विषादीरहित उत्पादनका निम्ति किसानलाई अनुदान
इलाम । सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन् ।
“अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु, आवेदन दिएको थिएँ पालिकाले दियो । अब यसलाई सदुपयोग गरेर खेती विस्तारतिर लाग्छु”, लिम्बू भन्छन् । सोमबार सूर्योदय नगरपालिकाले एक सय छजना किसानलाई ‘मल्चिङ’ प्रविधिका लागि प्लास्टिक र एक सय २९ किसानलाई ‘प्लास्टिक टनेल’ वितरण गरेको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम ‘एक घर एक करेसाबारी’ नीतिअन्तर्गत ‘किसानसँग समृद्धि अभियान’ नाराका साथ ५० प्रतिशत अनुदानको कार्यक्रम भइरहेको नगरपालिकाका आर्थिक विकास समिति संयोजक देवेन्द्र आचार्यले बताए । किसानलाई प्राङ्गारिक खेतीतर्फ आकर्षित गराउन प्रविधि हस्तान्तरण गरिएको उनले बताए।
“चौधवटै वडाबाट प्राप्त अनुदानका आवेदनमा वडाले प्राथमिकता तोकेर पठाएका एक सय २९ जनालाई प्लास्टिक टनेल र एक सय छ जनालाई मल्चिङ प्रविधिका लागि प्लास्टिक वितरण गरेका छौँ, वडाहरूबाट पाँच सयभन्दा बढी किसानका लागि माग भए पनि हाम्रो अहिलेको बजेटले भ्याएअनुसार वितरण गरिएको छ”, संयोजक आचार्यले भने ।
तरकारीमा मोटो रकम बाहिर गइरहेको अवस्थालाई परिवर्तन गरेर यहीँ तरकारी उत्पादनमा किसानलाई प्रोत्साहन गर्न र आर्थिक विकास गर्ने उद्देश्य राखेर किसानलाई प्रविधिमा अनुदानका कार्यक्रम ल्याइएको आर्थिक विकास समितिका संयोजक आचार्यले बताए ।
“अकबरे खुर्सानीखेतीलाई प्राथमिकतामा राखेर प्लास्टिक वितरण गरेका हौँ । खुर्सानीखेती मल्चिङ गर्दा जमिनको तापक्रम कायम रहने र झार नपलाउने भएकाले किसानको समय बचत हुन्छ”, उनले भने, “सूर्योदयका अधिकांश किसानले अकबरेको व्यावसायिक खेती सुरु गरिसक्नुभएको छ ।”
नगरपालिकाले यहाँका व्यावसायिक किसानलाई ‘मिनीटिलर, काउम्याट, च्यापकटर’लगायत प्रविधि वितरण गरिरहेको छ । तीन सय थान चिया काट्ने हाते मेसिन वितरण धमाधम भइरहेको छ । सूर्योदयको चिया उत्पादनलाई गुणस्तरीय बनाउन पेट्रोल, डिजेलको साटो ब्याट्री र बिजुलीबाट सञ्चालन हुने ‘मेसिन’ किसानलाई वितरण गरिएको उनले बताए ।
“सूर्योदयका करिब ८० प्रतिशत किसान चियाखेतीमा आबद्ध भए पनि चिया टिपाइमा सुधार हुन नसक्दा अन्तर्राष्ट्रिय बजारमा यहाँको चियाले प्रतिस्पर्धा गर्न सकेको छैन । गुणस्तर वृद्धिका लागि किसानलाई अनुदानमा मेसिन दिइएको हो”, संयोजक आचार्यले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण