बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
वीरगञ्ज अनलाइन ठगी प्रकरण

भाषागत समस्याले अनुसन्धान प्रक्रिया प्रभावित, ‘फरेन्सिक एक्सपर्ट’ बोलाउने तयारी

बिहीबार, २२ चैत २०८०, १६ : ०३
बिहीबार, २२ चैत २०८०

वीरगञ्ज । चैत १७ मा वीरगञ्जबाट अनलाइन ठगीको आरोपमा पक्राउ परेका चिनियाँ नागरिकको अनुसन्धान प्रक्रिया अगाडि बढ्न सकेको छैन । पक्राउ परेको ६ दिन भइसक्दा पनि प्रहरीले चिनियाँ अभियुक्तहरूले गरेको अपराधबारे निष्कर्ष निकाल्न नसकेको प्रहरीले जानकारी दिएको छ ।

भाषागत समस्याका कारण पक्राउ परेका चिनियाँ नागरिकमाथिको अनुसन्धान प्रक्रिया प्रभावित बन्दै गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्सा प्रहरीका प्रवक्ता कुमारविक्रम थापाका अनुसार पक्राउ परेका चिनियाँ अभियुक्तहरूसँग मूलतः भाषागत समस्या देखिएकाले अनुसन्धानमा समस्या आएको हो ।

उनले भने, ‘चिनियाँ अभियुक्तहरू चाइनिज भाषामात्र बोल्छन्, उनीहरूको मोबाइल फोनमा पनि सबै चाइनिज भाषामै सेटिङ छ । कतिपय च्याटिङमा एक कोड भाषामा गरिएका छन्, जुन हामीलाई बुझ्नै गाह्रो भइरहेको छ । त्यसकारण अनुसन्धान प्रक्रियामा थोरै समस्या आएको हो ।’

चिनियाँ नागरिकहरूको केही थान मोबाइलको ‘लक’ खोल्नेबाहेक अन्य पाटोमा खासै उपलब्धि नभएको प्रहरीको भनाइ छ ।

  • के कारणले अनुसन्धान प्रभावित ?

पक्राउ परेका चिनियाँ अभियुक्तहरूको अहिलेसम्म कागजात, भिसा, पासपोर्टसहितका बरामद विद्युतीय सामग्रीको प्रारम्भिक जाँचमात्रै भएको छ ।

प्रहरी स्रोतका अनुसार चिनियाँ नागरिकहरूसँगको अनुसन्धान प्रक्रिया मुख्य तीन कारणले प्रभावित बनेको छ । मुख्यतः जिल्ला प्रहरी कार्यालयसँग दक्ष अनुसन्धान अधिकृतको अभाव, भाषागत समस्या, प्रविधिबारे जानकारको कमीका कारण पक्राउ परेका चिनियाँ नागरिकहरूको अनुसन्धान प्रभावित बन्दै गएको हो ।

उपत्यकापछि पहिलोपटक अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगञ्जबाट पक्राउ गरिएको तर जिल्लामा त्यस स्तरको दक्ष अनुसन्धान अधिकृत नभएकाले चिनियाँहरूको सवालमा कठिनाइ आएको प्रहरी प्रवक्ता थापा बताउँछन् ।

प्रहरी प्रवक्ता थापाले भने, ‘उनीहरूसँग उच्चस्तरीय प्रविधि छ, सबै चाइनिज भाषामै लेखिएका छन् । तर हामीसँग त्यो तहको दक्ष अनुसन्धान अधिकृत छैनन्, न त प्रविधिबारे जानकार नै छन् । त्यसैले अनुसन्धानमा कठिनाइ आइरहेको छ ।’

  • फरेन्सिक एक्सपर्ट बोलाउने तयारी

चिनियाँ अभियुक्तहरूको अनुसन्धान प्रक्रियामा चुनौती आएपछि पर्सा प्रहरीले केन्द्रबाट मद्दत लिने योजना बनाएको छ । त्यसका लागि प्रहरी मुख्यालयसँग समन्वय गरेर फरेन्सिक एक्सपर्ट बोलाउने तयारी गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रहरीले अनलाइनमार्फत ठगी धन्दा चलाएको आरोपमा वीरगञ्जबाट ३ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । प्रहरीले चिनको हुनान सहरका ३३ वर्षका लिउ गुइ कै, हुबेई का २६ वर्षीय वाङ बोहन र सोही ठाउँका ३६ वर्षका छियाङ छियावलाई पक्राउ गरेको हो ।

तीनै जना पर्यटक भिसामा नेपाल आएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यसमध्ये २ जना २ महिना अगाडि अर्थात् फेब्रुअरीमा नेपाल आएको देखिन्छ भने छियाङ करिब डेढ वर्षदेखि नेपालमै बसोबास गरिरहेको पाइएको पर्सा प्रहरीले जनाएको छ ।

वीरगञ्ज महानगरको वडा नम्बर १५ स्थितको नन्दु पटेलको घरमा छापा मारेपछि नजिकैको सडकबाट २ जना र वृन्दावन होटलबाट एक जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ परेका चिनियाँ अभियुक्तहरूमाथि पहिलो चरणमा अभद्र व्यवहार अन्तर्गतको मुद्दामा म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप