बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

शैक्षिक सत्र सुरु नहुँदै कोशी प्रदेशका विद्यालयमा पुग्न थाल्यो पाठ्यपुस्तक

सोमबार, २६ चैत २०८०, १३ : ११
सोमबार, २६ चैत २०८०

विराटनगर । कोशी प्रदेशका सामुदायिक विद्यालयहरूमा नयाँ शैक्षिक सत्र सुरु नहुँदै पाठ्यपुस्तक पुगेको छ । यसअघि शैक्षिक सत्र सकिँदासम्म किताब नपाउने बाध्यता व्यहोरेका विद्यार्थीहरूले यसपटक समयमै पुस्तक पाउने भएका हुन् । विगतका वर्षमा शैक्षिक सत्र सकिने बेलासम्म पाठ्यपुस्तक नपाएपछि विद्यार्थीहरूले किताब नहेरी परीक्षा दिनुपर्ने बाध्यता थियो । तर यसपटक भने उनीहरूले समयमै किताब पाउने निश्चित भएको छ ।

स्रोत, साधन र जनशक्ति अभावको समस्यालाई सरकारले समाधान गरेपछि यसपटक विद्यालयहरूमा समय अगावै पुस्तक पुग्ने जनक शिक्षा सामग्री केन्द्र कोशी प्रदेश कार्यालयले जनाएको छ । नजिकिँदै गरेको २०८१ सालको शैक्षिक सत्रलाई मध्यनजर गर्दै केन्द्रले यस वर्ष चैत्र १३ गतेदेखि नै पाठ्यपुस्तकको बिक्री–वितरण थालेको हो ।

हालसम्म कोशी प्रदेशको १४ मध्ये १२ वटा जिल्लामा पुस्तक पुगिसकेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेड, कोशी प्रदेशका प्रमुख भूपराज थापाले बताए । उनले कोशी प्रदेशका पहाडी जिल्लाहरू खोटाङ र सोलुखुम्बुमा जनकपुर र काठमाडौँबाट जाने भएकाले बाँकी अन्य पहाडी जिल्लाहरूमा पाठ्यपुस्तक पठाइसकिएको बताए । 

पहाडी जिल्लामा पठाइसकेकाले अब तराईका जिल्लामा पनि पठाउने काम भइरहेको उनले बताए । वैशाख १ गतेभित्र विद्यार्थीहरूले सहज रूपमा पाठ्यपुस्तक प्राप्त गर्ने बताउँदै उनले अहिलेसम्म ४१ प्रतिशत पाठ्यपुस्तक बिक्री वितरण भइसकेको बताए ।

विशेषगरी कोशी प्रदेशको पहाडी जिल्लाहरूमा यसअघि शैक्षिक सत्र सुरु भएको महिना दिनपछि मात्र पाठ्यपुस्तक पुग्थ्यो । छपाइ कम हुँदा र समयमै छपाइ नहुँदा जनक शिक्षासँग पनि मागअनुसारको पर्याप्त पुस्तक आइपुग्दैन थियो । तर यसपालि नयाँ शैक्षिक सत्र आउनुभन्दा तीन साताअघि नै कोशी प्रदेशको पूर्वी तराई र विकट पहाडी जिल्लाहरूमा पाठ्यपुस्तक पुगिसकेको छ ।

हालसम्म कुल १६ लाख किताबमध्ये सात लाख ५० हजार पुस्तक बिक्री वितरण भइसकेको छ । चैत मसान्तसम्ममा प्रदेशका सबै सामुदायिक विद्यालयहरूमा मागबमोजिमको पाठ्यपुस्तक पुगिसक्ने केन्द्रको दाबी छ । विगतका वर्षहरूको तुलनामा यसपालि पाठ्यपुस्तक पाउन निकै सहज भएको पुस्तक व्यवसायीहरू बताउँछन् । 

धनकुटाका पुस्तक व्यवसायी खेमराज पौडेलले २०७० सालदेखि ०८० सम्ममा सबैभन्दा सहज र समयमै पाठ्यपुस्तक पाएको पहिलो पटक अनुभव गरेको बताए । त्यस्तै अर्का पुस्तक व्यवसायी शोभित तिम्सिनाले विगतभन्दा धेरै नै सहज रूपमा पाठ्यपुस्तक आएको बताए । 

दुर्गम भएको कारणले गर्दा यातायातको सामग्रीमा जनक शिक्षा सामग्रीले वितरणमा व्यवसायीहरूलाई दिने सहुलियतमा ब्यालेन्स नमिलेको बताए । त्यस्तै अर्का पुस्तक व्यवसायी शान्तिराम पौडेलले अहिलेसम्म माग गरे अनुसारको पुस्तक पाएको बताए । 

कोशी प्रदेशमा कुल एक सय २२ वटा पुस्तक व्यवसायीहरू जनक शिक्षा सामग्री केन्द्रमा सूचिकृत छन् । ती व्यवसायीसँग किताब किनेर विद्यालयहरूले कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई निःशुल्क वितरण गर्छ ।

कोशी प्रदेशमा जम्मा ६ हजार ७७३ वटा सामुदायिक विद्यालय छन् । जसमा करिब पाँच लाख विद्यार्थी अध्ययनरत छन् । पछिल्लो समय सरकारी विद्यालयको बढ्दो आकर्षणले गर्दा यो शैक्षिक सत्रमा विद्यार्थीको सङ्ख्या झन् बढ्ने अनुमान गर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप