मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
श्रम मन्त्रीको परिणाममुखी काम

एक घण्टाभित्रै श्रम स्वीकृति दिन थालियो, तीन सिफ्टमा काम

आइतबार, १८ चैत २०८०, २० : २३
आइतबार, १८ चैत २०८०

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि एक घण्टामै श्रम स्वीकृति दिन थालिएको छ । श्रम स्वीकृतिमा ढिलाइ हुँदा श्रमिकहरूले खेप्नुपरिरहेको बाध्यता अन्त्य गर्दै एक घण्टामै श्रम स्वीकृति दिन थालिएको हो ।

वैदेशिक विभाग अन्तर्गत वैदेशिक रोजगार कार्यालय ताहाचलमा दैनिक एक हजार देखि एक हजार ५०० जनाले श्रम स्वीकृतिका लागि अनलाइनमार्फत आवेदन दिने गरेका छन् । अत्यधिक चापका कारण उनीहरूले श्रम स्वीकृति पाउन एक सातासम्म कुर्नुपर्ने बाध्यता थियो । अब भने सम्पूर्ण प्रक्रिया पुरा भएको एक घण्टाभित्र श्रम स्वीकृति दिन थालिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख दीपकराज नेपालले बताए ।

यसअघिसम्म श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिनका लागि थुप्रै खालका सास्ती खेप्नु परेको थियो । समयमै श्रम स्वीकृतिको काम नहुँदा श्रमिकहरूको सम्बन्धित देशका फ्लाइट छुट्ने समस्या देखिएको थियो ।

श्रमिकहरूले फ्लाइट टिकट काटेर श्रम स्वीकृतिका लागि अनलाइन मार्फत निवेदन दिने तर, श्रम स्वीकृति समयमै नहुँदा निकै सास्ती खेप्नुपरेको थियो । कतिपय समयमा अनलाइन सिस्टममा नै समस्या आएर श्रमिकहरूले श्रम स्वीकृति नै नपाउने समस्या थियो ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मार्फत श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्ने हुन्छ । तर, उक्त सिस्टममा आउने पटक पटकको समस्याका कारण श्रमिकहरूले सास्ती खेप्दै आएका थिए । उक्त समस्याको समाधान खोज्न श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोल प्रसाद अर्याल सक्रिय भएर लागेका थिए । उनले कर्मचारीहरूलाई एक घण्टाभित्रमा श्रम स्वीकृति प्रदान गर्नेगरी काम गर्न निर्देशन दिएका थिए । सोही आधारमा कर्मचारीले एक घण्टाभित्र श्रम स्वीकृति दिने व्यवस्था मिलाएका हुन् ।

baideshik-sharam (1)

कसरी सम्भव भयो ?

अहिले श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिका लागि आवश्यक पर्ने सबै कागजात अनलाइनमा मार्फत सबमिट गरेको एक घण्टाभित्रमा नै श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको छ । श्रममन्त्री अर्यालले उक्त निर्देशन दिँदा तथा कर्मचारीहरूले त्यसका लागि कमिटमेन्ट गरिररहँदा धेरैले ‘त्यो सम्भव छैन’ भनेका थिए । तर, उक्त कार्यलाई सम्भव बनाउन श्रममन्त्री अर्याल आफैँ खटिएका थिए । त्यसका लागि उनले सम्बन्धित कर्मचारीहरू, आईटी टिम लगायतसँग लगातार छलफल गरेका थिए ।

उनले उक्त विषयलाई नजिकबाट नियालेका थिए । भने कर्मचारीहरूलाई प्रोत्साहित समेत गर्दै आएका थिए । उक्त कार्य गर्दा आइपर्ने समस्याहरू समाधान गर्न तल्लीन भएका थिए ।

यसका लागि कर्मचारीको व्यवस्थापन तथा कार्यविधिमा समेत समस्या देखिएको थियो । कर्मचारीको व्यवस्थापनको हकमा विद्यमान रहेका कर्मचारीहरूलाई तीन सिफ्टमा काम गर्ने जिम्मेवारी तोकिएको कार्यालय प्रमुख नेपालले बताए ।

त्यस्तै ‘वैदेशिक रोजगार व्यवस्थापन सेवा प्रवाह कार्यविधि, २०७९’ पनि संशोधन गरिएको हो । संशोधन गरेसँगै एउटै व्यक्तिले रूजु गर्ने र श्रम स्वीकृतिको निर्णय गर्ने व्यवस्था गरिएको हो ।

baideshik-sharam (5)

यसअघि दुई तहमा मात्रै श्रम श्रम स्वीकृतिको कार्य हुँदै आएको थियो । अबदेखि रूजु गर्नेलाई नै एप्रभुलको अनुमति दिने व्यवस्था समेत गरिएको कार्यालय प्रमुख नेपालले बताए ।

‘हामीले केही बेसिकल्ली चेन्ज गर्‍यो । १० जना अफिसर छन् । ती मध्ये ७ जनाले व्यक्तिगत श्रम स्वीकृति र ३ जना संस्थागत श्रम स्वीकृतिमा थिए । अहिले पुनः श्रम स्वीकृतिको हकमा भेरिभाई गर्नेलाई नै एप्रभुलको अनुमति दिइएको छ’ प्रमुख नेपालले भने ।

श्रम स्वीकृति प्रदान गर्ने क्रममा भिसा, कन्ट्«याक्ट पेपर, पासपोर्ट आदी हेरेर एप्रभुल गर्ने गरिएको उनको भनाइ छ ।

अहिले कार्यालयमै रहेका कर्मचारीहरूलाई व्यवस्थापन गरेर श्रम स्वीकृतिको काम अघि बढेको बताए ।

‘पहिला दुई लेयरमा काम हुने गरेको थियो । पहिला सुब्बाले भेरिफाई गर्ने, अफिसरले एप्रुभ गर्ने थियो । जसले गर्दा अलिकति बढी समय लाग्ने गरेको थियो,’ कार्यालय प्रमुख नेपालले भने, ‘सिंगल लेयरमा काम गर्नुपर्छ भनेपछि मन्त्रीज्यूलाई पनि त्यही आधारमा कुरा गरेपछि कार्यविधि संशोधन गरियो ।’   

कार्यविधि संशोधन गर्नुका साथै अनलाइन प्रणालीमा समेत केही सुधार गरिएको उनको भनाइ छ । ‘कम्प्युटरको -याम बढाउने, डेलिकेडेड टिमलाई पनि २४ घण्टा नै अलर्टमा राखेर काम गर्ने जस्ता विषयमा पनि व्यवस्थापन गरिएको छ’ नेपालले भने ।

हरेक दिन बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म, दिउँसो २ बजेदेखि राति ९ बजेसम्म र राति ९ बजेदेखि बिहान ४ बजेसम्म गरी तीन सिफ्ट कायम गरेर श्रम स्वीकृति दिन थालेको हो ।

कम्प्युटरहरुमा ¥याम र एसएसडीको क्षमता बढाएर सहज रूपमा बिहान १० बजेदेखि नै दिने टोकन समेत प्रदान गर्न लागिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

baideshik-sharam (3)

स्थायित्वको चिन्ता

यसअघि पनि एक पटक एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्ने भन्ने थियो । तर, त्यो सुरु नहुँदै बन्द भयो । अहिले पनि आइतबारदेखि नै एक घण्टामै श्रम स्वीकृति दिन थालिएको छ । श्रम मन्त्रालयका अनुसार एक हप्ता ट्रालय पिरियड राखिएको छ । एक हप्ताको अवस्था हेरेर मन्त्रालयले यसलाई औपचारिक रूपमा घोषणा गर्ने तयारी गरेको छ । एक हप्ताको बिचमा काम गर्दा के कस्ता समस्या आउँछन् ? ती समस्या हेरेर तिनको समाधान गरेर दीर्घकालसम्मकै लागि व्यवस्थित गर्न लागिएको मन्त्रालयले जनाएको छ ।

विगतमा देखिएका समस्याहरूलाई समाधान गर्दै मन्त्रालयले समस्या आउनेविक्तिकै समाधानतर्फ अग्रसर हुने देखिएको छ ।

श्रम मन्त्रालयका प्रवक्ता गोविन्द प्रसाद रिजालले मन्त्रीको निर्देशनकै आधारमा काम भइरहेको बताए ।

‘मन्त्रीज्यूले अनुगमन गरेपछि दिनुभएको निर्देशन कार्यान्वयन गरिरहेका हौँ । तीन सिफ्टमा काम भइरहेको छ । त्यसको रिजल्ट एकदमै पोजेटिभ भइरहेको छ । सेवाग्राहीले एकदमै दुख पाउने अवस्था अन्त्य भएको छ । अहिले एकदमै स्मुथले गइरहेको छ’ प्रवक्ता रिजालले भने ।

baideshik-sharam (4)

एउटा सिफ्टमा काम गर्दा धेरै पेण्डिङ हुने गरेको अवस्थामा हाल तीन सिफ्टमा काम गर्दा श्रम स्वीकृतिका लागि पेण्डिङ नबस्ने बताए ।

बेला बेला फेमिसमा समस्या आएर दुख दिइरहेको भन्दै तत्कालका लागि सप्लार्यस (भेण्डर) लाई नै राखेर काम गरिरहेको प्रवक्ता रिजालले बताए ।

दीर्घकालीन समस्या समाधानका लागि आगामी वर्षको बजेटमार्फत नै बजेट माग गरिएको बताए ।

‘फेमिसको सफ्टवेयरमा सुधार गर्न बजेट छुट्याउँछौं । जनशक्ति थप्नुपर्ने भयो भने त्योबारे पनि सोचिरहेका छौँ । कर्मचारीहरूलाई केही प्रोत्सान दिनुपर्ने अवस्था पनि आउन सक्छ । अहिले भएकै जनशक्तिको आधारमा काम गरिरहेका छौँ । काम गर्ने क्रममा के के अप्ठ्याराहरू आउँछन् । ती अप्ठ्याराहरू फुकाउने हो’ उनले भने ।

हाल वैदेशिक रोजगार कार्यालय ताहाचलमा ५७ जना कर्मचारीले काम गरिरहेका छन् । आगामी आर्थिक वर्षको बजेटमार्फत सफ्टवेयरका लागि बजेट विनियोजित गरिने र त्यही आधारमा सुधार गरेर दीर्घकालीन समाधान गरिने उनको भनाइ छ । 

baideshik-sharam (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी
लेखकबाट थप