सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

अब एक घण्टाभित्रै श्रम स्वीकृति हुन्छ: श्रममन्त्री अर्याल

आइतबार, २५ चैत २०८०, १६ : ३१
आइतबार, २५ चैत २०८०

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गरिने बताएका छन् । आइतबार वैदेशिक रोजगार कार्यालयको पत्रकार सम्मेलनमा श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीमा जाने श्रमिकले कार्यालय समयभित्र अनलाइनबाट कागजात पेश गरेको एक घण्टाभित्र श्रम स्वीकृति प्रदान गर्न सक्ने प्रणाली विकास भएको बताए । 

उनले अनलाइनबाट सही तरिकाले कागजात पेश गरेको २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको तर प्रविधिका समस्या,प्रणाली,विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत लिनसक्ने सकिने अवस्था भएको बताए । उनले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूले सम्पूर्ण कागजहरू अनलाइनबाट कागजात पेश गरी प्रक्रिया पूरा गरे एक घण्टामा श्रमिकको मोबाइलमा नै श्रम स्वीकृति पाउन सक्ने जिकिर गरे । 

उनले भने,‘वैदेशिक रोजगारीको लागि विदेशमा जान श्रमिकले लिने व्यक्तिगत, संस्थागत र अन्य सबै खालका श्रम स्वीकृत वैदेशिक रोजगार कार्यालयबाट एक घण्टामा स्वीकृत दिन्छौँ । तर हामीले सेवाग्राहीले सबै डकुमेन्ट मिलाएर अपलोड गर्नुभयो भने मन्त्रालयको अध्ययनले सबै कागज तथा प्रमाणपत्रहरू आएको अवस्थामा २ मिनेट ४४ सेकेण्डमा स्वीकृत गर्न सक्ने अवस्था भएको छ । एक जना श्रमिकले वैदेशिक रोजगारीमा जानको लागि २ मिनेट ४४ सेकेण्डमा श्रम स्वीकृत पाउन सक्ने व्यवस्था गरौँ । तर प्रविधि समस्या,प्रणाली,विद्युत् र इन्टरनेटको उपलब्धतालाई ध्यानमा राखेर एक घण्टामा श्रम स्वीकृत पाउने भनेका छौँ । अब सम्पूर्ण वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूले सम्पूर्ण कागजहरू र आवश्यक प्रक्रिया पूरा गरे सिस्टममा राखेको अवस्थामा एक घण्टामा आफ्नै मोबाइल फोनमा श्रम स्वीकृति पाउन सक्नुहुन्छ । पछिल्ला दिनमा एउटा पनि श्रम स्वीकृति नभएर पेण्डिङमा छैनन् । डकुमेन्टमा शङ्का लागेमा रिजेक्सनमा राखेर राख्छौँ । त्यसको लागि आवश्यक प्रविधि र कम्प्युटर लगायत अन्य कुरामा सुधार गरिरहेका छौँ । दैनिक रूपमा दुई सिफ्टमा काम भइरहेको छ । बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म गरिएको छ । त्यसलाई पनि बिहान १० देखि ५ बजेसम्म नै गर्छौँ ।’

मन्त्री अर्यालले पहिलो पटक यो प्रयास सुरुवात भएको भन्दै भोलिका दिनमा पनि यसले निरन्तरता पाउने बताए । उनले वैदेशिक रोजगारीमा जाँदा श्रमिकले श्रम स्वीकृति लिन दुःख पाउने अवस्थाको आजदेखि अन्त्य भएको घोषणा गरे। 

उनले आगामी दिनमा जो मन्त्री, कर्मचारी आए पनि यसले निरन्तरता पाउने दाबी गर्नुभयो । उहाँले वैदेशिक रोजगारीमा जाने श्रमिकहरू ठगी रोक्नको लागि यसले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले वैदेशिक रोजगारमा रहेको बीमा,स्वास्थ्य,अभिमुखीकरण लगायत अन्य कुनै पनि विषयमा सिन्डिकेट लाग्न नदिने उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप