बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बागमतीमा विश्वासको मत

संसद्को परिस्थिति अनुसार राप्रपाले विश्वासको मतबारे निर्णय गर्ने

सोमबार, १९ चैत २०८०, ०९ : ०८
सोमबार, १९ चैत २०८०

मकवानपुर । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धमा राप्रपाले संसद्को परिस्थिति अनुसार निर्णय गर्ने भएको छ । राप्रपा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाका अनुसार मुख्यमन्त्रीको विश्वासको मत सम्बन्धमा हालसम्म ठोस निर्णय भएको छैन ।

संसद्‍मा उत्पन्न परिस्थिति अनुसार आवश्यक निर्णय गर्ने उनले बताए । राप्रपा सत्तामा रहनेभन्दा पनि नागरिकको आवश्यकताका विषयमा गम्भीर भएर आन्दोलनमा जाने तयारीमा रहेको नेता थापाको भनाई छ । सत्तापक्षमा रहने, मन्त्री लिने र सरकारमा जाने मुडमा राप्रपा नरहेको उनले बताए । राप्रपा ४० बुँदे मागसहित नागरिकको सेवा र आवश्यकताका आधारमा आन्दोलन गर्ने तयारी गरिरहेको उनको भनाई छ ।

‘हामी आन्दोलनमा तयारीमा छौँ । मुख्यमन्त्रीको विश्वासको मत बारे अहिले नै यसै गर्ने भन्ने निर्णय गरेका छैनौँ । संसद्‍मा उत्पन्न परिस्थिति अनुसार निर्णय गर्न सक्छौ । ४० बुँदे मागसहित नागरिकको हितका लागि आन्दोलनमा जाने हाम्रो योजना छ । हाम्रो मागका सन्दर्भमा सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । त्यसैले यसै हो भन्ने अवस्था रहेन । सपोर्टमा नै निर्णय गर्न सक्छौँ,’ उनले भने ।

नेता थापाले सङ्घीय सरकार र प्रदेश सरकारको पोजिसन फरक हुन सक्ने पार्टीको निर्देशन प्राप्त भए पनि अहिले कै अवस्थामा विश्वासको मत दिने सोच राप्रपाको नरहेको बताए । केन्द्रमा राप्रपाले उठाएका मागका विषयमा सम्बोधन गर्ने वा सहमतिका लागि ठोस निर्णय भएको खण्डमा राप्रपाले विश्वासको मतको पक्षमा रहन सक्ने उनले बताए । केन्द्रबाट निर्देशित निर्णय अनुसार राप्रपाले संसद्मा आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

‘हामी राजनीतिक अस्थिरता बनाउन चाहँदैनौ । अङ्क गणितले मुख्यमन्त्री बहुमतमा हुनुहुन्छ । त्यहाँ हाम्रो आवश्यकता छैन । संसद्को अङ्क गणितले पनि राप्रपालाई निर्णायक भूमिका दिएको छैन । मुख्यमन्त्रीलाई सरकार टिकाउन आवश्यक बहुमतका लागि निर्णायक भूमिकामा अन्य दल रहेका छन् । तर, विकसित राजनीतिक परिस्थितिमा केही असहज परिस्थिति बने वा विश्वासको मत पाउन नसक्ने, राजनीतिक अस्थिरता हुने अवस्था देखिएमा हामीले निकास दिनु पर्छ भन्नेमा छौँ । मुख्यमन्त्रीले हामीसँग केही कमिट्मेन्ट गरे वा विश्वासको मत दिन केही प्रस्तावहरू गरेमा सो विषयहरू केन्द्रसम्म सिफारिस गरेर पर्‍याउन भूमिका खेल्ने छौँ । केन्द्रमा केही सहमति बनेमा भने मुख्यमन्त्रीलाई विश्वासको मत दिन सक्छौँ,’ नेता थापाले भने ।

मुख्यमन्त्रीले अहिलेको सरकारलाई सहयोग गर्न र विश्वासको मत दिन प्रस्ताव पठाएको नेता थापाले बताए । सत्तापक्षको धर्म निर्वाह गरेर मुख्यमन्त्रीले सो प्रस्ताव पठाएको र सो विषयमा पार्टीले कुनै निर्णय नगरेको उनले बताए । अहिलेको स्थितिमा राप्रपा आफ्ना मागमा अडिग रहेको र केही फेरबदल वा संसद्मा असहज अवस्था बनेमा निकास दिने उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप