शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विश्वासको मतका लागि पत्र दर्ता गर्दैमा सबै अध्याय समाप्त भए भन्ने अर्थमा बुझ्नु हुँदैन : यामलाल कँडेल

सोमबार, १९ चैत २०८०, १२ : ०५
सोमबार, १९ चैत २०८०

सुर्खेत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले मङ्गलबार संसदबाट विश्वासको मत लिँदैछन् । तर, कर्णालीको नेतृत्वको टुङ्गो भने लागिसकेको छैन । अहिले माओवादीका शर्माले आफ्नै नेतृत्वको सरकारको निरन्तरता हुनुपर्ने दाबी गरिरहेका छन् भने एमालेले नेतृत्वका लागि निरन्तर दबाब बढाइरहेको छ ।

प्रदेश सरकार बने यता निरन्तर माओवादी सरकारमा हुँदा पनि खासै राम्रो काम गर्न नसकेको, बहुमत हुँदा पनि आफूले नेतृत्व नपाएको लगायतका कारण देखाउँदै एमालेले यो पटक जसरी पनि नेतृत्व पाउनुपर्ने अडान लिएको छ । केन्द्रमा पनि यो विषय निकै पेचिलो बनिरहेको छ ।

यसै सन्दर्भमा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेलसँग रातोपाटीले छोटो कुराकानी गरेको छ । प्रस्तुत छ, कँडेलसँगको अन्तवार्ताको सम्पादित अंश :

  • कर्णाली प्रदेश सरकारको नेतृत्वको बारेमा यतिबेला चरम विवाद छ, नेकपा एमालेले के गर्दै छ ?

पछिल्लो समय फेरिएको राष्ट्रिय राजनीतिको प्रभाव प्रदेश सरकारमा पनि पर्नु स्वाभाविकै हो । केन्द्रमा पछिल्लो गठन अनुसारका दलहरू सरकारमा सामेल भए पनि प्रदेशमा यसले आकार लिइसकेको छैन । सम्भवतः एकदुई दिनभित्र यसले आकार लिइसक्ने छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्रीले माओवादीकै नेतृत्वले निरन्तरता पाउने बताउनु भएको छ, एमालेले आफ्नो दाबी गरिरहेको छ । वास्तविक कुरा के हो ?

पछिल्लो गठबन्धनमा कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्ने दलहरूका शीर्ष नेतृत्वबिच सहमति भएजस्तो मलाई लाग्दछ । त्यसको जानकारी माओवादी केन्द्रका नेताहरूलाई औपचारिक र अनौपचारिक रुपमा थाहा भएको हुनुपर्दछ । हामी पार्टी नेतृत्वबिच हुने सहमतिमा बाँधिएका छौँ । माथि हुने निर्णयलाई स्वाभाविक मानेर जानुको विकल्प म देख्दिनँ ।

  • वर्तमान मुख्यमन्त्रीले विश्वासको मतका लागि प्रदेश सभामा पत्र दर्ता गराउनु भएको छ । तपाईंहरुसँग छलफल भएर हो ?

संविधानतः सरकारमा सहभागी दलले सरकार छाडेको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । यो नियमित प्रक्रिया हो । तर राजनीतिक फेरबदलसँगै दलहरूबिचको कस्तो सहमति बन्छ भन्ने पनि हेक्का राख्नुपर्ने हुन्छ । विश्वासको मतको सन्दर्भमा हाम्रो पार्टीसंँग मुख्यमन्त्रीले छलफल गर्नुभएको छैन । तर विश्वासको मतको लागि प्रदेश सभामा पत्र दर्ता गर्दैमा सबै अध्याय समाप्त भए भन्ने अर्थमा बुझ्नु हुँदैन ।

  • प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मत लिने अवस्था बन्यो भने एमालेले के गर्छ ?

पछिल्लो समय राजनीतिक घटनाक्रम जसरी सकारात्मक रुपमा अगाडि बढिरहेको छ । माओवादी केन्द्रका नेताहरू यसलाई प्रतिकूल हुने गरी निर्णय गर्नु हुन्न भन्ने मलाई विश्वास छ । अहिलेको आवश्यकता पनि त्यही हो । कर्णाली प्रदेशका मुख्यमन्त्री पार्टीको केन्द्रीय तहमा भएको सहमति भन्दा बाहिर जानु हुँदैन भन्नेमा मलाई पूर्ण विश्वास छ । त्यसो हुँदा एमाले र माओवादी केन्द्रबिच प्रदेश सरकार गठनका सन्दर्भमा एउटै निष्कर्ष हुन्छ । विश्वासको मत लिनु अघि नै हामी सहमतिमा पुग्छौँ ।

  • एमाले र माओवादीबिच हानथाप चलिरहँदा नेपाली कांग्रेसले माओवादी केन्द्रलाई सघाउने चर्चा सुरु भएको छ । यस्तो अवस्थामा एमालेले कस्तो रणनीति लिन्छ ?

नेकपा एमाले र माओवादी केन्द्र लगायतका दलहरूको गठबन्धनले केन्द्र सरकार सञ्चालन गरिरहेको छ । प्रदेशमा पनि केन्द्रकै गठबन्धन अनुसार सरकार बन्छ । कांग्रेसले सरकार छाडेको एक महिना भएको छैन । सरकार बनाउने सन्दर्भमा माओवादी केन्द्रका नेताहरू कांग्रेसको साथ खोज्न जानु हुँदैन भन्ने मलाई विश्वास छ । हामी माओवादी केन्द्रसँगै रहन्छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप