सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा मकैको व्यावसायिक खेती बढ्दै

मङ्गलबार, २७ चैत २०८०, ०९ : २४
मङ्गलबार, २७ चैत २०८०

झापा । झापा गाउँपालिका जिल्लाको सबैभन्दा बढी मकैखेती हुने पालिकाका किसानले आकर्षक आम्दानी गर्न थालेपछि व्यावसायिक मकैखेती विस्तार गरेका छन् । 

झापा पालिकामा बर्सेनि मकैखेती गर्ने किसानको सङ्ख्या क्षेत्रमा बढिरहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी चेतननाथ भण्डारीले बताए । उनका अनुसार आर्थिक वर्ष २०७९÷८० मा जिल्लामा ४४ हजार दुई सय ५० हेक्टर जमिनमा मकैको व्यावसायिक खेती गरिएको थियोभने दुई लाख २५ हजार छ सय ७५ मेट्रिक टन उत्पादन भएको थियो । गत वर्ष केन्द्रले किसानलाई ब्लक, पकेट क्षेत्रमार्फत अनुदान उपलब्ध गराएर मकैखेतीको विस्तार गरेको थियो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पाँच सय हेक्टर जमिनमा झापा गाउँपालिका र कनकाई नगरपालिकामा मकै जोन कार्यक्रम सञ्चालन भइरहेको छ । झापा गाउँपालिकाले मकै, धान र तरकारीखेती गर्ने किसानलाई सिँचाइमा लाग्ने विद्युत् महसुलवापत ६० प्रतिशत रकम आफैँ भुक्तानी गर्दै आएको छ । यस पालिकाको सात हेक्टर जमिनमा उन्नत जातको मकैखेती हुँदै आएको पालिकाकी कार्यवाहक अध्यक्ष अञ्जु थपलियाले बताइन् ।

कार्यवाहक अध्यक्ष थपलियाले मकैको पकेट, ब्लक क्षेत्र घोषणा गरेर मकैको व्यावसायिक खेतीमा पालिकाले प्रवर्द्धन गरिरहेको बताइन् । उनले कृषि शाखामार्फत किसानलाई मकैखेतीतर्फ आकर्षित गर्न आवश्यक मल, बीउ, मकै रोप्ने मेसिन, मकै छोडाउने मेसिन, स्प्रे ट्याङ्की, मकै सुकाउने झुल र सिँचाइका लागि मोटर अनुदानमा प्रदान गरिरहेको जानकारी दिइन् ।

“पालिकाभित्र बाँझो जमिन देखिन छाडेको छ”, उनले भनिन्, “किसान उत्साहित छन् कतै मकै पाक्न थालेको छ कतै हुर्किरहेको देखिन्छ ।” ज्ञान केन्द्रका सूचना अधिकारी भण्डारीले चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा मकैखेतीको विस्तार भएको जानकारी दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप