सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चौथो खेलमा पहिलो जित हात पार्ने क्रममा मुम्बईले दिल्लीलाई जिल्यायो

आइतबार, २५ चैत २०८०, १९ : ४२
आइतबार, २५ चैत २०८०

काठमाडौँ । विश्व चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणअन्तर्गत आइतबार खेलिएको रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको छ । चौथो खेल खेलेको मुम्बईको यो पहिलो जित हो । पाँचौँ खेल खेलेको दिल्लीको भने यो चौथो हार हो । 

घरेलु मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर दुई सय ३४ रन बनाएको थियो । मुम्बईका लागि ओपनर ब्याट्सम्यान रोहित शर्माले ४९ रनको योगदान गरे ।

मुम्बईका पूर्वकप्तान समेत रहेका रोहितले केवल २७ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे । ओपनिङ विकेटका लागि रोहित र विकेटकिपर ब्याट्सम्यान ईशान किशनले ८० रनको साझेदारी गरेका थिए ।

ईशान किशनले पनि टोलीको खातामा ४२ रन थपे । उनले केवल २३ बलमा दुई छक्का र चार चौका प्रहार गरे । टिम डेभिडले पनि अविजित ४५ रन बनाए । उनले २१ बलमा चार छक्का र दुई चौका प्रहार गरेका थिए । कप्तान हार्दिक पाण्ड्याले ३३ बलमा एक छक्का र तीन चौकाको मद्दतले ३९ रन बनाए । 

रोमारियो सेफर्डले पनि टोलीका लागि अविजित ३९ रनको योगदान गरे । उनले प्रारम्भदेखि नै आक्रामक ब्याटिङ गरेका थिए । केवल १३ मिनेट क्रिजमा उभिएका सेफर्डले मात्र १० बलमा चार छक्का र तीन चौका प्रहार गरे । 

दिल्लीका बलर एनरिच नोर्जे र अक्सर पटेलले दुई-दुई विकेट लिए । खलिल अहमदले पनि एक विकेट हात पारे । जवाफी ब्याटिङमा ओर्लिएको दिल्लीले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर दुई सय  पाँच रनमात्र बनाउन सक्यो ।

दिल्ली क्यापिटल्सका लागि दुई ब्याट्सम्यानले अर्धशतक बनाए पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । ओपनर ब्याट्सम्यान पृथ्वी शाले ६६ रन बनाए । उनले ४० बलको सामना गरी तीन छक्का र आठ चौका पनि हिर्काएका थिए । 

ट्रिस्टन स्टब्सले पनि टोलीको खातामा ७१ रन थपेका थिए । क्रिजमा लामो समय सँघर्ष गरेका स्टब्सले लगातार छक्का र चौका हिर्काएका थिए । उनले केवल २७ बलमा सात छक्का र तीन चौका प्रहार गरेका थिए ।  

तेस्रो नम्बरका ब्याट्सम्यान अभिषेक पोरेलले पनि ४१ रन बनाए । उनले ३१ बलमा पाँच चौका प्रहार गरे । ओपनर डेभिड वार्नर भने १० रनमै पेभेलियन फर्किए । मध्य र लामो क्रमका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

मुम्बईका बलर जेराल्ड कोट्जीले चार विकेट लिए । जसप्रित बुमराहले पनि दुई विकेट हात पारे । अर्को एक विकेट रोमारियो सेफर्डले लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप