शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
सरोकार

नर्समाथि बिरामीको भार, गुणस्तरीय सेवा दिन असमर्थ

स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक, दरबन्दी खुलाउन पहल भएन
मङ्गलबार, २० चैत २०८०, १२ : १९
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । नेपाली नर्सले गुणस्तरीय सेवा दिन सकिरहेका छैनन् । कार्यभार बढेकाले आफूले प्रवाह गर्नुपर्ने सेवाको गुणस्तर प्रभावित हुन पुगेको नर्सहरूनै बताउँछन् ।

वीर अस्पतालको न्यूरो ओपीडीमा कार्यरत नर्स सविता दाहालले कार्यभार बढी भएर आफूले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकेको गुनासो गरिन् । आफूले मात्रै ३१ बिरामी हेर्नु परेको उनको भनाइ छ ।

यस्तो अवस्थामा बिरामीको अवस्थालाई हेरेर आफूहरूले समय र ड्युटी व्यवस्थापन गर्नुपरेको उनले बताइन् । ‘मेरो बिरामीलाई नर्सले राम्ररी हेरिदियोस् भन्ने सबै बिरामीका कुरुवाको चाहना हुन्छ,’ उनले भनिन्, ‘तर त्यो सबै पूरा गर्न हामीसँग मेनपावर छैन, बिरामीको अवस्था हेरेर समय दिनुपर्ने हुन्छ ।’

दाहालले नयाँ–नयाँ रोग देखा परेर बिरामीको चाप बढे पनि  बिरामी अनुसार नर्सको उपलब्धता हुन नसकेको सुनाइन् । ‘नेपालमा बिरामीको अनुपातमा नर्सको दरबन्दी दशकौँदेखि बढ्न सकेको छैन,’ उनले भनिन्, ‘सरकारको आर्थिक पक्ष छँदै छ । नर्स पढेर पनि दरबन्दी नहुँदा जागिर नै पाउँदैनन्, नर्सिङ पढाइ महँगो छ, यहाँको कामले पढाइ खर्च उठाउन धौधौ छ ।’ नर्सिङ पढेका जनशक्ति वैदेशिक रोजगारीमा जाने क्रम बढेको समेत उनले सुनाइन् ।

सरकारी सेवामा आवद्ध नर्सहरूको संघकी उपाध्यक्ष रमिला चौलागाईंले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नेपालमा नर्स–बिरामीको अनुपात मिल्न नसकेको बताइन् । ‘नेपालमा ०३२ सालदेखि दरबन्दी यथास्थितिमा छ, त्यो बेलाको सङ्ख्या र हालको सङ्ख्यामा धेरै फरक भएको छ ।’

मापदण्ड अनुसार व्यवस्था गर्ने हो भने नर्स र बिरामीको रेसियो जनरल वार्डमा १ः६, आईसीयुमा १ः१, ओटीमा १ः१ हुनुपर्ने उनले बताइन् । तर हाल एक जना नर्सले ३०/३५ जना बिरामी हेर्नुपर्ने बाध्यता रहेको बताउँदै उनले यो अवस्थाले गर्दा गुणस्तरीय सेवा प्रवाह हुन नसकेको प्रस्ट पारिन् ।

नेपाल नर्सिङ परिषद्की रजिष्ट्रार शुक्ला खनालका अनुसार वैदेशिक रोजगारीमा जाने र सरकारले कममात्र दरबन्दी खुलाएकाले नर्सलाई कामको भार परेको हो । ‘पछिल्लो समय नर्सिङ जनशक्ति वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ,’ उनले भनिन्, ‘यहाँ भन्दा पारिश्रमिक बढी पाइने भएकाले वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेको छ ।’

  • कति जनाले लिए भेरिफिकेशन लेटर ?

नेपाल नर्सिङ परिषद्मा दर्ता नर्सको सङ्ख्या ८२ हजार ४७१ छ । तीमध्ये २०५९ साल यता ४१ हजार ३२४ जनाले भेरिफिकेशन लेटर लिइसकेका छन् । तर सो लेटर लिने सबै वैदेशिक रोजगारमा नजाने नेपाल नर्सिङ परिषद्की सूचना अधिकारी रेखा गिरीले बताइन् ।

‘भेरिफिकेशन लेटर लिने सबै वैदेशिक रोजगारमा जान्छन् भन्ने हुँदैन,’ उनले भनिन्, ‘तर अधिकांशले बाहिर जानकै लागि भेरिफिकेशन लेटर बनाउने गरेको पाइएको छ ।’

अमेरिका, अस्ट्रेलियाका, दुबई, डेनमार्क, क्यानडा, हङकङ, कतार लगायतका लागि भेरिफिकेशन लेटर लिनेको सङ्ख्या उल्लेख्य रहेको परिषद्ले जनाएको छ । परिषद्को पछिल्लो तथ्याङ्क अनुसार पछिल्लो वर्ष ६ हजार १६३ जनाले भेरिफिकेशन लेटर लिएका छन् । 

यस्तै, २०७९ मा ६ हजार ६०८ जनाले परिषद्बाट यस्तो लेटर लिएका छन् । २०७८ मा ५ हजार ४९३ भेरिफिकेशन लेटर लिएका थिए । २०७७ मा ३ हजार ३२० जनाले भेरिफिकेशन लेटर लिएको परिषद्ले जनाएको छ ।

  • के भन्छ सरोकार निकाय ?

देशभर स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति आवश्यक देखिए पनि दरबन्दी खुलाउन पहल हुन सकेको छैन । सङ्घीयता कार्यान्वयन हुनुअघि देशमा जम्माजम्मी ३१ हजार ६५० जना स्वास्थ्यकर्मीको दरबन्दी थियो । त्यसमा पनि अहिलेसम्म कतिपय स्वास्थ्यकर्मीले अवकाश पाइसकेका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप्दा सरकारलाई आर्थिक भार पनि स्वाभाविक रूपमा थपिने बताए । ‘सरोकारवाला निकायसँग छलफल गर्दा तत्काल कुनै पदपूर्ति गर्न नसक्ने भन्छन्,’ उनले भने, ‘हामीले राज्यलाई भार नपर्ने गरी ३० देखि ३२ हजार पदपूर्तिका लागि पहल गरेका थियौँ, तर अहिले नयाँ मन्त्री आएसँगै सो कार्य रोकिएको छ, त्यो विषयमा जानकारी गराउनुपर्ने छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप