मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

अवैधरुपमा भारतीय कुखुरा भित्रिँदा नेपाली व्यवसायी मारमा

सोमबार, १९ चैत २०८०, १३ : ४३
सोमबार, १९ चैत २०८०

बाँके । भारतबाट अवैधरुपमा कुखुराको तस्करी हुँदा यहाँका व्यवसायी पीडित भएका छन् । यहाँस्थित नेपाल–भारत मुख्य नाका जमुनाहबाट सुरक्षाकर्मीले आयात हुन नदिए पनि अवैधरुपमा भित्रि बाटो प्रयोग गरी भारतीय कुखुरा, चल्ला तथा अण्डा आयात हुने गरेको व्यवसायीले गुनासो गरेका छन् । 

कुखुरा व्यवसायी सङ्घ बाँकेका पूर्वअध्यक्ष लालबहादुर खत्रीले नेपाली बजारको तुलनामा भारतमा कुखुराको मूल्य कम हुने भएकाले बढी नाफा कमाउन व्यापारीले चोरीको बाटो प्रयोग गर्दै आएको बताए । उनका अनुसार नेपालगञ्ज, खजुरा र कोहलपुरका मुख्य स्थानमा भारतबाट अवैधरुपमा आयात भएका कुखुरा र माछा बिक्रीवितरण हुँदै आएका छन् । 

रातिको समयमा माछा, मासु तस्करी गर्ने सक्रिय हुने भएकाले बिहानसम्म पसलपसलमा भारतीय कुखुरा र माछा पुग्ने गरेको खत्रीको भनाइ छ । सबैभन्दा बढी जानकी गाउँपालिका–१ साइगाउँ र खजुरा गाउँपालिका–१ राधापुर क्षेत्रबाट ठूलो परिमाणमा अवैधरुपमा मासुजन्य सामग्रीको तस्करी हुने गरेको उनले बताए । 

अवैधरुपमा भित्र्याइएका कुुखुरालाई नेपाली उत्पादन भन्दै मासु व्यवसायीले नेपालगञ्ज, कोहलपुर र विमानमार्फत कर्णाली प्रदेशको जुम्ला, डोल्पालगायत जिल्लामा पु¥याउने गरेका खजुरा–२ सीतापुका कुखुरापालन गर्दै आएका लक्ष्मीबहादुर थापाले बताए । 

ग्रामीण क्षेत्रका नाका प्रयोग गरी दैनिकरुपमा ठूलोमात्रामा भारतीय कुखुरा नेपाल आउनेक्रम बढेको भन्दै अहिले आफ्नो व्यवसाय नै सङ्कटमा पर्ने खतरा बढेको उनले बताए । बाँके र बर्दियाका विभिन्न भित्री नाकाबाट मासुजन्य सामग्री तथा कुखुरा तस्करी हुने गरेकाले नेपाली किसान समस्यामा परेका उनको भनाइ छ ।

खुला सिमानाका कारण भारतीय कुखुरा अवैधरूपमा भित्रिँदा आफूहरूकोे व्यवसाय नै सङ्कटमा परेको नेपालगञ्ज–२३ मा रहेको कादरी पोल्ट्री फार्मका सञ्चालक एवं कुखुरा व्यवसायी सङ्घका सदस्य अहमद हुसैन खानले बताए । 

भारतमा विभिन्न समयमा फैलिएको बर्डफ्लूलगायत पन्छीजन्य रोग भित्रिने जोखिम भएकाले सरकारले भारतीय कुखुराजन्य सामग्री आयातमा प्रतिबन्ध लगाएको छ । 

भारतमा कुखुराजन्य सामग्रीको मूल्य नेपालमाभन्दा सस्तो हुने भएकाले बढी नाफाका लागि मासु व्यवसायीले भारतीय कुखुराजन्य सामग्री बिक्रीवितरण गर्ने गरेका कुखुरापालक किसान बताउँछन् । भारतबाट अवैधरुपमा भित्रिएको ठूलो परिमाणका कुखुरा सीमासुरक्षामा खटिएको सशस्त्र प्रहरीले पक्राउ गर्दै आए पनि तस्करी नरोकिएको उनीहरुको भनाइ छ । 

चालु आर्थिक वर्षको आठ महिनामा अवैधरुपमा नेपाल भित्रिएको रू ५० लाख ३९ हजार चार सय ५० बराबरको कुखुराको मासु र अण्डा सीमा क्षेत्रबाट बरामद गरिएको सशस्त्र प्रहरी बल नं ३० बागेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगीले जानकारी दिए ।  

उनका अनुसार चालु आवको फागुन मसान्तसम्म रू २५ लाख ४२ हजार मूल्य पर्नेछ हजार तीन सय सय ५६ किलो कुखुरा, रू छ लाख ४३ हजार तीन सयको एक हजार छ सय किलो कुखुराको मासु, रू १८ लाख ५२ हजार मूल्यपर्ने २३ हजार एक सय ५० वटा चल्ला र रू एक हजार चार सय पर्ने चार क्यारेट अण्डा बरामद गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप