बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रदेश सरकार

नागरिक उन्मुक्तिको लफडाले मुख्यमन्त्री शाह सङ्कटमा

चैत्र २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था, आजै प्रदेश सभामा सूचना पठाउनुपर्ने
मङ्गलबार, २० चैत २०८०, १६ : ११
मङ्गलबार, २० चैत २०८०

धनगढी । विश्वासको मत लिनुपर्ने समय सीमा सकिनै लाग्दा पनि आफ्नो पक्षमा समर्थन जुट्न नसक्दा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह सङ्कटमा परेका छन् । नागरिक उन्मुक्ति पार्टी (नाउपा)प्रति आस गरेका मुख्यमन्त्री शाह उक्त आन्तरिक विवादको दलदलमा फसेपछि सङ्कटमा परेका हुन् । 

मुख्यमन्त्री शाहले चैत्र २२ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने कानुनी व्यवस्था छ । सुदूरपश्चिम प्रदेशको प्रदेश सभा नियमावली, २०७४ को नियम १४३ अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिन दुई दिनअगाडि नै सूचना प्रदेश सभा सचिवलाई दिनुपर्छ । 

मुख्यमन्त्री शाहले विश्वासको मत लिने हो भने आज २ बजेभित्र प्रदेश सभामा सूचना पठाइसक्नुपर्ने प्रावधान रहेकोको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए । अर्थात मुख्यमन्त्री पाण्डेले आज २ बजे अगावै विश्वासको मत लिने वा राजीनामा दिने निर्णय लिनुपर्नेछ ।

यसैबिच मुख्यमन्त्री शाह आफ्नो पक्षमा समर्थन जुटाउन गए राति काठमाडौँ प्रस्थान गरेका छन् । समय घर्किनै लाग्दा राजीनामा दिने कि, संसद् फेस गर्ने भन्ने दोधारमा रहेका मुख्यमन्त्री शाह त्यसबारे पार्टी सभापति शेरबहादुर देउवाको निर्देशन र सरकार सहयात्री दल नाउपासहितसँग आवश्यक छलफलको लागि काठमाडौँ प्रस्थान गरेका हुन् । उनले काठमाडौँमै रहेका नाउपा संरक्षक रेशमलाल चौधरीलाई पनि भेट्ने बताइएको छ ।

मुख्यमन्त्री शाहले नाउपाको समर्थन जुट्ने बित्तिकै आफूले विश्वासको मत पाउने बताएका थिए । तर नाउपाका ७ सांसद मध्ये मन्त्री भएका ५ जनाले मात्रै समर्थन दिने अवस्था देखिएको छ । नाउपाका पूर्व राज्यमन्त्री कैलाश चौधरी र टीका थापा नयाँ सत्ता समीकरण अनुसार जाने पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको लाइनमा छन् ।

यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् ।

फागुन २१ पछिको केन्द्रमा नयाँ सत्ता समीकरण बनेपछि मुख्यमन्त्री शाहलाई नाउपा, एक जना राप्रपा र एक जना स्वतन्त्र सांसदको साथ चाहिन्छ । तर राप्रपा र स्वतन्त्रले नाउपाले साथ दिएको अवस्थामा साथ दिने बचन दिएपछि शाहले नाउपाको समर्थन जुटाउन महिनौँदेखि प्रयासरत छन् । तर नाउपाको विवादले विश्वासको मत जुट्ने वातावरण नबनेपछि मुख्यमन्त्री शाह सङ्कटमा परेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप