मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
बागमती प्रदेश

नेताहरूमाथि उद्धव थापाको प्रहार– ‘पाँच वर्षमा कतिपटक विश्वासको मत लिनुहुन्छ ?’

सोमबार, १९ चैत २०८०, १७ : ४०
सोमबार, १९ चैत २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का बागमती प्रदेश सभाका संसदीय दलका नेता उद्धव थापाले एमाले र हाम्रो नेपाली पार्टीका नेताका चरित्रप्रति व्याङ्ग्य गरेका छन् । सोमबार बागमती प्रदेशको राजधानी हेटौँडामा मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले सभामा पेस गरेको विश्वासको मतको प्रस्तावमाथि छलफल गर्दै उनले नेताहरूमाथि व्यङ्ग्य गरेका हुन् । 

उनले केही समयअघि एमालेका अध्यक्ष केपी ओलीले माधव नेपालको नाम लिँदा मुख कुल्ला गर्नुपर्ने दिएको अभिव्यक्तिप्रति इङ्गित गर्दै थापाले व्यङ्ग्य प्रहार गरेका हुन् । यस्तै हाम्रो नेपाली पार्टीका संसदीय दलको नेताको चरित्रप्रति उनले कटाक्ष गरेका छन् । एक वर्षसम्म जम्मकट्टेल सरकारलाई विश्वासको मत दिएको हानेपाले गत हप्ता समर्थन फिर्ता लिएको थियो । तर तीन दिन नबित्दै मन्त्री नियुक्त भएकोमा थापाले प्रहार गरे । 

‘हिजोसम्म तथानाम भनेका नेताहरू आज सँगैसँगै मिलेको देख्छु । नाम लिँदा कुल्ला गर्छु भन्ने नेताहरू आज एकै ठाउँमा हुनुहुन्छ । यो प्रणालीको समस्या हो’, उनले व्यङ्ग गर्दै भने, ‘एक हप्तासम्म मत दिन्न भन्ने एक दिनमै मन्त्री बन्ने यो कस्तो अवस्था हो । यो प्रणालीको समस्या हो ।’

यस्तै उनले मुख्यमन्त्री जम्मकट्टेलले १६ महिनामा तेस्रोपटक विश्वासको मत लिएकोमा पनि कडा प्रहार गरेका छन् ।

‘निर्वाचनको बेला गठबन्धन बनाएर जानुभयो । पहिलो पटक ४ मतबाहेक सबै मत पाउनुभयो । मुख्यमन्त्रीले के गर्न खोज्नुभएको थाहा छैन । दोस्रोपटक ६७ मत पाउनुभयो । अहिले कति मत पाउनुहुन्छ हेर्नुपर्छ । २० वर्ष जान्छ भनेको गठबन्धन एक वर्ष पनि टिकेन । यसले कस्तो राजनीति सिर्जना गर्दै हुनुहुन्छ । विश्वासको मत पाँच वर्षसम्म कति पटक लिनुहुन्छ ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप