बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

टी-२० विश्वकप खेल्ने नयाँ जर्सी : सामाजिक सञ्जालमा अधिकांशको नकारात्मक प्रतिक्रिया

मङ्गलबार, २७ चैत २०८०, ११ : ५८
मङ्गलबार, २७ चैत २०८०

काठमाडौँ । नेपालले दुई महिनापछि आईसीसी टी-२० विश्वकप खेल्दैछ । टी-२० विश्वकपको नवौँ संस्करण जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुँदैछ । 

यतिबेला नेपाली टोली पनि विश्वकपको तयारीमा व्यस्त छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी टी-२० विश्वकपका लागि नयाँ जर्सी पनि सार्वजनिक गरेको छ । सोमबार सार्वजनिक गरिएको सोही जर्सी लगाएर नेपालले टी-२० विश्वकप खेल्नेछ । 

राष्ट्रिय टोलीका खेलाडीहरू विदेश भ्रमणमा रहेको अवसरमा क्यानले नयाँ जर्सी सार्वजनिक गर्‍यो । त्यसैले जर्सी सार्वजनिक कार्यक्रममा न राष्ट्रिय टोलीका कप्तान थिए न त अन्य खेलाडी नै । यसले जर्सी सार्वजनिक कार्यक्रमलाई केही खल्लो बनाउनु स्वाभाविक थियो ।  

अर्कोतिर, क्यानले सार्वजनिक गरेको नयाँ जर्सीको विषयमा पनि समर्थकहरूले सामाजिक सञ्जालमा विभिन्न टिप्पणी गरेका छन् । अधिकांश समर्थकले नयाँ जर्सीको विषयमा नकारात्मक टिप्पणी नै गरेका छन् । उनीहरूले नयाँ जर्सीभन्दा नेपालीले प्रयोग गर्ने पुरानो जर्सी नै राम्रो भएको टिप्पणी गरेका छन् ।

खास गरी नयाँ जर्सीमा प्रयोग गरिएको राष्ट्रिय झन्डाको विषयलाई लिएर सबैभन्दा बढी नकारात्मक टिप्पणी आएको छ । खेलाडीको काँधमा पर्ने गरी जर्सीको दुबैतर्फ राखिएको राष्ट्रिय झण्डा झुकेको जस्तो देखिन्छ । सोही विषयलाई लिएर सामाजिक सञ्जालमा नयाँ जर्सीको बढी विरोध भइरहेको छ ।

‘राष्ट्र र राष्ट्रियता नबुझ्नेले देश चलाकै छ, नेतृत्व र निर्णायक पदमा बस्नेले राष्ट्रिय झन्डाको महत्त्व बुझिदिएको भए सायद मन दुख्ने थिएन । राष्ट्रिय शान झल्काउने पोसाकमा झुकेको राष्ट्रिय झण्डा,’ क्यानकै आधिकारिक फेसबुक पेजमा नयाँ जर्सीप्रति आफ्नो धारणा राख्दै सम्राट श्रवणले भनेका छन् । यद्यपि पुरानो जर्सीमा पनि सोही स्थानमा नै राष्ट्रिय झण्डा राखिएको थियो ।

यसै गरी नयाँ जर्सीको विषयमा टिप्पणी गर्दै अर्का समर्थक पुष्कर शर्मा जमरकट्टेलले भनेका छन्, ‘वर्ल्डकप खेल्ने जर्सीभन्दा राम्रो डिजाइन त गाउँघरतिर हुने टोलकपको जर्सीको हुन्छ हौ । डिजाइन हेर्दा पनि आहा ! भन्ने खालको होस न ।’

‘काँधमा झुकाएर राखिएको झण्डामात्र मिलेको छैन बाँकी अरु सबै ठिक छ,’ अर्का सामाजिक सञ्जाल प्रयोगकर्ता प्रदीप रावलले आफ्नो प्रतिक्रिया दिएका छन् । धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले त नयाँभन्दा पुरानो जर्सीले राम्रो भएको टिप्पणी गरेका छन् । 

‘अहिलेको जर्सीभन्दा पहिलेको जर्सी नै उत्कृष्ट छ,’ अर्जुनकुमार महतोले आफ्नो धारणा राखेका छन् । यज्ञराज भट्ट भन्छन्, ‘योभन्दा त पुरानो जर्सी निकै राम्रो छ । बरु निजी विद्यालयका बालबालिकाहरूले प्रयोग गर्ने जर्सी स्तरीय देखिन्छन् । लज्जास्पद ।’

यसै गरी सामाजिक सञ्जाल प्रयोगकर्ता अर्जुन आचार्यले पनि जर्सीप्रति नकारात्मक प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘जर्सी भनेर फर्सी देखाउनुभन्दा बरु फ्यानलाई डिजाइन पठाउन भनेको भए योभन्दा निकै राम्रो पठाउँथे ।’

नयाँ जर्सीको विषयमा सुरेन्द्रबहादुर केसीको टिप्पणी यस्तो छ, ‘भोली हुन लागेको प्रतियोगितालाई आज हतार गरेर जर्सी छानेजस्तो छ । पुरानो जर्सीमा डिजाइन पनि मिलेको थियो । यसपालि त के गरेछ कुन्नि !’

यसै गरी कँडेल खगराज नामका समर्थकले भनेका छन्, ‘सरकारको पाँच करोड नि खल्तीमा गयो । त्यति धेरै टिकटको पैसा नि खल्तीमा गयो । विश्वले हेर्ने टी-२० वर्ल्डकपको जर्सीको हालत यस्तो छ । कठै मेरो देश ।’

नयाँ जर्सीमा प्रयोग गरिएको पहेँलो रङ्ग र हिमालमा प्रयोग गरिएको रातो रङ्गको विषयलाई लिएर पनि धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले नकारात्मक टिप्पणी गरेका छन् । तिलक लोप्चन लेख्छन्, ‘हुन त जे गर्दा नि गुनासो नै आउँछ । तर, हिमाल सेतो कलरको भइदिएको भए सुनमा सुगन्ध हुने थियो ।’

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप