सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पसिनामा गन्ध हुँदैन, तर पनि कहाँबाट आउँछ दुर्गन्ध ?

बुधबार, २१ चैत २०८०, ०९ : ०९
बुधबार, २१ चैत २०८०

काठमाडौँ । गर्मीका दिनहरू सुरु भएको छ । अरूको मात्रै होइन आफ्नै शरीरबाट आउने पसिनाको दुर्गन्धले पनि दिक्क हुने दिनहरू सुरु भए । पसिनाका कारण शरीरबाट आउने दुर्गन्ध लुकाउन अनेकौँ खालका बडी स्प्रे र परफ्युमको प्रयोग गर्नु पर्ने हुन्छ । गर्मी मौसममा हाम्रो ज्यानमा धेरै पसिना आउँछ । कसै–कसैको ज्यानबाट त असह्य दुर्गन्ध आउँछ । तर हाम्रो पसिनामा कुनै प्रकारको दुर्गन्ध वा सुगन्ध हुँदैन । हो तपाईँले सही सुन्न भयो । हाम्रो पसिनामा कुनै किसिमको दुर्गन्ध आउँदैन । तर पनि पसिनाका कारण हाम्रो जिउ गन्हाउँछ । पसिनाको कुनै गन्ध नहुने भए दुर्गन्ध किन आउँछ त ?

हार्वर्ड हेल्थ रिपोर्टका अनुसार हाम्रो शरीरमा एक्राइन र एपोक्राइन नामक दुईवटा ग्रन्थिका कारण पसिना आउँछ । जब हाम्रो शरीर तातो हुन्छ, यी ग्रन्थिहरूले छालामा तरल पदार्थ निकाल्छन् । यसलाई नै पसिना भनिन्छ । शरीरको तापक्रम कायम राख्न पसिना निस्कनु अति जरुरी  पनि छ । यी ग्रन्थि हाम्रो शरीरभरि नै हुन्छ । त्यसैले शरीरको हरेक अङ्गबाट पसिना आउन थाल्छ । पसिनामा गन्ध आउँदैन । तर शरीरमा रहेका ब्याक्टेरिया एपोक्राइन ग्रन्थिबाट निस्कने पसिनासँग सम्पर्कमा आउँछन्, तब पसिनाबाट गन्ध आउन थाल्छ । अर्थात् शरीरमा रहेका ब्याक्टेरिया पसिनामा दुर्गन्ध आउनुको कारण हुन् ।

कसैको पसिनाको दुर्गन्ध निकै धेरै हुन्छ भने कसैको कम । यस्तो किन हुन्छ त ? सामान्यभन्दा बढी पसिना आउनु भनेको हाइपरहाइड्रोसिसको सङ्केत हुन सक्छ । यस्तो स्थिति बिना कारण उत्पन्न हुन सक्छ । तर उपचार गर्न सकिन्छ । यो अवस्थाका कारण धेरैलाई अत्यधिक पसिना आउँछ र उनीहरूको पसिनाबाट दुर्गन्ध आउने हुन सक्छ । कुनै प्रकारको सङ्क्रमण, हाइपर थाइराइडिज्म, तनाव, केही औषधि र मदिरा सेवनका कारण पनि सामान्यभन्दा बढी पसिना आइरहेको हुन सक्छ ।

केही खानेकुरा र पेय पदार्थहरूले हाम्रो शरीरको गन्धलाई पनि प्रभावित बनाउँछन् । ब्रोकाउली, बन्दागोभी र फूलगोभी जस्ता क्रुसिफेरस तरकारीहरूले ग्यास उत्पादन गर्दछ । यसको सेवनबाट पनि शरीरमा दुर्गन्ध आउन सक्छ । खाएको लसुन र प्याज टुक्रिएपछि सल्फर जस्ता यौगिकहरू निस्कन्छन् । यी यौगिकहरु छालामा भएका छिद्रबाट बाहिर निस्कन्छन् । जसका कारण तपाईँको पसिनाबाट दुर्गन्ध आएको हुन सक्छ । यसको अलावा माछा र अन्य समुद्री खानाको सेवनले पनि शरीरबाट दुर्गन्ध आउन सक्छ ।

पसिनाको दुर्गन्धबाट कसरी पाउने छुटकारा ?

यस्तो समस्याबाट बच्न दैनिक रूपमा साबुन पानीले नुहाउनुपर्छ । नुहाउँदा सुगन्धित साबुन प्रयोग गर्न सकिन्छ । काखी र अन्य हिस्सामा भएका रौंहरु खौरिउर पनि पसिनाको दुर्गन्ध कम गर्न सकिन्छ । केही डिओडोरेन्टले केही घण्टाको लागि शरीरको गन्धलाई रोक्न मद्दत गर्छन् । जिम वा अत्यधिक पसिना आउने खालका अन्य शारीरिक गतिविधि वा परिश्रमपछि नुहाएर पनि पसिनाको दुर्गन्धबाट धेरै हदसम्म राहत पाउन सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप