शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

इलाम–२ को मैदानमा आए ८ उम्मेदवार, को कस्ता ?

शुक्रबार, २३ चैत २०८०, १४ : १७
शुक्रबार, २३ चैत २०८०

काठमाडौँ । इलाम–२ मा हुने उपनिर्वाचनका लागि प्रमुख दलहरूले उम्मेदवारको टुङ्गो लगाएका छन् । सङ्घीय संसद्को सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले बिहीबार उम्मेदवार टुङ्ग्याएसँगै इलाम–२ का मुख्य प्रतिस्पर्धीको टुङ्गो लागेको हो ।

कांग्रेसले इलाम–२ मा डम्बर खड्कालाई उम्मेदवार बनाएको छ । नेविसंघबाट राजनीतिक यात्रा थालेका खड्का नेपाली कांग्रेस इलामको जिल्ला सभापति हुन् । 

उनी २०५१ सालमा नेविसंघको इलाम जिल्ला सभापति निर्वाचित भएका थिए । २०५८ मा नेविसंघको केन्द्रीय सदस्य र २०६४ सालमा नेविसंघ केन्द्रीय उपाध्यक्ष बनेका उनी कांग्रेसको १२औँ महाधिवेशनबाट जिल्ला कोषाध्यक्षमा निर्वाचित भए ।

१३ औँ महाधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका उनी १४ औँ महाधिवेशनमा जिल्ला सभापति बन्न सफल भए । इलामको राजनीति र समाजसेवासँगै व्यवसायमा सक्रिय ४८ वर्षीय खड्का गत वर्ष मङ्सिरमा सम्पन्न चुनावमा उम्मेदवार बनेका थिए ।

त्यतिबेला एमाले उपाध्यक्ष स्वर्गीय सुवास नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए । नेम्वाङसँग ११४ मतले पराजित भएका खड्कालाई नै कांग्रेसले उपचुनावमा दोहोर्‍याएको छ ।

यता एमालेले इलाम–२ मा स्वर्गीय नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । कानुन व्यवसायी सुहाङ चैत १ मा एमालेको कानुन विभागको सदस्यमा मनोनीत भएका थिए ।  माओवादी केन्द्रले धिरेन्द्र शर्मालाई उम्मेदवारको रूपमा अघि सारे पनि सो पार्टीले सुहाङलाई नै समर्थन गर्ने बताइएको छ । 

सत्ता साझेदार रास्वपाले भने माओवादी केन्द्रको आवद्धता छोडेर स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मिलन लिम्बुलाई आफ्नो पार्टीमा भित्र्याएर टिकट दिएको छ । पत्रकार पृष्ठभूमिका लिम्बु यसअघि माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालका सचिव थिए ।

आदिवासी जनजाति पत्रकार महासंघको महासचिवको जिम्मेवारी समेत सम्हालिसकेका लिम्बुलाई चैत १५ मा रास्वपाले टिकट दिएको थियो । रास्वपाका सभापति रवि लामिछानेसहितका नेताहरू इलाम चैत १७ मा पुगेर लिम्बुको उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका थिए ।

एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई इलामको माइजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्। 

उनी २०७४ को निर्वाचनमा अध्यक्ष निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा भने उनी एमालेका कुशबहादुर थेवेसँग पराजित भएका थिए।

पहिचान पक्षधरहरूका तर्फबाट डकेन्द्र थेगिम स्वतन्त्र उम्मेदवारका रूपमा चुनावी मैदानमा छन् । थेगिमलाई जनता समाजवादी पार्टी (जसपा) सहित ४१ वटा राजनीतिक तथा सामाजिक संस्थाको समर्थन छ । 

३२ वर्ष इलामको शैक्षिक संस्थामा बिताएका थेगिम २०५८ सालदेखि सामाजिक तथा धार्मिक अभियानमा आबद्ध थिए । थेगिम २०६० चैतदेखि किरात धर्म तथा साहित्य उत्थान संघको केन्द्रीय समिति र महागुरु फाल्गुनन्द स्मृति प्रतिष्ठानको अध्यक्षबाट थिए । लामो समय एमालेमा रहेका थेगिम पहिचान आन्दोलनको बलमा एमालेको दबदबा रहेको इलाम–२ मा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले लक्ष्मी गुरुङलाई उम्मेदवार छ । गुरुङ राप्रपानिकट विद्यार्थी सङ्गठन राप्रविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष हुन् । हाल उनी राप्रपा शिक्षा विभागका सदस्य छन् ।  

यसैगरी साना दल जनमत पार्टीबाट प्रेमकुमार थाम्सुहाङ (प्रेमदीप) चुनावी मैदानमा छन् । जनमतका थाम्सुहाङ पहिचानवादी आन्दोलनकर्ता हुन् ।

राप्रपा नेपालले पनि गणेश चौहानलाई उम्मेदवार बनाएको छ । चौहान राप्रपा नेपाल इलामका अध्यक्ष हुन् । शनिबार मनोनयनको कार्यतालिका रहेकाले बाँकी साना दल र स्वतन्त्र उम्मेदवारहरु पनि चुनावी मैदान सम्भावना देखिन्छ । २०७९ मंसिरमा आम चुनावमा इलाम–२ मा १२ दलका र दुई स्वतन्त्र गरी १४ जना चुनावी मैदानमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप