सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

६२ भारु यूबर मगाउँदा ७.६६ करोडको बिल आएपछि

सोमबार, १९ चैत २०८०, १७ : ०८
सोमबार, १९ चैत २०८०

नयाँ दिल्ली । भारतको नोएडामा एक जना यूबर प्रयोगकर्ता यूबरको बिल देखेर अक्क न बक्क भए । दीपक तेन्गुरिया यूबरबाट अन्त कतै गएका थिएनन् । सधैं हिडिरहने बाटोका लागि उनले यूबर बुक गरेका थिए । यो बाटोमा यूबरमा हिँड्दा उनले ६२ भारु मात्रै तिरे पुग्थ्यो । बिलमा ६२ भारु नै आउने आशा उनले गरेका थिए । तर गन्तव्यमा पुगेर यूबरबाट उत्री नसक्दै उनको एपमा ७ करोड ६६ लाख भारुको बिल आयो ।

दीपकका एक जना साथीले यसबारे एक्स (ट्विटर)मा शुक्रबार पोस्ट गरेपछि यो घटना सार्वजनिक भएको हो । भिडियोमा दुईले दीपकको एपमा आएको करोडौँको बिलबारे कुराकानी गरिरहेका छन् । यो भिडियो अहिले भाइरल बनेको छ । यसमा दीपकले बिलमा उठेको रकम बारम्बार बताइरहेका छन् । तिम्रो बिल कति उठेको रे भनेर आशिषले सोधेको प्रश्नमा दीपकले ७ करोड ६६ लाख ८३ हजार ७६२ भारु भन्छन् ।

दीपकको मोबाइलको स्क्रिनमा टिप फेयर भनेर १ करोड ६७ लाख ७४ हजार ६४७ भारु देखाइएको छ । चालकले कुर्नु परेको भन्दै बिलमा अर्को ५ करोड ९९ लाख ९ हजार १८९ भारु थपिएको छ । प्रमोसन भन्दै उठेको बिलमा ७५ भारु छूट दिइएको छ । चालकले कुर्नै नपरेकोले बिलमा वेटिङ चार्ज त आउनै नपर्ने दीपकको भनाई छ । बिलमा जीएसटी लगाइएको थियो कि भनेर सोध्दा दीपकले तत्कालै थिएन भन्छन् ।

एक पटकमा आफूले यति धेरै अङ्क हिसाबै नगरेको दीपकले भनिरहेको सुनिन्छ । चन्द्रयान नै बुक गरेर गएको भएपनि यति पैसा उठ्दैनथ्यो भन्दै  आशिष दीपकलाई जिस्काउँछन् पनि । ६२ रुपयाँमा अटो बुक गर्दा करोडपति ऋणी बनेको भन्दै आशिषले एक्समा भिडियो पोस्ट गरेका छन् । यो पोस्ट भाइरल हुने बित्तिकै यूबर इन्डियाको ग्राहक टेवा विभागले माफी माग्दै यस मामिलाबारे छानबिन गर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप