शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अल्लुको जन्मदिनमा पुष्पा २ को टिजर : केही घण्टामै एक करोड भ्यूज नजिक

सोमबार, २६ चैत २०८०

हैदराबाद । बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २ : द रुल’ को टिजर सार्वजनिक भएको छ । टिजरमा पुष्पा साडी लगाएर शत्रुसँग लड्दै फरक अवतारमा देखिएका छन् । यो टिजर युट्युबमा ४ घण्टामा ९० लाख मानिसले हेरिसकेका छन् ।

साउथ सुपरस्टार अल्लु अर्जुनको ४२ औँ जन्मदिनको अवसरमा ८ अप्रिलमा निर्माण पक्षले यो टिजर सार्वजनिक गरेको हो । यो फिल्म यसै वर्षको अगस्ट १५ मा रिलिज हुँदैछ । सुकुमारद्वारा निर्देशित यो फिल्म डिसेम्बर २०२१ मा रिलिज भएको फिल्म ‘पुष्पाः द राइज’ को दोस्रो भाग हो।

१ मिनेट ८ सेकेण्डको यो टिजरमा पुष्पाको फरक अवतार देख्न पाइन्छ । टिजरको सुरुमा उनी माँ कालीको पूजा पण्डलमा काजल लगाएर, झुम्का लगाएर र घुँगरु बाँधेको देखिएका छन् ।

यसपछि उनी आफ्नो हातमा त्रिशूल हल्लाउँछन् र शत्रुको छातीमा चढ्छन्। अन्तमा उनी शत्रुसँग लडिरहेको देखिन्छ ।

यसैबिच, सामाजिक सञ्जालमा फिल्मको टिजर सेयर गर्दै अल्लु अर्जुनले आफ्ना फ्यानहरूलाई धन्यवाद दिएका छन् । अभिनेताले लेखेका छन्, ‘मेरो जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद । मेरो हृदय कृतज्ञताले भरिएको छ। कृपया यो टिजरलाई मेरो धन्यवादको रूपमा स्वीकार गर्नुहोस्।’

‘पुष्पा २: द रुल’ अगस्ट १५, २०२४ मा विश्वभरका थिएटरमा रिलिज हुने तय भएको छ । यो भारतमा ५ भाषामा रिलिज हुनेछ । सुकुमारद्वारा निर्देशित र मिथ्री मुभि मेकर्सद्वारा निर्मित यस फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहद फासिल मुख्य भूमिकामा छन्।

२०२१ मा रिलिज भएको ‘पुष्पाः द राइज’ वर्षको सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बन्यो। सबै संस्करणहरू सहित, यो फिल्मले भारतमा ३१३ करोड भारु र विश्वव्यापी रूपमा ३५० करोड भारुको व्यापार गर्‍यो। सबैभन्दा धेरै कमाउने तेलुगु फिल्मको सूचीमा यो छैटौँ नम्बरमा छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया