन्, यसले गर्दा जुन भारतीयलाई फोन गरिएको हुन्छ, उसलाई पनि विश्वास हुने भयो ।’

भारत, पाकिस्तान र नेपालमा चलिरहेको थियो अनलाइन ठगी

वीरगन्ज भारतको सीमासँग जोडिएको सहर हो । त्यसैले भारत लक्षित ठगी धन्शाका लागि उनीहरूले वीरगञ्जलाई रोजेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

करिब २ महिना अगाडि घर भाडामा लिएर सुरु भएको अनलाइनमार्फत ठगी खासगरी भारत, पाकिस्तान र नेपालमा ठगी गर्न केन्द्रित रहेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

के–के भयो बरामद ?

प्रहरीले उनीहरूको साथबाट ठुलो परिमाणमा विद्युतीय उपकरण, डेक्सटप कम्प्युटर, ल्यापटप, मोबाइल फोन, सीमकार्डहरू तथा विभिन्न देशका मुद्रासमेत बरामद गरेको छ ।

पक्राउ परेकाहरूको साथबाट कम्प्युटर डेक्सटप सीपीयू १ सय २० थान, मनिटर ११८ थान, पासपोर्ट ३ थान, मोबाईल ३५ थान, भारतीय सीमकार्ड १३ थान, ल्यापटप ४ थान, प्रिन्टर १ थान बरामद भएको छ ।

यसैगरी विभिन्न बैंकका एटीएम कार्ड ३ थान, किबोर्ड २३ थान, इन्टरनेट स्विच ५ थान, वाइफाइ राउटर २ थान, मिनी इन्भर्टर २ थान बरामद भएको छ ।

यसैगरी भारतीय नम्बर बीआर ०१ सीएक्स ५७९२ नम्बरको आई २० गाडी, प्र.२–०३–०११ प १३६७ नम्बरको मोटरसाइकल समेत बरामद भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप